Friday, 21 February 2014

प्रधानमन्त्री सुशील कोइरालाले संसद बैठकलाई गर्नु भएको संबोधन

February 22, 2014
सम्माननीय सभामुख महोदय,
नेपाली जनताले आफ्नो अधिकार प्राप्तिकोलागि पटक पटक गरेका संघर्ष र बलिदानको परिणामस्वरुप स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्रीको हैसियतले यस व्यवस्थापिका संसदको गरिमामय बैठकलाई संबोधन गर्न पाउदा म अत्यन्त गौरवान्वित भएको छु । सर्वप्रथम यस गरिमामय पदमा मलाई निर्वाचित गर्नुहुने यस सदनका माननीय सदस्यहरुप्रति सम्माननीय सभामुख महोदयमार्फत हार्दिक आभार प्रकट गर्न चाहन्छु । यस अवसरमा गत मंसीर ४ गते सम्पन्न संविधानसभाको निर्वाचनमा अभूतपूर्व सहभागिता जनाउने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक धन्यवाद दिन चाहन्छु । संविधानसभाको निर्वाचन शान्तिपूर्ण वातावरणमा धाँधलीरहित र निश्पक्ष ढंगले सम्पन्न गर्ने निर्वाचन आयोग,अन्तरिम मन्त्रिपरिषद् र यसका अध्यक्ष विशेष धन्यवादका पात्र हुनुहुन्छ । निर्वाचनलाई सफल बनाउन कार्यक्षेत्रमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी एवं कर्मचारीहरु, निर्वाचनको सञ्चालन र पर्यवेक्षणमा खटिएका सबै स्वदेशी एवं विदेशी संघ संस्थाका प्रतिनिधि र स्वयंसेवकहरुको पनि महत्वपूर्ण योगदान रहेको मैले विश्वास गरेको छु ।
सम्माननीय सभामुख महोदय,
अनेकौं राजनीतिक र संवैधानिक जटिलतामा अल्झिएको मुलुुकको राजनीति पुनः सही मार्गमा आएको यस अवसरमा नेपालमा लोकतन्त्रको स्थापना, पुनःस्थापना र स्थायित्वको आन्दोलनमा जीवन उत्सर्ग गर्नुभएका सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । यस ऐतिहासिक अवसरमा नेपाली जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाउन जीवनभर समर्पित अग्रज प्रजातान्त्रिक र वामपन्थी नेताहरुको योगदानको स्मरण र सम्मान गर्न चाहन्छु । एक दशकभन्दा लामो सशस्त्र संघर्षलाई शान्तिपूर्ण रुपमा अवतरण गराई नेपालको राजनीति , संवैधानिक र आर्थिक विकासलाई सही मार्गमा ल्याउन महत्वपूर्ण योगदान गर्नुहुने सबै नेताहरुको योगदानको म कदर गर्दछु । यस्तै मधेश आन्दोलनबाट मुखरित राज्यका सम्पूर्ण निकायमा सहज र समान सहभागिता एवं स्वाभिमानपूर्ण समावेशिताको भावनाको पनि म सम्मान र कदर गर्दछु ।
सम्माननीय सभामुख महोदय,
मंसिर ४ मा सम्पन्न संविधान सभाको निर्वाचनमार्फत अभिव्यक्त जनताको उत्कट चाहना र उच्च सहभागितालाई मैले निर्धारित समयमा संविधान निर्माण गर्ने शक्ति र पूँजीको रुपमा लिएको छु । यस संविधानसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुले पनि यसलाई आत्मसात गर्नुभएको मैले महशूस गरेको छु । संविधानसभाको निर्वाचनको क्रममा जनतासंग मतदानको आह्वान गर्दा हामी सबैले एक बर्षमा संविधान निर्माण गर्ने कबुल गरेका थियौं । यो साझा राष्ट्रिय दायित्वलाई पूरा गर्न राजनीतिक दलका नेताहरु देखाउनुभएको परिपक्वता र जिम्मेवारीबोधको प्रसंशा गर्न चाहन्छु ।
सम्माननीय सभामुख महोदय,
