म स्वदेश र्फकनुका दुई कारण छन् । एउटा कारण, हिन्दुस्तानमा
अहिले देखिँदै आएको अन्तर्राष्ट्रिय नीतिको परिवर्तन हो । हामी हिन्दुस्तान किन आएका
थियौँ ? हामी तिब्बतीहरू शरणार्थी भएर आएजस्तो आएका थिएनौँ । हामी ज्यान जोगाउन भागेर
आएका पनि होइनौँ । भारतमा प्रजातान्त्रिक व्यवस्था भएकाले हामीलाई यहाँबाट आफ्नो संगठनको
निम्ति सम्पर्कको सुविधा होला भनेर आएका थियाँै । हामी राजनीतिक उद्देश्य लिएर आएका
थियौँ । राजनीतिक उद्देश्य राख्नुका तीन चार कारण छन् ।
हिन्दुस्तान प्रजातान्त्रिक मुलुक हो । यहाँको वातावरण प्रजातान्त्रिक भएकाले काम गर्न सजिलो हुन सक्छ । यहाँको सरकारले हामीलाई समर्थन नदिए पनि जनमत हाम्रो पक्षमा छ । सरकारमा रहेको पार्टीले हामीलाई मद्दत गर्न अप्ठेरो माने पनि विभिन्न पार्टीका लागि हामीलाई मद्दत गर्न अप्ठेरो हँुदैन । हाम्रो उद्देश्यका निम्ति यहाँको राजनीतिक वातावरण उपयुक्त हुनसक्छ । मलाई लाग्छ, सरकारसित पनि राजनीतिक भाषा र विचारको आदान-प्रदान हुन सक्छ । नेपालमा प्रजातन्त्र आएको खण्डमा हिन्दुस्तानको पनि भलाइ हुन सक्छ । यसले हामीलाई पनि काम गर्न सजिलो होला ।
दोस्रो कुरा, हामीले यहाँ आएपछि अन्तर्राष्ट्रिय जगत्मा पनि सम्पर्क गर्न थाल्यौँ । देशमा कडा निगरानी भएका वेला यहाँ सुरक्षित भएर देशभित्रका संगठनलाई निर्देशन दिन सकिएला, संगठन बढाउन पनि सकिएला भन्ने सोचेका थियाँै । देशमा कुनै नयाँ राजनीतिक वातावरण सिर्जना भए त्यसलाई पनि सम्बोधन गर्न सकिएला भन्ने सोचेर हामी यहाँ आएका थियाँै ।
हामी यहाँ आएको सात-आठ वर्ष हुन लाग्यो । तर, हामीमा भएको आशा पूरा हुन सकेन । भारत सरकारको नीति सधैँ राजालाई खुसी पारेर आफ्नो स्वार्थ सिद्ध गर्न र आफ्नो उद्देश्य पूरा गर्न सकिएला भन्ने किसिमको भयो । मलाई लाग्छ, कुनै न कुनै दिन उनीहरूले आफ्नो नीति गलत रहेछ भन्ने आफैँ स्विकार्नुपर्नेछ । उनीहरूको नीतिले राजालाई खुसी पार्ने र हामीलाई अप्ठेरो पार्ने भयो । हामीलाई मद्दत नगर्ने मात्र नीति भएको भए पनि एउटा वातावरण बन्न सक्थ्यो । यहाँ संकटकाल लागू भयो । यहाँबाट कुनै ठूलो स्तरको सरकारी मद्दत हामीले पाएनाँै । तर, यहाँ बस्ने साथीहरूको अनुभवमा यहाँका जनताको पूरा समर्थन हामीलाई छ । हामीलाई हिन्दुस्तानी जनता र विभिन्न पार्टीको पूरा सहानुभूति छ ।
