Monday, 6 January 2014

वीपी कोइरालासंग पत्रकार भोला चटर्जीले लिएको अन्तरवार्ता

January 6, 2014
वीपी कोइरालासंग


मान्छे मरेर जान्छन् तर केही व्यक्तिहरू मरे पनि उनीहरूका विचारहरूले देश, समाज तथा जनतालाई सदियौंसम्म विशेष शन्देश छोडेर जाने गर्छ। बीसौँ शताब्दिका ती महानतम नेपालीले आफ्नो अन्त्यकाल आएको थाहा पाउनु भन्दा केही दिनअघि आफ्ना साथी भोला चटर्जीलाई आफ्नो मनको कुरा भन्नु भएको थियो- जो यहाँ प्रस्तुत छ।
बीपी कोइराला
·       तपाईँको प्रजातान्त्रिक समाजवाद प्रतिको वचनवद्धता एक ऐतिहासिक तथ्य हो। सन् १९३०को दशकका प्रारम्भदेखि नै तपाईँ समाजवादी रहिआउनु भएको छ। तपाईँको प्रजातान्त्रिक समाजवादको वास्तविक धारणा के हो? एउटा सैद्धान्तिक आन्दोलनका रूपमा प्रजातान्त्रिक समाजवादको वास्तविक धारणा के हो? एउटा सैद्धान्तिक आन्दोलनको रूपमा प्रजातान्त्रिक समाजवादको नेपालमा कुनै भविष्य छ जस्तो तपाईँलाई लाग्छ?
सन् १९८१को फरवरी (फागुन)मा मैले अष्ट्रेलियाको राजधानी सिड्नीमा एउटा भाषण दिएको थिएँ। त्यसमा मैले हाम्रो सङ्घर्षको अनुभव संक्षेपमा बताएँ र संसारका समाजवादीहरूले त्यसबाट के पाठ सिक्न सक्छन् भन्‍ने कुरा गरेँ। एशियाली तथा प्रशान्त क्षेत्रको समाजवादी सङ्घको सिड्नी सम्मेलनमा मैले बनाएका पाँचवटा बूँदा प्रस्तुत गरेँ। पहिलो बूँदा प्रजातन्त्रका बारेमा छ, किनभने जनताको स्वार्थ निहीत भएका उचित राजनीतिक संस्थाहरू विना आर्थिक विकास पनि संभव छैन।
राजा महेन्द्रबाट ०१७ साल ल्याउनुको पछाडि एउटै तर्क दिइएको थियो कि आर्थिक विकासलाई राजनीतिबाट अलग्याउन सकिन्छ र विकासको गतिलाई तानाशाही व्यवस्था अन्तर्गत छिटो दौडाउन सकिन्छ। तर त्यो भएन। किनभने वास्तवमा भन्ने हो भने राजाको प्रत्यक्ष शासनले देशको आर्थिक अवस्थालाई पुरा नष्ट हुने विन्दुमा ल्याइपुर्‍यायो। २०१७ साल पछि देश झन् गरीव भएको छ। हाम्रा अनुभवमा (अर्थात् तेश्रो विश्वको) सन्दर्भमा विकास भन्नुको अर्थ जनतालाई विकासको काममा अभिप्रेरित गर्नु हो। उनीहरूलाई विकासका हरेक तहमा सामेल गर्नुपर्छ विकासको निर्णय गर्ने तहदेखि लिएर त्यो निर्णयको कार्यान्वयन गर्ने तहसम्म उनैलाई सामेल गर्नु पर्छ। यो एउटा राजनीतिक काम हो। तानाशाही शासनले एउटा प्रजातान्त्रिक महल खडा गर्न सक्छ जससित जनताको कुनै सम्बन्ध छैन। त्यसो हुनाले एउटा समाजवादी मानिसले प्रजातान्त्रिक संस्थाहरूको विकासमा समेत सरोकार राख्‍नु पर्छ।
दोश्रो बुँदा विदेशी सहायताका बारेमा छ। यस बारे हाम्रो के विचार छ भने हामीहरूको जस्तो अवस्थामा विदेशी सहायताले विकासको प्रक्रियालाई मद्दत गर्नुको सट्टा एउटा वर्ग सिर्जना मात्र गर्छ जसको सम्पन्नताले देशको आर्थिक अवस्थासित कुनै सम्बन्ध छैन। त्यो सम्पन्नता केवल बिदेशी सहायतालाई आफ्नो खल्तीमा हाल्ने, भ्रष्टाचार गर्ने या अवैध व्यापार गर्ने जस्ता कुरामा आधारित छ।
