Friday 25 July 2014

बीपीको अप्रकाशित अन्तर्वार्ता


भारतीय अध्येता हरिदेव शर्माले बीपीसँग लिएको अन्तर्वार्ताको अंग्रेजी मूल कपी नयाँ दिल्लीस्थित नेहरू स्मारक संग्रहालयमा सुरक्षित छ । प्रदीप गिरिको सौजन्यबाट प्राप्त यो अन्तर्वार्ताको नेपाली अनुवाद गोपालप्रसाद दुलालले गरेका हुन्। .................................................................
कोइरालाजी प्रधानमन्त्री छँदा तपाईंले नेपालको विकासका लागि कस्तो आर्थिक योजना बनाउनुभएको थियो ?

हामीले खास्सा योजना बनाएका थियौं । सबैभन्दा पहिले हामी कृषिमा विशेष किसिमले सुधार गरेर विकास योजना लागू गर्न चाहन्थ्यौं । भन्नुको तात्पर्य, हामी कृषि क्षेत्रमा विशेष प्रकारको पुनर्संरचना गर्न चाहन्थ्यौं । हामी खेती हुने जमिनको स्वामित्वमा हदबन्दी तोक्न चाहन्थ्यौं र जोताहालाई जमिनको मालिक बनाउन चाहन्थ्यौं । निश्चय पनि हामीसँग वितरण गर्नका लागि यथेष्ठ जमिन थिएन । तैपनि हाम्रो भूमिसुधार योजना वास्तविक किसानको भलाइतर्फ लक्षित थियो । पाँचजना सदस्य भएको किसान परिवारलाई दसदेखि पच्चीस बिघासम्म जमिन राख्न दिने हाम्रो योजना थियो । खासमा, दस बिघा जमिनबाट पच्चीसजनासम्म सदस्य भएको परिवारको गुजारा हुनसक्थ्यो । तर पच्चीस बिघाको हदबन्दीभन्दा बढी जमिनसमेत हामीले खोसेका थिएनौं । हाम्रो बिघा धेरै ठूलो हुन्छ, एक एकड क्षेत्रफलभन्दा पनि ठूलो हुन्छ । तसर्थ, एउटा परिवारका लागि दस-बाह्र एकड जमिन पर्याप्त हुन्छ, त्यति जग्गा अति उपयुक्त हुन्छ भनेर हामी पच्चीस बिघाको हद तोक्ने निर्णयमा पुगेका थियौं । त्यसको साथसाथै हामीले प्रगतिशील कर प्रणाली पनि लागू गरेका थियौं । मैले करको दर बिर्सिएँ, तर त्यो कर दुई सय बिघाभन्दा बढी जमिनमा निकै चर्को थियो । यसरी चर्को कर लगाउँदा त्यसभन्दा बढी जमिन कसैले पनि राख्न खोज्दैन भन्ने हामीले सोचेका थियौं । त्यो कर लागू भएपछि कुनै अवस्थामा कसैले पनि दुई सय बिघाभन्दा बढी जमिन राख्न सक्ने थिएन । हामी यसमा जोड दिन चाहन्थ्यौं । वास्तविक किसान नै हाम्रो प्रजातान्त्रिक समाजका मेरुदण्ड हुन सक्थे । तसर्थ, उनीहरूसँग जमिन हुने अवस्था सिर्जना गर्नु हाम्रो भूमिसुधारको लक्ष्य थियो । जमिनको उत्पादन बढाउने पनि हाम्रो योजना थियो । तसर्थ, जमिन वितरण गरिसकेपछि वा जमिनको स्वामित्वमा हदबन्दी लगाइसकेपछि सिँचाइमा ध्यान दिने र सिँचाइ आयोजनामा प्राथमिकताका साथ लगानी गर्ने हाम्रो उद्देश्य थियो ।