म हिन्दुस्तानको राजनीतिमा सन् १९२७ देखि सक्रिय रूपमा संलग्न भएको थिएँ, स्कुल पढ्दादेखि नै । सन् १९४६ सम्म हिन्दुस्तानको साजनीतिमा रहेँ । भारतको राजनीति गर्दा-समाजवादी पार्टी, कांग्रेस पार्टी, कम्युनिस्ट पार्टीलगायत युवक संगठनको सन्दर्भमा मलाई थुनियो । कम्युनिस्ट आन्दोलनमा म पनि समातिएँ । यहाँ यति लामो अवधिसम्म मेरो राजनीतिक क्रियाकलाप भएको हुनाले धेरै ठूला-ठूला ओहोदा र राजनीतिक पार्टीका पदमा मेरा साथी छन् ।
अहिले कांग्रेसकै कुरा लिउ“m, कांग्रेसका देवकान्त बरुवा मेरा सबैभन्दा नजिकका साथी हुन् । उनले अस्ति मलाई एउटा चिठी पठाए । सन् १९३१ मा हामीले एउटा कमिटी बनाएका थियाँै । म त्यसको संयोजक थिएँ । हाल कम्युनिस्ट पार्टीका राजेश्वर राव पनि यसमा सदस्य थिए । म सन् १९४१ म्ा दरभंगामा समातिएँ र सन् १९४२ मा फेरि समातिएँ पटनामा । डा. राजेन्द्र प्रसाद, अनुग्रहनारायण सिंहलगायत धेरै साथीसँगै म समातिएँ । तसर्थ मप्रति धेरै व्यक्तिले सहानुभूति राख्छन् । तर, जनताको सहानुभूति हुनु एउटा कुरा हो । विभिन्न पार्टीको सहानुभूति हुनु अर्को कुरा हो । त्यस्तै, सरकारी स्तरको सहानुभूति अर्को कुरो हो । सरकारले समर्थन दिन पनि अप्ठेरो हुन्छ । यहाँ संकटकालमा अर्कै कुरो भयो । हामीलाई अप्ठेरो पार्ने, हाम्रो एकतालाई तोड्ने, हाम्रा मानिसलाई थुन्ने, समात्ने, हिन्दुस्तानमा हाम्रा साथीलाई क्षेत्रबन्दमा राखेर सताउने इत्यादि कुराले यहाँ हामी बसेको उनीहरूलाई ठीक लागेन भन्ने अनुभव भयो । उनीहरूले हामीलाई सबै कुरा भन्न नसके पनि अरू लक्षणबाट यो कुरा बुझियो । यहाँ हामी एउटा आशा लिएर आएका थियौँ, त्यो पूरा हुन सकेन । तर पनि यहाँ हामीले आफ्नो पुस्ता र संगठनको पुस्तालाई बचाएर राख्याँै, यो हाम्रो तेस्रो पुस्ता हो ।
यो पुस्ता नेपाली कांग्रेसप्रति आकषिर्त छ । संघर्षको यस क्रममा हामी सफल पनि भयौँ, असफल पनि भयाँै । यहाँ हामी एकत्रित भएर कार्य पूरा नहुँदै जान लागेको अर्थमा असफल भयौँ । यसैलाई पूर्णतः असफलता मान्नु भने हुँदैन । नेपालमा वर्तमान व्यवस्थाका विकल्पमा कुनै पार्टी छैनन्, अहिले पनि नेपाली कांग्रेस नै विकल्प हो । अहिले पनि देशमा स्थिरता कायम गर्न हाम्रो सहयोग चाहिन्छ । यहाँ निर्वासनमा मैले संविधानसम्बन्धी वा अन्य कुनै विषयमा बोल्नेबित्तिकै खुला परिपत्र जारी हुन्छ । तसर्थ युद्ध भनेको हार्ने कुरो मात्र होइन, कुनै पनि युद्ध विभिन्न लडाइँको क्रमिक रूप नै हो । दोस्रो विश्वयुद्धमा दुई सयभन्दा बढी ठुल्ठूला लडाइँ भए । १२५ जति लडाइँ जर्मनी समर्थित नाजी शक्तिले जिते । बर्मा, सिंगापुर, प|mान्स वा बेल्जियममा लडाइँ भए । अंग्रेजका सहयोगी हार्छन् तर फेरि ७५ ठाउँका ठूला-ठूला युद्धमा अंग्रेजले जिते । त्यसो हुनाले लडाइँमा हार व्यहोरे पनि म हिम्मत भने हार्दिनँ ।