तेश्रो बूँदा, हामीहरूको जस्तो गरीव देशको विकासका लागि पश्चिमका विकसित समाजहरूले देखाएको नमूना उचित छैन भन्ने। विकासको त्यो नमूना अगाडि राखेर हामीले काम गर्नका लागि अत्यन्त ढिलो भइसक्यो। त्यस्तो उच्च स्तरको प्रविधि आयात गरेर हामीलाई हुँदैन। हामीलाई ठीक हुने प्रविधि त हाल हामीले प्रयोग गरिरहेको भन्दा केही उत्कृष्ट प्रबिधि मात्र हो। हामीलाई उच्च स्तरको प्रविधि आयात गरेर हामीलाई हुँदैन। हामीलाई ठीक हुने प्रविधि त हाल हामीले प्रयोग गरिरहेको भन्दा केही उत्कृष्ट प्रविधि मात्र हो। हामीलाई त्यस्तो प्रविधि चाहिएको छ जसलाई हाम्रा आफ्नै मानिसले सञ्चालन गर्न सकून्। हामीले विकासको पश्चिमी ढाँचा अनुकरण गर्दाखेरि खास धनी झन् झन् धनी र गरीब झन् झन् गरीब हुँदै गइरहेका छन्। त्यो सम्पन्न वर्गको जरा (आधार) यो देशमा छैन, त्यो वर्गलाई यो देशको आर्थिक पुनरूत्थानमा खास रूचि पनि छैन।
चौथो बूँदा के हो भने समाजवादीका लागि संसारमा सर्वत्र चलिरहेको प्रजातान्त्रिक आन्दोलनका प्रति उदासीन रहनु भन्दा बढी खराब काम अरू कुनै हुनै सक्तैन। प्रजातन्त्र भन्नाले मेरो तात्पर्य उदार प्रजातन्त्र पट्टी छ। यो कुरामा विशेष जोड दिएर भन्न चाहन्छु किनभने कहिले काहिँ समाजवादीहरू आर्थिक विकासलाई पहिलो प्राथमिकता दिएर यो बूँदालाई दोश्रो प्राथमिकता दिने गर्छन्।
पाँचौ बूँदा के हो भने समाजवाद भविष्यको लहर हो भन्ने हामीलाई लाग्छ। समाजवाद तेश्रो विश्वका देशहरू या त फासिष्ट सैनिक तानाशाहीतिर जान्छन्, या कुनै सुधारविरोधी प्रतिक्रियावादी तानाशाहीतिर। त्यसकारण हामी तेश्रो विश्वका समाजवादीहरूका अघिल्तिर एउटा ठूलो चुनौति छ। आज समाजवादको आकर्षणको केन्द्रविन्दु यूरोपबाट हटेर तेश्रो विश्वमा पुगेको छ जहाँ समाजवाद जीवनको एउटा प्रेरणादायी आदर्श र विकासको नमूनाका रूपमा सान्दर्भिक बनेको छ। यदि नेपालो कुनै भविष्य छ भने, बाँच्ने एउटै उपाय त्यही हो। समाजवादका मुख्य एउटा पोया छन् (१) राजनीतिक स्तरमा प्रजातन्त्र र (२) आर्थिक क्षेत्रमा गरीब जनतालाई न्याय दिने खालको विकास। यी दुई पक्ष विना गरीबी उन्मूलन गर्छ भन्नु र राजनीतिक स्वतन्त्रता ल्याउँछु भन्नु असम्भव कथा हाल्नु बराबर हो। यो केवल आदर्शको प्रश्न अथवा जीवनका उत्कृष्ट मूल्यमा विश्वास राख्ने प्रश्न मात्र होइन, यो जीवनमरणको प्रश्न हो।
·       तपाईँ नेपालमा कस्तो किसिमको आर्थिक व्यवस्था चाहनुहुन्छ? र नेपाले आफ्नो विकास कसरी गर्न सक्छ भन्ने ठान्नु हुन्छ?