भारतको अनुभव हाम्रा लागि त्यति उत्साहजनक थिएन । भारतले कृषि क्षेत्रमा वास्तविक पुनर्संरचना गरेन भन्ने हामीलाई लागेको थियो । त्यसबेला भारतको कृषि उत्पादकत्व हाम्रोभन्दा राम्रो थिएन । त्यसबाहेक हामी भूमिलाई राष्ट्रियकरण गर्ने पक्षमा पनि थिएनौं । हामी व्यक्तिहरूको जमिन राख्ने चाहना र जमिनको उत्पादन दुवै बढाउन चाहन्थ्यौं । हाम्रो पहिलो उद्देश्य त्यही थियो भने पनि हुन्छ । त्यसका लागि हामीसँग पर्याप्त पुँजी थिएन, त्यो हाम्रो समस्या थियो । हामीले सडक, बिजुली आदिको पूर्वाधार विकास गर्नु पनि आवश्यक थियो । त्यसका लागि पनि हामीसँग पैसा थिएन । त्यसका लागि म भारत गएँ, चीन पनि गएँ । मैले हाम्रा समस्याहरूको विषयमा अमेरिका, रुस र अरू देशका नेताहरूसँग पनि छलफल गरें । चीन, भारत र अरू सबै देशमा पनि नेपालका लागि सद्भावना कोष स्थापना भएको थाहा पाउँदा म उत्साहित र अचम्मित दुवै भएँ । चीनमा पनि त्यस्तो कोष स्थापना भएको रहेछ । भारतको समाजवादी आन्दोलनमा आफू आवद्ध भइसकेको हुँदा त्यहाँबाट सहयोग पाउनेमा म ढुक्कजस्तै थिएँ । तसर्थ, मेरो बढी चासो चीनतर्फ थियो । चीनले तिब्बत कब्जा गरेपछि हाम्रो दलले एउटा भत्र्सना प्रस्ताव पारित गरिसकेको थियो । तसर्थ, उनीहरूबाट म टाढिएको थिएँ । तर उनीहरू धेरै समझदार थिए । विकासका सन्दर्भमा हामी ठूलाठूला कारखाना स्थापना गर्न इच्छुक थियौं । हामी कृषिजन्य उद्योगलाई प्रवर्द्धन गर्न चाहन्थ्यौं । अर्थात्, हामी आधारभूत रूपमा कृषिसँग सम्बन्धित उद्योगहरू स्थापना गर्न चाहन्थ्यौ । खासमा, हामी आफ्नो देशलाई शक्तिशाली होइन, अत्यन्त खुसी र आत्मनिर्भर राष्ट्र बनाउन चाहन्थ्यौं । कृषिजन्य सम्पदाको सदुपयोग गरेर मात्र हामी त्यस्तो उद्देश्य हासिल गर्न सक्थ्यौं । अनि, केही वर्षमा जनताको खाद्य आवश्यकता पूरा गर्न सक्षम भएर निर्यातका लागि यथेष्ट बचत हुन थालेपछि हामी औद्योगिकीकरणतर्फ पनि जान सक्ने थियौं । सानो राष्ट्र नेपालले भारत वा चीन कुनै देशसँग पनि शक्तिको होड गर्न सम्भव थिएन । तसर्थ, नेपाललाई जनताहरू प्रसन्न भएको, जनताको खानपान राम्रो भएको, उनीहरूको राम्रो हेरविचार भएको, उनीहरूले शिक्षाको राम्रो अवसर पाएको, आर्थिक रूपमा राम्रो र सांस्कृतिक रूपमा अब्बल राष्ट्र बनाउने हाम्रो लक्ष्य थियो ।

हाम्रो योजनाको विषयमा मैले राजासँग पनि छलफल गरेको थिएँ । हाम्रो योजना नेपालमा निःशुल्क अनिवार्य शिक्षा लागू गर्ने र जमिनमा हदबन्दी लगाएर किसानलाई जमिनको मालिक बनाउने थियो । हरेक परिवारले दूध र अन्य प्रोटिनयुक्त खाना अनिवार्य रूपमा पाउने अवस्था ल्याउने हाम्रो सोच थियो । यी सबै योजनाहरू हामी पन्ध्र वर्षभित्र पूरा गर्न चाहन्थ्यौं ।

तपाईंले कल्पना गर्नुभएको राजनीतिक ढाँचाचाहिँ कस्तो थियो नि ?