अब म तपाईंहरूलाई दोस्रो विश्वयुद्धको उदाहरण दिन्छु । त्यसमा बेलायत, प|mान्स र बेल्जियम हारेकाले यो उदाहरण दिन लागेको हुँ । त्यतिवेला हारेपछि अंग्रेजले हिटलरका विरुद्धमा लड्न पल्टन पठाएका थिए । लडाइँमा हारेपछि उनीहरू हात-हतियार फ्याँकेर नांगै भए पनि डुंगामा चढेर बेलायत फर्केर आए । तिनीहरूले दुनियाँमा जहाँ पनि प|mान्स, ब्राजिल जतासुकै आत्मसमर्पण गरिदिए । त्यतिवेलाका बेलायतका विदेशमन्त्री चेम्बर लिन र प्रधानमन्त्री चर्चिलले हिम्मत हारेनन् । उनीहरूको भनाइ थियो, 'हामीले एउटा युद्ध मात्र त हारेका छौँ । हामी अन्तिम समयसम्म पनि लड्छौँ र हार्दैनाँै ।' उनीहरूसँग अमेरिकी हातहतियार थिए । त्यो सबैलाई चाहिएको थियो । त्यसकारण उनीहरूसँग हिम्मत पनि थियो । उनीहरूले ठूला-ठूला लडाइँ जितेको हुनाले अन्तिम समयसम्म जित्छौँ भन्ने हिम्मत पनि थियो । मैले पनि यहाँ बसेर युद्ध हारेको छैन । आत्मबल गुमाएको पनि छैन । यो निकै गर्वको विषय हो । यति भन्दाभन्दै म स्वदेश-नेपाल जान्छु भन्नेबित्तिकै नेपालमा यही कुरो चर्चाको विषय बनेको छ । म नेपाल जाने भएकैले नेतालगायत जनतामा यसको चर्चा छ । कसैले निराश भएर आएको भन्दैनन् ।
अर्को कुरा हिन्दुस्तानमा तपाइर्ं हामीले काम गर्यौँ । तर, यहाँका सर्वसत्तावादीले हामीलाई मन नपराएको पनि हामीले बुझ्नुपर्छ र त्यसभन्दा पनि हिन्दुस्तान, बंगालादेश, पाकिस्तान, नेपाल, भुटान, बर्मा र श्रीलंका- यो दक्षिण एसियाको भूभाग, हिमालभन्दा दक्षिणको भूभागको क्षेत्र अस्थिर अवस्थामा पुगेको छ । हिन्दुस्तानमा प्रजातान्त्रिक व्यवस्था भए पनि अस्थिरता छ । हाम्रो नेपालमा पनि अस्थिरता छ । बंगालादेशमा त झन् राजनीतिक रूपमा अस्थिरता छ । खासगरी हाम्रो नेपालमा अस्थिरताको कारण राजनीतिक व्यवस्था हो । यहाँको व्यवस्थाले जनमानसबाट स्वीकृति पाउन सकेको छैन । यसले जनताको वैधानिकता पाएको छैन । केवल राजसंस्थाको जोडले मात्र त्यो व्यवस्था टिकेको छ । यस व्यवस्थाको संगठनलाई जनताले स्वीकार गरेका छैनन् । पञ्चायतलाई जनताले अस्वीकार गरेको हुनाले यसलाई प्रशासन र पल्टनको आधार चाहिएको छ । अलिकति खुकुलो हुनेबित्तिकै व्यवस्था नै डगमगाउँछ । ०३२ सालको संविधान सुधार आयोगले जनतालाई आ-आफ्नो मन्तव्य नडराई भन्नोस् भन्दा प्रत्येक नेपालीले यस व्यवस्थाको विरोधमा विचार व्यक्त गरे । त्यसो हुनाले यो शासन प्रणाली राणाको प्रणालीजस्तै अनिश्चित छ ।