म यस सम्बन्धी मेरो विचार तपाईँलाई भनौँला। मेरो विचार उति स्पष्टसँग परिभाषित छैन। तर म त्यसतर्फ केही उज्यालो देख्छु। म त्यही उज्यालोतिर छाम-छुम गर्दै अघि बढ्दै छु।
·       यस बारेमा अलि केही भन्नु सक्नु हुन्थ्यो कि?
म प्रधानमन्त्री छँदा एकपालि म योजना आयोगको अफिसमा गएँ। योजनाबिद्हरू बसिरहेको कोठाको भित्तामा राजाको एउटा तस्वीर टाँगिएको थियो। उनीहरूलाई मैले सम्बोधन गर्नु थियो तर मलाई ती योजनाबिद्हरूलाई के भनौँ भने जस्तो भइरहेको थियो।
·       ती सबै आर्थिक विशेषज्ञ थिए कि?
अँ तिनीहरू मध्ये केही हार्वाड र केम्ब्रिज विश्वविद्यालयका उत्पादन पनि थिए। उनिहरूलाई मैले भने- यहाँ राजाको तस्वीर टाँगिएको छ, त्यो एकदम ठीक कुरा भएको छ। तर त्यहाँ एउटा अर्को पनि तस्वीर हुनुपर्छ- एउटा हलो जोतिरहेको किसानको तस्विर। उनीहरूलाई मैले यो पनि भनेँ- तपाईँहरूले जहिले पनि विकासको योजना बनाउँदा त्यो झुपडीमा बस्ने किसानलाई सम्झनुहोस्। र तपाईँहरूले यहाँ बसेर बनाएको योजनाले राजालाई होइन, कि त्यो किसानलाई के फाइदा दिन सक्छ भनेर आफैसित प्रश्न गर्नौँस। यो मेरो मौलिक विचार होइन, महात्मा गान्धीको विचार हो। म कुनै आर्थिक विशेषज्ञ होइन तर जुन विकासले ग्रामीण जनतालाइ पछाडि छोडिदिन्छ त्यो विकास विकास नै होइन। मेरो विचारमा शहरको सुविद्या मात्र हेर्ने र गाउँको बेवास्ता गर्ने विकास विकास हुँदै होइन। किनभने नेपाल गाउँ नै गाउँ बनेको देश हो। नेपालको गरीबी भन्नु गाउँमै छ। गाउँ र गाँउलेहरूको अवस्था बारे तपाईँलाइ केही थाहा छैन भने गरीबीको समस्या बुझ्ने पट्टि पहिलो पाइला सार्न पनि सक्नुहुन्न। बडो उत्कृष्ट एवं जटिल प्रविधि भएका विकसित देशहरूबाट विकासको धारणा आयात गर्नु नै हाम्रा योजनाविद्हरूको गल्ती हो। विकसित देशहरूमा ठूलो शहरीकरण भएको छ, उनीहरू कहाँ गाउँ पनि शहर जस्तै छन्। उनीहरूको कृषिमा पनि बडो उच्च स्तरीय प्रविधिको प्रयोग भइरहेछ। नेपाली योजनाकारहरूलाई विकासको नमूना यिनै देशहरूले प्रदान गर्छन्। यदि योजनाकारहरूको बुद्धिमा उचित किसिमको प्रक्रियाको शुरूवात पनि गर्न सक्ने छैनौँ- त्यहीँबाट नै हाम्रा बाटो छुट्टिन्छ। म योजनाकारहरूलाई गाउँ र गाउँलेहरूले प्रयोग गरिरहेको प्रविधिमा केही मात्र सुधार गरिएको प्रविधि प्रयोग गर्न अनुरोध गर्छु। जस्तो की साधारण हलोको ठाउँमा विकासको हलो प्रयोग गर्ने, तर ट्रयाक्टर प्रयोग गर्ने होइन। ठूल्ठूला मेशीन, बुल्डोजर, जेट