हामीले सोचेको ढाँचा राजालाई संवैधानिक प्रमुखमा राख्ने ढाँचा थियो । त्यो संसदीय प्रजातन्त्रको ढाँचा हुने थियो । त्यसमा बहुदलीय प्रणाली, बहुलवादी समाज र कानुनको राज्य हुने थियो । हामीले उदारवादी प्रजातन्त्रको अवधारणा राखेका थियौं ।
तपाईंले चाउ एन-लाईसँग सिमानाको विषयमा लामो छलफल गर्नुभएको थियो । सम्झौताकारका रूपमा चीनका तत्कालीन प्रधानमन्त्री चाउ एन-लाईलाई तपाईंले कस्तो पाउनुभयो ?

चाउ एन-लाई असाध्यै संवेदनशील र विशिष्ट कूटनीतिज्ञ थिए । मैले उनलाई नजिकबाट बुझ्ने मौका पाएँ । उनी नेहरूभन्दा धैर्यवान नेता थिए । उनी बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म मसँग धैर्यपूर्वक बस्तथे । त्यसबीचमै उनी खाजा, दिउँसोको खाना, चिया आदि लिन्थे । उनी साँच्चै धैर्यवान थिए । उनको स्वास्थ्य ठीक नभए पनि म जहाँ-जहाँ जान्थें, उनी पनि त्यहीं जान्थे । उनको विशेषता त्यस्तो थियो । यसले हामीबीच व्यक्तिगत सम्बन्ध पनि बढायो । उनी राजनीतिक छलफलमा समेत आत्मीय रूपमा प्रस्तुत हुन्थे । खासमा, उनीसँग जवाहरलाल नेहरूभन्दा पनि बढी कूटनीतिक चरित्र थियो । चिनियाँ नेताहरू शालीन र शिष्ट किसिमले पेस हुन्थे । त्यसैले उनीहरूसँगको सम्बन्ध सहज बन्दै गएको थियो ।

चाउ एन-लाईले नेपाल भ्रम्ाणको क्रममा एउटा पत्रकार सम्मेलन आयोजना गरेका थिए । त्यस पत्रकार सम्मेलनमा म पनि थिएँ । खासमा, पत्रकारहरूमाझ मैले नै उनको परिचय दिएको थिएँ । त्यहाँ टन्डन भन्ने एकजना भारतीय पत्रकार पनि थिए । उनले नेपालसँग चीनको सीमा विवाद छ, कसरी सुल्झाउनुहुन्छ ? भनेर चाउलाई एउटा अप्ठेरो प्रश्न सोधिदिए । 'यो मित्र-मित्रको विवाद हो । त्यसो त यो विवाद नै हो भन्ने पनि हामीलाई लाग्दैन । हामी सीमांकन गर्न चाहन्छौं, तर तपाईंले भनेजस्तो विवाद भने छैन', चाउले यस्तो जवाफ दिए । टन्डनले फेरि अर्काे प्रश्न गरे, 'तपाईंले नै केही सय वर्गमाइलमा विवाद छ भन्नुभएको थियो, केही पकेटक्षेत्रको प्रसंग पनि उठाउनुभएको थियो त ?'

अब भने उनले अलि कडा जवाफ दिए । उनले भने, 'विवादै भए पनि भारतले टाउको दुखाउनुपर्दैन । चीनको आफ्नै विशाल जमिन छ । भूगोलको हिसाबले चीन धेरै ठूलो राष्ट्र हो । हामीसँग केही सय माइल जमिन नभए पनि हामीलाई केही फरक पर्दैन । नेपाल चाहन्छ भने हामी त्यो जमिन दिन पनि सक्छौं । यस विषयमा भारतले टाउको दुखाउनुपर्दैन । यो हामी दुई मित्रहरूबीचको मामिला हो । नेपालले जे मागे पनि हामी दिन तयार छौं ।'