नेपाल अहिले निकै संवेदनशील क्षेत्र भएकाले यो देश अन्तर्राष्ट्रिय महत्त्वको देश भएको छ । हुन त हाम्रो सानो मुलुक हिन्दुस्तान र चीनको छिमेकी भएको एवं यी दुई देशबीच मेल नभएको कारणले उनीहरूको चासोको देश पनि भएको छ । उता अमेरिका र रुसजस्ता महाशक्तिको पनि यस क्षेत्रमा ठाडो चासो रहेको हुनाले यो क्षेत्र अस्थिर हुने आशंका व्याप्त छ । नेपालको अहिलेको राजनीतिक व्यवस्था सबैबाट अस्वीकृत भएकाले अन्तर्राष्ट्रिय कारणले यहाँ अस्थिरता छाएको छ । म एउटा उदाहरण दिन चाहन्छु, भियतनामबाट हात झिकेयता अमेरिका, रुस र चीनबीच अपि|mकी देशमा एउटा त्रिकोणात्मक लडाइँ चलिरहेको छ । रुसले अमेरिकाको निन्दा गर्छ । अमेरिकाको कूटनीति दक्षिणपूर्वी एसियामा अल्झेको हुनाले ऊ निरन्तर कमजोर भएको छ । उसका विश्वव्यापी नीति कमजोर भएको छ । अमेरिकाले एकातिर समाजवादीसँग पनि मुकाबिला गर्नुपर्ने, उता चिनियाँ र रसियन धुरीसँग पनि मुकाबिला गर्नुपर्ने भएकाले यसले नयाँ निर्णय गर्नुपर्यो । अब अमेरिकाको सामुन्ने अन्तर्राष्ट्रिय सम्बन्धको रोजाइ सबै मुलुकबाट फिर्ता आएर आफ्नो मुलुकमा मात्र सीमित रहने कि विश्वव्यापी रणनीति बनाउने, दुई विकल्प छन् ।
एउटा पक्ष भन्छ, 'हामीलाई अरूको के मतलव, अरूलाई पनि हामीसँग के मतलव ? रुससँग किन मुकाबिला गर्ने ? हामी आफ्नै देशमा सीमित रहौँ । हामीसँग जसले सम्पर्क गर्छ, त्यसलाई सघाऔँ, अरूलाई मतलव नराखौँ । हामीलाई कसैले आक्रमण गर्छ भने मजबुत भएर मुकाबिला गराँै ।' अर्को पक्ष भन्छ, 'जसरी अमेरिकाले प्रथम विश्वयुद्धमा नचाहँदा नचाहँदै संलग्न हुनुपर्यो । दोस्रो विश्वयुद्धमा पनि अमेरिकाले आखिरमा आएर बाध्यतावश फस्नै पर्यो । त्यसैले यस्तो अवस्थामा हामीले फस्नै पर्छ । तसर्थ विश्वव्यापी रूपमा आफ्नो कार्यक्षेत्र बनाउनुपर्छ।'
यतातिर हिन्द महासागर क्षेत्रको दियोगार्सियामा अमेरिकी गतिविधिबारे रुस समर्थक प्रेस, हिन्द महासागरमा अमेरिकी प्रभाव बढ्न थाल्यो भनेर लेख्छन् । अमेरिकी पक्ष चाहिँ हिन्द महासागरमा रुसको प्रभुत्व बढ्यो, हामीले बल प्रयोग नगरी भएन भन्छ । मार्गरेट थ्याचरको भाषण तपाइर्ंहरूले सुन्नुभएकै होला । अन्तर्राष्ट्रिय प्रभाव अब एसियामा आएको