इन्जिनहरूको प्रयोग गर्ने होइन। विदेशबाट आयात गरिएका गाडीहरूमा विदेशबाटै आयात गरेको तेल हालेर विदेशमै तालीम पाएका प्राविधिकहरूद्वारा ठूल-ठूला सडकमा दौडाउन किन पर्यो र? निर्माणकै काममा पनि सिमेन्ट या फलामका छडको प्रयोग नगरेर विदेशी निर्भरता घटाउन सकिन्छ। योजनाकारहरूले कृषि उत्पादनमा बृद्धि गर्ने कुरामा र कृषिजन्य उधोगहरूको विकासमा पूरा जोड दिनु पर्छ।
तपाईँलाई थाहा छ दुई बर्ष अघि घाँटिको बेथा लागेर बम्बईको जसलोक अस्पतालमा भर्ना हुन पर्यो। त्यहाँका डाक्टरहरूसित म जनताका स्वास्थको समस्याबारे छलफल गर्थेँ। कुनै कुनै डाक्टरहरू जनताको सेवा गर्ने भावनाले ओतप्रोत भएका थिए। उनीहरूलाई मैले सोधेँ- ‘म सरकारमा भएको भए जनताको स्वास्थ्यको अवस्थामा सुधार ल्याउन के गर्नु पर्ला?’ उनीहरूको रक्षा हुन सक्नेछ। विदेशमा तालीम प्राप्त डक्टरहरूले भरिएको जसलोक अस्पताल जस्ता अस्पताल पनि चाहिँदैनन्। पानीबाट आफ्नो समस्याको समाधान थाल्नोस, कुनै कठिनाई हुने छैन। त्यसकारण मेरो सुझाव के छ भने पहिला हामीले ग्रामीण जनतालाई सफा र सुरक्षित पानी पिउने व्यवस्था मिलाई दिनु पर्छ। उनीहरूलाई आफ्नो गाउँ सफा राख्‍ने प्रेरणा दिने हो, महँगो अस्पताल बनाइदिने हैन। त्यस्को खर्च बेहोर्न हाम्रा गरीब जनता कदापि सक्तैनौँ। तर स्वास्थको मुख्य-मुख्य आवश्यकता पूरा गर्न हामी सक्छौँ। मैले भन्न खोजेको कुरा के हो भने विकसित देशको चकाचौँध देखेर हामी नबहकिऔ र विकासको प्रश्नमा भावुक नहौऔँ। विकासको काममा पहिला हामी गाउँको माटोले आफ्ना हात मैल्याऔँ जुन माटोले नेपाल बनेको छ। भोलाजी तपाईँ यसलाई ग्रामीण सभ्यता या ग्रामीण संस्कृतिको रूपमा परिणत हुने कुरो भनेर मान्न सक्नु हुन्छ।
·       निश्चय, तपाईँले भनेका कुरा सुन्दा मलाईँ पोल पोटको प्राथमिक साम्यवादको सम्झना भयो।
अहँ होइन। पोल पोटको जस्तो होइन। पोल पोटले जबर्जस्ती गर्छन्। साँच्चै भनुँ भने पोल पोटले शहरका जनतालाई शहरबाट बलजफ्ती निकालिदिए र गाउँतिर लघारे। नोम पेह्ग र अरू धेरै शहरबाट बलजफ्ती निकालिदिए र गाउँतिर लघारे। नोम पेह्ग र अरू धेरै शहरबाट मानिस निकालिदिए। त्यो त भयङ्कर अप्रजातान्त्रिक कुरो हो।
·       मैले तपाईँको कुरा बुझेँ। तपाई प्रजातन्त्रमा जोड दिन चाहनुहुन्छ। अर्थात् तपाईँ जे पनि प्रजातान्त्रिक तरीकाले गर्न चाहनु हुन्छ जुन कि जनताको स्वीकृति लिएर मात्र गरिन्छ। र सबैभन्दा महत्वपूर्ण कुरो त्यही हो। होइन?