चाउले यसो भनेपछि म उनीतिर फर्किएँ । मैले उनको त्यो भनाइ टिपेको थिएँ । पछि, मैले त्यो धारणामा आफूलाई चित्त नबुझेको उनलाई जानकारी गराएँ । उनले भने, 'तपाईंको तात्पर्य मैले बुझेको छु, सीमासम्बन्धी प्रश्नमा तपाईंलाई कुनै अप्ठेरो नहोस् भन्ने मात्र मेरो आशय थियो ।' उनको शैली यस्तो थियो ।

तर, सगरमाथा चीनको हो भन्ने उनीहरूको दाबी रहेकाले त्यस सबालमा केही समस्याहरू थिए । हामीले सगरमाथा हाम्रो क्षेत्रमा पर्छ भनेका थियौं । त्यसमा बहस चल्दै थियो । माओ त्से तुङको पत्रकार सम्मेलनमा पनि हामीले त्यो प्रसंग उठाएका थियौं । माओले भनेका थिए, 'माउन्ट एभरेस्ट त विदेशी नाम हो । त्यो तपाईंहरूको कसरी हुनसक्छ ? आफ्नो भाषामा त्यसको नाम त दिन सक्नुभएको छैन भने तपाईंहरू कसरी हाम्रो हो भन्ने दाबी गर्नुहुन्छ ?' 'तपाईंहरूको चाहिँ आफ्नो नाम कहाँ छ र ?' मैले यसरी प्रतिवाद गरें । एभरेस्टको चिनियाँ नाम 'चोमोलोङ्मा' भएको उनले बताए । मैले चोमोलोङ्मा चिनियाँ नभई तिब्बती नाम भएको स्मरण गराएँ । तर माओले आफ्नो अडान छाडेनन् । तिब्बत चीनको भूभाग भएको तर्क उनले राखे । नेपाली भाषामा माउन्ट एभरेस्टका नाम 'सगरमाथा' हो भन्ने मैले उनलाई बुझाउन खोजें । चीनले पनि त्यसलाई सगरमाथा नै भन्ने गरेको दाबी उनले गरे । पछि, माओले दुवै मुलुकसँग नाम नभएकाले एभरेस्टको नाम 'पे|mन्डसिप पिक' राख्ने प्रस्ताव गरे । एउटा संयुक्त आयोगले यसबारे निर्णय गर्ने भयो । कमिटी गठन गरियो र त्यसले तत्कालै काम सुरु गर्‍यो ।
सगरमाथाको चुचुरोबाट सीमारेखा कोर्नु उपयुक्त हुन्छ भन्ने मलाई लागेको थियो । चिनियाँहरूले एभरेस्टको आरोहण गर्न चाहने पर्वतारोहीहरूले दुवैतर्फबाट अनुमति लिनुपर्ने अर्को प्रस्ताव ल्याए । त्यसबाट नेपालको क्षेत्रबाट आरोहणमा जाने टोलीले समेत चीनको स्वीकृति लिनुपर्ने हुन्थ्यो । त्यो सर्त हामीलाई मान्य थिएन । 'त्यसो हो भने हामी कुनै पनि विदेशीलाई पर्वतारोहण गर्ने अनुमति दिँदैनौं,' मैले प्रस्ट शब्दमा त्यो प्रस्ताव यसरी अस्वीकार गरिदिएँ । 'तपाईंहरूको तर्फबाट कोही आरोहण गर्न चाहनेलाई अनुमति दिने-नदिने अधिकार तपाईंहरूसँग हुन्छ, हाम्रोतर्फबाट आरोहण गर्न चाहनेलाई अनुमति दिने-नदिने अधिकार हामीसँग हुन्छ,' मैले यसमा अडान राखें । अन्ततः मैले दिएको विकल्प नै स्वीकृत भयो । त्यसैले यस विषयमा पनि खासै समस्या उत्पन्न भएन ।