अघिल्लो संविधानसभाका दुइवटा मुख्य कार्यभार थिए । पहिलो, शान्ति संझौतालाई टुंगोमा पु¥याउने र दोस्रो, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गर्ने । असाध्यै जटिल मानिएको लडाकू समायोजन तथा पुनःस्थापना जस्ता शान्तिप्रकृयाका कतिपय पक्ष अघिल्लो संविधानसभाको अवधिमा सम्पन्न भएका छन । म यो ऐतिहासिक जिम्मेवारी पूरा गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने एकिकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दहाल र सम्बन्धित सबैको योगदानको सराहना गर्दछु । संविधान निर्माणको जिम्मेवारी भने विभिन्न कारणले अघिल्लो संविधानसभाले पूरा गर्न सकेन । यो गुरुत्तर दायित्व अहिले हाम्रो काँधमा आएको छ । अब एक बर्षमा संविधान निर्माणको ऐतिहासिक जिम्मेवारी पूरा गर्ने सम्बन्धमा अघिल्लो संविधानसभाको अनुभव हाम्रालागि सबैभन्दा ठूलो पूँजी हुनेछ । यसले हासिल गरेका विधिसम्मत उपलब्धिलाई पुन विवादमा नल्याई ग्रहण गर्दा समयको बचत हुनाको साथै विगतमा विवादित देखिएका विषयहरुमा सहमति जुटाउन बाँकी समय उपयोग गर्न सजिलो हुनेछ ।
जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाउन २००७ सालको जनक्रान्ति, २०१७ सालपछि प्रजातान्त्रिक र वामपन्थी शक्तिहरुबाट थालिएका सशस्त्र र शान्तिपूर्ण आन्दोलन, जननेता वी.पी. कोइरालाले अंगीकार गर्नुभएको २०३३ सालको राष्ट्रिय एकता र मेलमिलापको नीति, २०३६ सालमा बहुदलीय संसदीय व्यबस्थाको पक्षमा जनताले व्यक्त गरेको अभिमत, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन ,त्यसपछि शुरुभएको सशस्त्र द्वन्द्व र २०६२÷६३ को जनआन्दोलनका साथै मधेश आन्दोलनको भावनालाई लिपिबद्ध गर्ने यो नै सर्वोत्तम अवसर पनि हो ।
सम्माननीय सभामुख महोदय,
अब म मेरो नेतृत्वको सरकारका सम्बन्धमा केही प्रकाश पार्न अनुमति चाहन्छु । नेपालको अन्तरिम संविधान २०६३ को भावना र प्राथमिकतालाई आत्मसात गर्दै संविधानसभाको सबैभन्दा ठूलो राजनीतिक दलको सभापति र संसदीय दलको नेताको हैसियतले सहमतीय सरकार बनाउने भगीरथ प्रयत्न गरेको सर्वविदितै छ । निर्धारित समयमा सो प्रयास सार्थक नभए पनि संविधान अनुरुप नै संविधानसभाभित्र रहेका दलहरुको अधिकतम सहमति र सहभागिताको सरकार बनाउने प्रयास निरन्तर भैरहेको अवगत गराउन चाहान्छु ।मन्त्रिमण्डललाई पूर्णता दिने क्रममा देखिएको वर्तमान अन्योललाई आपसी संवाद र समझदारीका साथ यथाशीघ्र व्यवस्थापन गरी अगाडी बढ्ने प्रतिबद्धता यस सम्मानित सदनसमक्ष व्यक्त गर्न चाहन्छु । यस सम्बन्धमा फागुन ६ गते सम्पन्न संविधानसभाका सम्माननीय अध्यक्षको निर्वाचनको क्रममा विकसित भएको उच्च स्तरीय राजनीतिक संस्कारको म सराहना गर्दछु । नवनिर्वाचित सम्माननीय सभाध्यक्षज्यूलाई १ बर्षभित्रमा संविधान निर्माण गर्ने कार्यमा सफलता प्राप्त होस भन्दै बधाई समेत ज्ञापन गर्दछु ।