हो। विकासको जुन नमूना अमेरिकाले देखाएको छ त्यसलाई मैले हेनरी फोर्डको नमूना भन्ने गरेको छु। यो नमूनालाई रूसले समेत ग्रहण गरेको छ। लेनिनले सत्ता लिँदा उनको विकास-नमूना त्यही थियो। उनी सँधै भन्थे कि रूसले १०/१२ वर्षमा अमेरिकालाई भेट्टाउने छ। अचेत पनि रूसीहरू आफ्नो विकासलाई अमेरिकाकै विकाससित दाँजेर हेर्छन्। उनीहरूको विकास-नमूना अमेरिकाले दिएको हो, र त्यो नमूना अमेरीकालाई हेनरी फोर्डले दिएक थिए। अब हेर्नोस्, अमेरिकाको जनसंख्या संसारको प्राकृतिक स्रोत र प्रसाधनको ३०-३५ प्रतिशत भाग उपभोग गरेका छन्। त्यही नमूनाको पछि लागेर उसै किसिमले भोग गर्न थाल्ने हो भने भारत र चीनका जनतालाइ मात्रै पनि संसारको साधनले पुग्दैन। भारत र चीनको जनसंख्या संसारको पूरा जनसंख्याको ६० प्रतिशत होला। त्यसकारण विकासको यो नमूना आफ्नै तर्कद्वारा अव्यावहारिक र अप्रासङ्गिक सिद्ध भएको छ। मलाई अमेरिकाको कोलम्बिया विश्व विद्यालयमा भाषण दिन बोलाएका थिए र मैले यो कुरो अमेरिकीहरूलाई सुनाउँदा उनीहरू झसङ्ग भए। हाम्रा किसानहरू अथवा हरियाना र पंजावका किसानहरू अमेरिकी किसानहरू भन्दा सक्षम र उत्पादनशील छन् भनेर मैले भनेँ। वास्तवमा सक्षम हुने भनेको के हो? लगानी र उत्पादनको सुसम्बन्ध हुनु पर्छ। अमेरिकीहरूलाई मैले भनेँ- तपाईँका किसानहरू खेतमा भयङ्कर खर्च गरेर महंगो मल हाल्छन् तर प्रति एकाइ अन्न उत्पादन भने हरियाना वा पंजावमा बढि हुन्छ, तर त्यसको लगानी भने अमेरिकामा भन्दा कमै हुन्छ। नेपाली किसानले पनि आफ्नो सीमित सामग्रीको उपयोग गरेर तपाईँका किसानहरूले भन्दा बढी अन्न उत्पादन गर्न सक्छन्। तपाईँहरूका वैज्ञानिकहरू र तेस्रो विश्वका वैज्ञानिकहरू एउटै स्तरमा छन्। सौरशक्तिको प्रयोग गर्न ठूलो सफलता हासिल भएका खण्डमा अमेरिका भन्दा भारत बढी सम्पन्न हुन सक्छ। किनभने अमेरिकामा भन्दा भारतमा सौरशक्ति बढी उपलब्ध हुन सक्छ।
·       तपाईँ द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्नु हुन्छ? अर्थात् इतिहासको भौतिकवादी विश्लेषणसित तपाईँ सहमत हुनुहुन्छ?