ल्हासा-काठमाडौं सडकमा भने उनीहरूले ठूलै चासो देखाएका थिए । कोदारी-काठमाडांै सडक निर्माण गर्न उनीहरूले निकै जोड दिइरहेका थिए । तर म त्यसमा सहमत थिइनँ । आर्थिक हिसाबले पनि कोदारी-काठमाडौं सडक उपयुक्त थिएन । हामीलाई त्यो सडक आवश्यक पनि थिएन । त्यसैले उनीहरूको प्रस्ताव मैले मानिनँ । त्यस सडकको निर्माणबाट क्षेत्रीय विकासमा ठोस योगदान पुग्ने सम्भावना थिएन । त्यसमा लाग्ने पैसा अरू परियोजनामा खर्च गर्न सकिन्थ्यो । तर, उनीहरू त्यसमै जोड दिइरहेका थिए । उनीहरू यो सडक सैन्य प्रयोजनका लागि बनाउन चाहन्छन् भन्ने मलाई लागेको थियो । मैले उनीहरूलाई यो सडक त्यति आवश्यक छैन भन्ने सम्झाएँ । अन्ततः त्यसबेला त्यो सडक बनेन ।

जवाहरलाल नेहरूलाई तपाईं कसरी मूल्यांकन गर्नुहुन्छ ?

तपाईं प्रधानमन्त्री भएपछि नेहरूसँग व्यक्तिगत सम्बन्ध कस्तो थियो ?

नेहरूको सम्बन्धमा मेरो निकै सुखद सम्झना छ । मेरो परिवार, श्रीमती र सरकारी मामिलामा समेत उहँँले गहिरो सुझबुझ, मित्रता र मानवीयता प्रदर्शन गर्नुभएको थियो । म तपाईंलाई एउटा उदाहरण दिन्छु । नेपाल-भारतबीचको व्यापार सन्धि, बेलायती राजदेखि नै भारतका कारण हामी पीडित भएको एउटा समस्या थियो । त्यो समस्या अझसम्म पनि समाधान भएको छैन । सत्तामा पुगेको बेला हामीसँग ठूलो आकांक्षा थियो । हामी साना उद्योगको विकास गर्न चाहन्थ्यौं । त्यसका लागि भारतीय पुँजी आकषिर्त गर्नुपर्ने थियो । भारतीय पुँजीपतिहरूलाई अलिकति उत्साही बनाउनुपर्ने थियो । भरतीय पुँजीपतिहरू आफैं पनि नेपालमा लगानी गर्न आतुर थिए । घनश्यामदास बिड्ला, शान्तिप्रसाद जैन, मोदी र टाटाजस्ता व्यापारिक घरानासँग हामीले सम्पर्क बनाएका थियौं । ती सबै नेपालमा लगानी गर्न चाहन्थे ।

त्यतिबेला भारतमा पहिलो, राष्ट्रियकरणको खतरा, दोस्रो आयकर र विभिन्न खाले नोकरशाही जटिलता, यी दुई-तीनवटा समस्या थिए । जैन त्यहँँका आफ्ना सबै कलकारखाना बन्द गरेर यहाँ लगानी गर्न चाहन्थे । तर घनश्यामदास बिड्लाचाहिँ केही हिचकिचाएका थिए । त्यसैले संवादका क्रममा मैले नेहरूसँग नेपालमा उत्पादित सामानले भारतीय बजारमा स्वतन्त्र रूपमा प्रवेश पाउनुपर्छ भन्ने माग राखें । नेपालको बजार निकै सानो थियो । भारतमा ठूलो बजार थियो । बिड्लाले नेपालमा कपडा कारखाना खोलेको खण्डमा त्यसको मुख्य बजार भारत नै हुनसक्थ्यो । तसर्थ, म नेपालमा उत्पादित सामान भारतमा स्वतन्त्रपूर्वक जान पाउनुपर्छ र त्यस्तो सुविधा भारतले पाउनु हुँदैन भन्ने पक्षमा थिएँ । भारतबाट नेपालमा आउने सामानमा हामीले आफ्नो खुसीले भन्सार लगाउन पाउनु त्यसको अर्थ हुन्थ्यो । समस्या त्यहीं थियो । अरू विषयहरू पनि थिए, ती मैले बिर्सिएँ । तर, मुख्य विषय त्यही नै थियो । 'तिमीहरू मात्र बढी फाइदा लिन चाहन्छौ । त्यस्तो सन्धि त असमान हुन्छ,' भारतीय सरकारको भनाइ यस्तो थियो । 'नेपाल पिछडिएको देश हो, तिमीहरू हाम्रो देशको विकास चाहन्छौ भने हामीलाई बढी सुविधा दिनुपर्छ,' मैले उनीहरूलाई यस्तो भनेको थिएँ । मैले त्यतिबेला भारतकै केही भागमा समेत भारतीय सामानको स्वतन्त्र आयातमा बन्देज लगाइएको उदाहरण दिएको थिएँ ।