छ । यो कुरा मैले अढाई वर्षपहिले नै भनेको थिएँ । भारतीय पत्रपत्रिकामा तपाईंहरूले पढ्नुभयो होला । हाल कोलम्बोमा सम्पन्न असंलग्न सम्मेलनमा पास भएको प्रस्तावको पहिलो हरफमा भनिएको छ- अमेरिकीहरू भियतनामको युद्ध हारेपछि दक्षिण-पूर्वी एसियाबाट बाहिरिए । अब उनीहरू दक्षिण एसियामा आफ्नो प्रभावको केन्द्र बनाउँदै छन् । मैले भनेको भाषा अढाई वर्षपछि आएर उनीहरूले भने ।
भियतनामबाट अमेरिकी फकर्ंदा मैले भनेँ, 'अब तिमीहरू सावधान होऊ । अब यस क्षेत्रमा आउने अमेरिकी शक्तिको तिमीहरूले मुकाबिला गर्नुपर्छ ।' त्यही क्रममा उनीहरूसित सिक्किमको कुरा चल्यो । सिक्किममा आन्दोलन भयो । आन्दोलनपछि सिक्किमलाई भारतमा गाभियो । त्यसले नेपालीहरूका बीचमा शंकाको वातावरण उत्पन्न भयो । त्यस विषयमा मलाई सोधियो, यसमा तपाईंलाई के लाग्छ ? मैले भनेँ-सिक्किम तिम्रै प्रभावमा थियो । यसरी विश्वको दृष्टिकोणलाई ख्याल नराखी आफूमा मिलाउनुपर्ने कारण केही पनि देखिँदैन । तर, तिमीहरूले केही कारण देख्यौ होला । त्यस्तो कुनै बाध्यता अवश्य पर्यो होला । त्यो कुरा हामीलाई थाहा भएन । नत्र, त्यसरी सिक्किममाथि कारबाही गर्नुपर्ने कुनै कारण देखिँदैन ।
सिक्किमलाई अवैधानिक ढंगबाट गाभ्नुपर्ने अरू कारण भए मलाई थाहा छैन । जे होस् मेरो उनीहरूलाई भनाइ थियो, भारतले त्यो कारबाही गरेर यस क्षेत्रलाई अप्रत्याशित रूपमा अस्थिर बनायो । अब हिन्दुस्तानले जुन पक्षसँग टक्कर लिन यो काम गर्यो, त्यस पक्षले भारतकै मिजोरमा वा अन्य भागमा वा बंगालादेशतर्फ आँखा लगाउँछ ।
मैले यस्तो भनेको ६ महिनापछि बंगालादेशमा 'कु' भयो । यसले अवश्य पनि हिन्दुस्तानलाई असर पुर्यायो । त्यसपछि एक दिन तिनीहरूले मलाई फेरि सोधे, 'यी सबै साम्भाव्य घटना तिमीलाई पहिल्यै थाहा थियो कि क्या हो ?' मैले भनेँ, पहिले थाहा भएको होइन । यो त घटना क्रमको विश्लेषण गरेर थाहा पाइने कुरा हो ।'
मैले भनेँ, 'यस क्षेत्रमा तिमीहरूले जसका विरुद्ध आफूलाई उभ्याएका छौ, यहाँ तिमीहरू मात्र छैनौ । सुरक्षाको प्रसंगमा त्यसले हस्तक्षेप गर्छ कि गर्दैन ? उसँग हस्तक्षेप गर्ने अरू ठाउँ छैन । सबैभन्दा प्रमुख ठाउँ अहिले बंगालादेश नै भएको छ । त्यसैले अब त्यहीँ गतिविधि गर्छ ।' तर, बंगालादेश मात्र होइन, यो सम्पूर्ण क्षेत्र नै अहिले गतिविधि गर्न सकिने ठाउँ जस्तो देखिएको छ । त्यसैले अहिले यो सम्पूर्ण क्षेत्र नै अस्थिर क्षेत्र भएको छ ।