तपाईँको दोस्रो प्रश्नको पहिले उत्तर दिन्छु र भन्छु-अहँ। सारांशमा म त्यसलाई अस्वीकार गर्छु यद्यपि त्यसमा कत्ति पनि सत्यता छैन भनेर म भन्दिन। मानिस बहुआयामिक प्राणी हो। मार्क्सले के गल्ती गरे भने मानिसलाई उनले एक आर्थिक प्राणीको रूपमा सृष्टि गरे जो आफ्नो आर्थिक जीवनसित मात्र सरोकार राख्छ। त्यसमा सत्यता छैन भनेर म भन्दिन, तर मानिसको त्यो एउटा अपूर्ण चित्र हो। मानिस आर्थिक प्राणी हो र त्यो भन्दा बढी पनि केही हो। के कुरो बढी छ उसमा? तपाईँ भन्नुहोला मानिस ईश्वरको सृष्टि हो। हो मलाई लाग्छ त्यो भन्दा पनि बढी केही हो। मानिसका अनेकौँ आयाम छन्। अर्को कुरो मानिस केवल भोजनको लोभले मात्र अभिप्रेरित भइरहँदैन। पेट मात्रै उसका सारा क्रियाकलापहरूको प्रेरक हैन। पेटभरि खान मात्रै पाइनछ् भन्ने नाराले आजसम्म कुनै आन्दोलन भएको छैन। सन् १९१७मा रूसमा जुन समाजवादी क्रान्ति भयो-समानताका लागि। मानिस केही मात्रामा इतिहासको उत्पादन हो भने केही मात्रामा इतिहास बाहिरका तत्त्वहरूको पनि उत्पादन हो। मानिस आएपछि नै बन्न थाल्यो। जहाँसम्म मानिसको सरोकार छ, समय भन्ने कुरा पनि मानिस संसारमा आएपछि बनाइएको हो।
·       तपाईँ ऐतिहासिक निर्णयवादमा विश्वास गर्नु हुँदैन, हो? अर्थात सबै कुरा ऐतिहासिक नियतिले पूर्वनिर्धारण गरेको हुन्छ भन्ने कुरो मान्नु हुन्न?
ऐतिहासिक नियतिमा विश्वास गर्ने हो भने अर्थात् सबै कुरो इतिहासले निर्धारण गरे बमोजिम नै हुने हो भने हाम्रा सारा प्रयत्नहरू एउटा निरर्थक अभ्यास मात्र हुन जान्छन्। यो एउटा बडो चाखलाग्दो कुरो छ। मार्क्सको दर्शन अनुसार मानिसको मत स्वतन्त्र छैन, पूर्वनिर्धारित छ। अर्थात् मानिस जुन सामाजिक वर्गको सदस्य हुन जान्छ। त्यसै वमोजिम उसको मनस्थिति निर्धारित हुन्छ भने उनको राय छ। तर यो बिडम्बना हो कि मार्क्स उस बेलामा सबैभन्दा ठूला पर्चाबाज थिए। यदि मानिसको मन स्वतन्त्र हुँदैन, अथवा वदलिन सक्दैन, या भनौँ पूर्वनिर्धारित हुन्छ भने, उनले कसको मन बदल्नलाई पर्चा लेखेका थिए त?
·       तपाईँ नास्तिक हुनुहुन्छ कि?
सबभन्दा पहिले इश्वर भन्नाले मानिसको तात्पर्य के हो बन्ने बारे कुने परिभाषा दिइएको छैन। तर जुन अवस्थामा मानिस भावनाको समुद्रले भरिएर,ब्रम्हाण्डको व्यापकता देखेर अथवा सको सौन्दर्य देखेर, फूलहरू देखेर कविता लेख्न थाल्दछ, अस्तित्वको त्यही भाग नै इश्वरको अनुभूति हो, देवत्वको अनुभूति हो। मानिसलाई खान पाएर मात्रै पुग्दैन। जीवनका अरू पक्षहरू छन् जो महत्वपूर्ण छन् , शायद बढी महत्वपूर्ण। ती पक्षहरू व्याख्यान हुन नसकेका जीवनका रहस्यहरू हुन्। ती रहस्यहरूको तपाईँलाई अनुभव भएको छैन भने या तिनबाट चकित हुनु भएको छैन भने तपाईँलाई अनुभव भएको छैन भने तपाईँको जीवन पूर्ण सार्थक रूपमा बाँच्नु भएन। म प्रधान मन्त्री छँदा रविशङ्कर काठमाडौं आएका थिए र एउटा कार्यक्रमको आयोजना भएको थियो। मलाई भयङ्कर थकाइ लागेको थियो तैपनि कार्यक्रममा उपस्थिति नहुनु अशिष्टता हुनेछ भनेर त्यहाँ शामेल हुन गएँ। म त्यो तीन या चार घण्टा लामो कार्यक्रम भरी नै बसिरहेँ। कार्यक्रम सिद्धिए पछि रविशङ्करलाई गएर मैल भने-’ यो मेरो ईश्वरसितको निकटतम अनुभूति थियो।’ उनले सितार बजाएको सुन्दा मैले ईश्वरको नगीचै पुगेको अनुभब गरे। कहिले काँही सारै राम्रो चित्रकला देख्ता या रविशङ्करको जस्तो संगीत सुन्दा यस्तो अनुभव हुन्छ।
·       विहान सबेरै उठेर बाहिर निस्केर, प्रकृतिको (फूलहरू, रूखहरू र नीलो आकाशको) अवलोकन गर्दा तपाईँ कस्तो अनुभव गर्नु हुन्छ? यस्ता क्षणहरूमा कहिलेकाहीँ व्याख्या गर्न नसकिने अचिन्त्य वस्तुसित आफ्नो आत्माको विचलन भएको अनुभव गर्नु भएको छ?