राजाले लामो समयदेखि यस विषयमा दबाब दिँदै आएकाले मैले नेहरूसँग व्यापार सन्धिबारे पनि छलफल गर्ने विचार गरें । भाग्यले भनौं या दुर्भाग्यले, त्यतिबेला वाणिज्य विभाग हेर्ने सचिव एलके झा थिए । उनी बनारसमा पढ्दा मेरा सहपाठी थिए । पछि, उनी कश्मीरको गभर्नर भए । तर, एलके पनि मेरो मागमा सहमत भएनन् । त्यसपछि, राष्ट्रपति राजेन्द्रबाबुको निवासमा नेहरू एकाबिहानै आउनुभयो । खासमा, त्यस दिन म राष्ट्रपतिकै निवासमा बसेको थिएँ । नेहरूले मलाई भन्नुभयो, 'के समस्या छ ? म के गर्न सक्छु ? म तपाईंलाई सहयोग गर्न चाहन्छु ।' मैले उहाँलाई आफ्ना समस्याहरू बताएँ । उहाँले त मलाई 'तपाईंले आफ्नो समस्याहरू आफैं समाधान गर्नुपर्छ, त्यसले तपाईंलाई राष्ट्रवादी छवि बनाउन मद्दत पुर्‍याउँछ, त्यस समस्यालाई तपाइर्ं आफैं ग्रहण गर्नुपर्छ, हामी तपाईंको राष्ट्रवादी छवि बिगार्न चाहँदैनौं' भनेर सुझाव पो दिनुभयो । नेहरू मित्रवत् हुनुहुन्थ्यो । उहाँ समझदार पनि हुनुहुन्थ्यो । मैले उहाँलाई भनें, 'मेरो वर्तमानको समस्या यस्तो हो । कैयौं महिनादेखि यो समस्या थाँती रहेको छ, त्यसले मलाई अप्ठेरोमा पारिरहेको छ ।' उहाँले भन्नुभयो, 'हो, मलाई थाहा छ । तर भारतको समस्या के हो भने तपाईं वा अरू कुनै भारतका मित्रहरू नेपालको सत्तामा पुगेको खण्डमा उनीहरूले भारत र नेपालबीचको त्यस्तो सन्धिको दुरूपयोग गर्दैनन् । तर, नेपालको सरकारमा भारतविरोधीहरू पुगे भने उनीहरूले त्यसको दुरूपयोग गर्न सक्छन् । त्यस्ता मानिसहरू नेपालको सत्तामा पुगे भने हङकङ वा अन्य मुलुकबाट सामान आयात गर्छन् र त्यसम नेपालमा बनेको भनेर छाप लगाउन, विदेशबाट आयातित कच्चापदार्थहरू नेपालमा प्रशोधन गर्न र सन्धिको दुरूपयोग गर्दै भारतमा निर्यात गर्न सक्छन् । पहिले राजाको सरकारले पनि त्यस्तै गरेको थियो । उनीहरूले सिन्थेटिक फाइबर, सिन्थेकिट यार्न, खिया नलाग्ने स्टिलका भाँडाकुँडा र कम्बलमा त्यस्तै गरे । उनीहरूले जापानबाट आयात गरेको कच्चापदार्थलाई नेपालमा प्रशोधन गरेर भारतमा निर्यात गरेका थिए । नेपालसँग यस्तो कमजोरी छ । त्यही कारण हाम्रा मानिसहरू यसमा अनिच्छुक छन् । तैपनि त्यसबाट तपाईंको अवस्था अनुकूल हुन्छ भने म मेरा सचिवलाई तपाईंसँग भेट गर्न भनौंला ।' मलाई सम्झना भएसम्म अनि उहाँले त्यहींबाट कसैसँग सम्पर्क गर्नुभयो र हिंड्नुभयो । पछि, एलके झाले मसँग भेट गरे । 'मैले प्रधानमन्त्रीबाट अनुमति पाएँ,' उनले मलाई खुसीको समाचार सुनाए । नेहरू विचित्रका व्यक्ति हुनुहुन्थ्यो । 