यो सरकार जनतालाई राज्यले दिनसक्ने सेवा र सुविधा सहज ढंगले जनसमक्ष पुु¥याउन अत्यन्त व्यग्र छ । जनतालाई सेवा पु¥याउन प्रशासनलाई जनमुखी बनाइने छ । सरकारमा सहभागी हुने दलहरुले संविधानसभाको निर्वाचनमा जारी गरेको घोषणापत्रमा आधारित भएर यो सरकारले आफ्नो साझा प्राथमिकता निर्धारण गर्नेछ । यस सम्बन्धमा मैले गत माघ २७ गते प्रधानमन्त्री पदमा आफ्नो उमेदवारी प्रस्तुत गर्दा व्यवस्थापिका संसदसमक्ष व्यक्त गरेका प्रतिबद्धतालाई यहाँ दोहो¥याउन चाहन्छु ।
सम्माननीय सभामुख महोदय,
गरिबी र पछौटेपन मुलुकको सबैभन्दा ठूलो समस्या रही आएको छ । आर्थिक विकासका कार्यक्रम दु्रत गतिमा सञ्चालन गरेर समृद्धि हासिल गर्दै त्यसको प्रतिफल तल्लोवर्गसम्म पु¥याएमा मात्र यो समस्याको समाधान गर्न सकिन्छ ।यसकालागि मुुलुकको प्राकृतिक सम्पदा र मानव स्रोतको उच्चतम प्रतिफल प्राप्त हुनेगरी उपयोग गर्न जरुरी हुन्छ । उच्च आर्थिक बृद्धिदर हासिल गर्नकालागि सरकारले आन्तरिक र बाह्य लगानी प्रोत्साहित गर्ने नीति लिनेछ । अपार जलसम्पदाको सदुपयोग, कृषिको विविधिकरण र व्यवसायिकरण, पर्यटन र औद्योगिक विकासका माध्यमबाट मुलुकभित्रै आर्थिक अवसरहरुको सिर्जना गरी बेरोजगारी र गरिबीको समस्या समाधान गरिनेछ । यसै सन्दर्भमा छिमेकी मित्रराष्ट्र भारत र चीन तथा हाम्रा आर्थिक र सामाजिक विकासमा साझेदारी गर्दै आएका अन्तराष्ट्रिय समुदायको समेत निरन्तर सहयोगको मैले अपेक्षा गरेको छु । नेपाल र नेपालीको बृहत्तर हितकानिम्ति सबै मित्र राष्ट्रहरु र संयुक्त राष्ट्रसंघ लगायतका अन्तराष्ट्रिय र क्षेत्रीय संस्थाहरुसंगको कुटनीतिक सम्बन्धलाई अझ विकसित गरिनेछ । आगामी दिनमा पूरा गर्नुपर्ने जिम्मेवारीका साथै माननीय सदस्यहरुले दिनुभएको विश्वास प्रति म पूर्णतया सचेत छु । शान्तिप्रकृयालाई टुंगोमा पु¥याउन विगतमा भएका समझदारीको कार्यान्वयन गर्दै बाँकी कामहरु सम्पन्न गर्ने ,समयमै संविधानको निर्माण गर्ने ,स्थानीय निकायको निर्वाचन गर्ने, मुलुकको आर्थिक विकासलाई गतिदिदै सामाजिक न्याय स्थापित गर्न साझा कार्यक्रम तय गर्ने, महंगी नियन्त्रण र राहत कार्यक्रम , प्रशासनलाई भ्रष्ट्राचारमुक्त र सदाचारयुक्त बनाई उत्तरदायी र पारदर्शी बनाउदै सुशासनयुक्त विधिको शासनको सुनिश्चितता लगायत मैले गत माघ २७ गते प्रधानमन्त्रीको उमेदवारी प्रस्तुत गर्दा गरेका बाचाहरुप्रति म पूर्ण प्रतिबद्ध रहने विश्वास दिलाउन चाहन्छु ।
सम्माननीय सभामुख महोदय,
हामीबीच कायम रही आएको आपसी एकता , सद्भाव र सहकार्यको भावनालाई अझ मजबूत बनाउदै संविधान निर्माणको पवित्र अभियानमा सरिक हुन आजको दिनले प्रेरणा दिने मैले विश्वास लिएको छु । नेपाली जनताको अथक संघर्षको परिणामस्वरुप प्राप्त लोकतान्त्रिक उपलब्धीलाई संस्थागत गरी स्थिर, शान्त, समृद्ध र सुदृढ मुलुक निर्माणमा अभिमुख हुन हामीलाई अझ बढी ऊर्जा र प्रेरणा प्राप्त होस भन्ने कामना सहित संविधानसभाभित्र र बाहिर रहेका सबै राजनीतिक दलहरुलाई संविधान निमार्णमा दृढ संकल्पका साथ सहकार्य गर्नका लागि हार्दिक आह्वान गर्दछु ।


जय नेपाल
२०७० फाल्गुन ९ 

No comments:

Post a Comment

Infographics: The state of global youth unemployment

August 13, 2016 00:05 AM ,  Republica