अब, नेपालको सन्दर्भमा जाऊँ । ०१७ सालको राष्ट्रविरोधी कदममार्फत हाम्रो देशमा आफ्नो प्रभाव बढाउन चीनले राजालाई साथ दिएको थियो । चीनले प्रोत्साहन दिँदा राजाको हिन्दुस्तानको हितमाथि असर पर्नसक्ने आवाज आउँथ्यो । हिन्दुस्तानले आफ्नै व्यवस्था र चीनसँग तर्सिएका कारणले, अन्ततः राजालाई नै आफ्नो पक्षमा गराएर होस् वा जसरी भए पनि आफ्नो हित पूरा गराउने रणनीति बनायो ।
डा. तुलसी गिरी प्रधानमन्त्री भएपछि हिन्दुस्तानले उनलाई खुसी पार्ने कोसिस गर्यो । पहिलेदेखि नै डा. गिरीको हिन्दुस्तानसँग बेग्लै सम्बन्ध छँदै थियो । नेपाल चीन र हिन्दुस्तानसँग समदुरीमा बस्न चाहन्छ भन्ने नेपालका परराष्ट्रमन्त्रीको वक्तव्य आयो । तर, हिन्दुस्तानको हामीबीच विशेष सम्बन्ध हुनुपर्छ भन्ने भनाइ आयो । त्यो विशेष सम्बन्ध भनेको भावनात्मक मात्र होइन नि । कूटनीतिक भाषामा विशेष सम्बन्ध भनेको प्रतिरक्षात्मक सम्झौता हो । राजनीतिमा विशेष सम्झौता भन्नुको अर्थ कुनै क्रयविक्रयको बखत एक अर्काको पक्षमा हुनु हो । हिन्दुस्तानी पक्षको भनाइअनुसार, राणा प्रधानमन्त्री मोहन शमशेरको पालामा भारत र नेपालबीच एउटा सम्झौता भएको छ । कुनै तेस्रो शक्तिले नेपाल र भारतमाथि वा कुनै एकमाथि आक्रमण भयो भने त्यस आक्रमणलाई आफूमाथि भएको आक्रमण ठानेर आपसमा मिलेर संयुक्त कारबाही गर्ने भन्ने । त्यसैको आधारमा भारतले विशेष सम्बन्धको कुरा उठाएको हो ।
म प्रधानमन्त्री हँुदा यसै सम्बन्धमा एउटा घटना भयो । हिन्दुस्तानका प्रधानमन्त्री जवाहरलाल नेहरूले संसदमा भाषण गर्दा भन्नुभयो, 'नेपाल र भुटानमाथि भएको आक्रमणलाई भारतले आफँैमाथि भएको आक्रमण ठान्नेछ।'
उहाँको त्यो भनाइको आशय, प्रतिरक्षाको प्रसंगमा भारतको सिमाना हिमालसम्म छ र हिमाललाई पार गरेर कुनै हस्तक्षेप वा आक्रमण भयो भने त्यो आक्रमण हिन्दुस्तानमाथिको आक्रमण मानिनेछ भन्ने थियो ।
नेहरूजीको यो भनाइ मैले काठमाडौंमा अखबारमा पढँे । त्यसपछि हिन्दुस्तानका सारा अखबारले मलाई सोधे, 'यस विषयमा तपाईं के भन्नुहुन्छ ?' हो वा होइन जवाफ माग्न थाले । मेरो भनाइ थियो, 'त्यो अखवारमा मात्र आएको कुरा हो । भारतीय संसदको दस्ताबेज मैले पढेको छैन । त्यसो हुनाले अखबारमा आएको समाचारको आधारमा म हिन्दुस्तानको प्रधानमन्त्रीलाई जवाफ दिन उचित ठान्दिनँ ।'