एकचोटि म भारतको औपचारिक भ्रमणमा थिएँ । मेरी श्रीमती पनि साथै थिइन् । मेरी कान्छी छोरी त्यसबेला सानै थिई । त्यसैले ऊ पनि हामीसँगै गएकी थिई । विमानस्थलमा स्वागत कार्यक्रम हुँदा हाम्री छोरीलाई इन्दिराजीले लगिन् । मलाई हैदरावाद हाउसमा राखिएको थियो । उहाँहरू त्यहाँ आउनुभयो । उहाँहरूले मलाई विदेशी पाहुना वा सरकारी पाहुनाको व्यवहार होइन, पारिवारिक पाहुनाको व्यवहार गर्नुभयो । इन्दिराजी मेरी श्रीमतीलाई भेट्न आइरहन्थिन्, उनले किनमेलका लागि मेरी श्रीमतीलाई धेरैपटक लिएर गइन् । उनीहरू एक दुईपल्ट सारी र मजेत्रो किन्न कपडा पसलमा गएका थिए । हाम्रो सम्बन्ध त्यस्तो थियो । व्यक्तिगत मित्रता त्यस्तो प्रगाढ थियो । अनि, हामी दिल्लीबाट हिंड्ने बेलामा प्लेटर्फममै औपचारिक बिदाइ कर्यक्रम आयोजना गरिएको थियो । फर्किंदा हामी ट्रेनबाट आएका थियौं । हाम्रा लागि एउटा विशेष रेलको व्यवस्था गरिएको थियो । हामी चढ्नुभन्दा पहलिे रेलका हरेक डिब्बा र सबै बाथरुमको गार्डहरूले निरीक्षण गरेका थिए । त्यो बिदाइ कार्यक्रम एकदमै आत्मीय थियो । भारतको भ्रमणमा जाने अरू राज्यप्रमुखले सलामी, रातो कार्पेट आदिको स्वागत पाउँथे भने हामीलाई विशेष पाहुनाको रूपमा लिइएको थियो ।

म दुईवटा कारणले जवाहरलालजीप्रति कृतज्ञ छु । एउटा कारण निश्चय पनि व्यक्तिगत छ । मैले भोकहडताल गरेका बेला उहाँले दुईपल्ट मेरो ज्यान बचाउनुभयो । उहाँसँग मेरो नीतिगत असहमति थियो । उहाँ प्रतिबद्ध समाजवादी हुनुहुन्नथ्यो । त्यो, मलाई अहिले पनि लाग्छ । उहाँ कुनै विषयमा पनि प्रतिबद्ध हुनुहुन्नथ्यो । उहाँ केटाकेटीजस्तो हुनुहुन्थ्यो । उहाँले धेरै पक्षमा नकारात्मकता भित्र्याउनुभयो । उहाँले प्रशासनलाई जनताको चाहनाअनुकूल बनाउन सक्नुभएन । मलाई लाग्छ, उहाँको पालामा बेलायती सरकारले खडा गरेको ढाँचामा प्रशासन चल्यो । त्यो पनि नीतिगत विषय नै हो । तर उहाँ धेरै मिलनसार हुनुहुन्थ्यो र सद्भाव र विशेष सम्बन्धका कारण मेरो पूरै परिवार उहाँप्रति कृतज्ञ छ ।

तपाईंहरूबीचका असहमतिका अरू विषय कस्ता थिए ?

आर्थिक विकासको मोडलको सम्बन्धमा हाम्रा धारणा फरक थिए । नेहरू सोभियत शैलीको मोडल पछ्याउन खोज्दै हुनुहून्थ्यो । उहाँ समाजवादीभन्दा बढी कम्युनिस्ट अर्थतन्त्रलाई महत्त्व दिनुहुन्थ्यो । तर, त्यस विषयमा पनि विवाद भएन । नेपालको सन्दर्भमा चीनको मुद्दामा बाहेक हामीबीच कुनै मतभेद थिएन ।

तपाईंको प्रेमचन्दसँग कसरी सम्पर्क भयो, त्यस विषयमा पनि केही बताइदिनुहुन्छ कि ?

त्यसबेला म बनारसको हरिश्चन्द्र हाइस्कुलमा पढ्थें । सौभाग्यवश मेरो शान्तिपि्रया द्विवेदीसँग सम्पर्क भयो । उनी समालोचक र कवि हुन् । त्यसबेला उनी रामकृष्ण दास पुस्तकालयका लाइब्रेरियन थिए । त्यस पुस्तकालयमा किताब र प्राचीन ग्रन्थहरूको ठूलो संग्रह थियो । उनी त्यहाँ पुस्तकको सूची तयार पार्दथे । उनले नै मभित्र साहित्यको रुचि जगाएका हुन् । मैले यो पनि भन्नैपर्दछ, उनको प्रेरणाबाट नै मैले हिन्दीमा लेख्न सुरु गरें । रामकृष्ण दाससँग पनि उनीमार्फत नै मेरो सम्पर्क भयो । रामकृष्ण दास साहित्यका विशिष्ट व्यक्तिहरूलाई प्रायःजसो घरमा निम्त्याउने गर्दथे । त्यहाँ एक किसिमको भोज पनि चल्दथ्यो । त्यहाँ आउने महत्त्वपूर्ण व्यक्तिहरूमा जयशंकरप्रसाद, अजमेरजी र मैथिलीशरण गुप्ता पनि हुन्थे । मलाई सहयोग गर्ने, मार्गदर्शन दिने व्यक्तिचाहिँ प्रेमचन्द नै हुनुहुन्थ्यो । मलाई प्रेमचन्दजीकहाँ शान्तिपि्रया द्विवेदीले नै लगेका हुन् । प्रेमचन्द त्यसबेला 'हंस' भन्ने साहित्यिक पत्रिका सम्पादन गर्नुहुन्थ्यो । मैले उहाँलाई आफूले लेखेका एक-दुईवटा कथा देखाएको थिएँ । उहाँ मेरा कथा पढ्नुहुन्थ्यो र सच्याइदिनुहुन्थ्यो । उहाँ मेरा कथाहरूमा अनावश्यक गफ हटाएर हंसमा छापिदिनुहुन्थ्यो । म उहाँलाई जहिले पनि भेट्न सक्थें । त्यसबेला उहाँ मानिसहरूले घेरिरहने धेरै व्यस्त व्यक्ति हुनुहुन्थ्यो । उहाँ मेरा लागि र अरूका लागि समेत समय निकाल्नुहुन्थ्यो । मलाई लाग्छ, उहाँ अत्यन्त साधारण, राम्ररी नमिलाई साहेवी लुगा लगाउने र अथाह मानवीय संवेदना भएका व्यक्ति हुनुहुन्थ्यो । उहाँले नै हात समाएर मलाई लेख्न सिकाउनुभएको हो । त्यसकारण म उहाँप्रति धेरै आभारी छु...

प्रकाशित मिति: २०७१ श्रावण २ -  कोसेली»

Infographics: The state of global youth unemployment

August 13, 2016 00:05 AM ,  Republica