मैले पत्रकारलाई यो कुरा भनेको पर्सिपल्ट उनीहरूले संसदकै रिपोर्ट ल्याएर भने, 'अब त भन्नुहोस् ।' अनि मैले भनेँ, 'नेहरूजीले नेपालसँग नसोधी नेपालमा आफ्नो अधिकार छ जस्तो गरेर त्यसो भन्न हुने थिएन । नेपाल पूर्ण सार्वभौमिकता सम्पन्न स्वतन्त्र राष्ट्र हो । उहाँले एउटा अवस्थामा नेपालले मागेमा, हामी सहायता दिन्छौँ । नेपाल पनि सुरक्षाविहीन छैन भनेर मित्रता देखाएको हो । हिन्दुस्तानको पक्षबाट एकोहोरो कारबाही गर्ने नभएर नेपालले चाहेको खण्डमा हामी सहयोग दिन्छौँ भन्न खोजेको हो ।'
फेरि पत्रकारले जवाहरलाल नेहरूसँग प्रश्न गरे, 'तपाइर्ंले भनेका कुरामा नेपालका प्रधानमन्त्रीलेे त आफ्नो असहमति व्यक्त गरे नि ? अनि, नेहरूजीले भन्नुभयो, 'उनले भनेकै आशय ठीक हो । मैले भनेको कुरो बिपीकै व्याख्याको भाव हो ।' उहाँले संसदमा फेरि भन्नुभयो । अनि मोहनशमशेरसँग भएको सम्झौताको पत्र पहिलोचोटि बाहिर ल्याइयो । अहिले विशेष सम्बन्ध र समदुरी भन्ने कुरा त्यसैको दुरीमा भनिँदै छ र यी कुरा हाम्रो राष्ट्रको अहितमा हुन्छन् ।
नेपालको प्रधानमन्त्री हिन्दुस्तान आएका बखत पारेर इन्दिरा गान्धीले भनेकी थिइन्, 'नेपालले सुरक्षाको सुनिश्चितताका लागि भारतलाई आधार बनाउनु हँुदैन । हामी नेपाललाई जिम्मेवार मित्रको हदसम्म मात्र सहयोग गर्न सक्छौँ ।'
भारतीय पक्षको तत्कालीन भनाइ थियो, 'उनीहरूले नेपाललाई दिने सामान अन्तर्राष्ट्रिय मूल्य नीतिअनुसार दिनेछन् । र, नेपालले विदेशी मुद्रामा त्यसको भुक्तानी गर्नुपर्छ । भारत स्वयंले ती वस्तु डलरमा किन्ने गरेको छ ।' भारतीय पक्षको यस्तो कथन आएपछि नेपाल हच्कियो । यसबाट राजाको हिन्दुस्तानसँगको विश्वास पूर्ण रूपमा सिद्धियो । यसबाट चीनको दृष्टिकोणमा पनि परिवर्तन आयो । किनभने चीनका लागि राजाको उपयोगिता सिद्धियो । अन्तर्राष्ट्रिय स्तरमा राजाको यस्तो भूमिका छ, देशभित्रको स्थिति भिन्नै छ । महाराजधिराजको राजनीतिक प्रभाव घट्दै छ । राजाले थोपरेको व्यवस्था दिनदिनै अस्थिर हुँदै छ । गाउँ र्फकको हातमा राजनीतिक जिम्मा दिइँदै छ । तर, जनताको कुनै पनि वर्ग यसमा सन्तुष्ट छैन । अब यस्तो वेलामा म स्वदेश जाँदै छु । यसलाई आत्मसमर्पण गरेर गएको भन्न सकिँदैन । राजनीतिक विश्लेषणको आधारमा एउटा जोखिम लिएर म देशभित्र जाँदै छु ।
(राष्ट्रिय एकता र मेलमिलापको नीति अवलम्बन गरी
०३३ पुस १६ मा स्वदेश र्फकेको केही दिन पहिले भारतको दरभंगामा जननायक बिपी कोइरालाले
व्यक्त गरेको विचारको अंश यो लेख बिपी कोइरालाको "अदालतको बयान" नामक पुस्तकबाट
साभार गरिएको हो ।)


No comments:
Post a Comment