छु। त्यस्तो अनुभव मलाई धेरै धेरै पल्ट भएको छ। कहिलेकाहीँ कस्तो हुन्छ भने म समष्टिको एउटा अंग बन्न जान्छु। सारा चराचर सृष्टिमा जीवन छ जस्तो मलाईँ अनुभव हुन्छ, सारा ब्रम्हाण्डमा जीवनको स्पन्दन भएको र म त्यसै भित्रको एउटा अंग भएको अनुभव हुन्छ।
·       यस्तो क्षणमा सारा ब्रह्माण्ड र त्यसभित्रका चराचर तथा अन्य वस्तुहरूलाई मानिसले बनाएको होइन र मानिस भन्दा पर अरू केही छ भन्ने अनुभव गर्नु हुन्छ?
अहँ, त्यस किसिमको दर्शनशास्त्र होइन। म के अनुभव गर्छु भने म हरेक वस्तुको एक अंश हुँ, तर म दर्शनशास्त्रसम्म जान्न। अथवा विचारजगतमा बढी रूमलिन पनि जान्न।
·       त्यसो भए म तपाईँलाई नास्तिकतावादी भनौँ कि अध्यात्मवादी?
तपाईँ मलाईँ एक प्रकारको अध्यात्मवादी भन्न सक्नुहुन्छ। मलाई लाग्छ, प्रकृतिमा कैयौँ त्यस्ता तत्त्वहरू छन् जसको वैज्ञानिक व्याख्या या विश्लेषण हुन सक्तैन। समष्टिमा यसको अध्ययन गर्न सकिएला तर व्यक्ति व्यक्तिमा बुझ्न नसकिने हुनसक्छ। मनलाई विचारको आकार (संरचना) सित ढाल्ने वित्तिकै सत्यको अनुभूति उम्किन्छ। केवल आफ्नो तर्कशक्तिमा मात्र भर पर्ने हो भने मानिसले गर्ने ज्ञान अपर्याप्त हुनजान्छ।
·       तपाईँलाई कहिलेकाहीं राजनीतिदेखि वाक्क लागेर आयो कि? आफ्नो अधिकांश जिन्दगी अनवरत रूपमा घुमिरहेको संघर्ष, मुद्दा, जेल, अभियोग, देश निकाला इत्यादिको चक्रमा बारम्बार फंसिरह्यो भन्ने विचार कहिल्यै मनमा आयो कि? अथवा राजनीति छोडेका भए पनि हुने थियो भन्ने खालको पश्चाताप मनमा आयो कि? अथवा राजनीति छोडेका भए पनि हुने थियो भने खालको पश्चाताप मनमा आयो कि? तपाईँलाई थाहै छ, तपाईँले भने जस्तो दु:ख, संकट झेल्न नसकेको भए, म आज जे छु त्यो हुने थिइन।
·       तर तपाईँको जीवन भन्नु त तिनै संकट, जेल, यातना, मुद्दा, अभियोग इत्यादिकै कहानी हैन र?
मैले बुझेको जीवन नै त्यही किसिमको हो। अरू किसिमको जीवनलाई मैले बुझेको छैन। मानिसले अरू जुन किसिमको जीवनयापन गर्छन् त्यसमा मलाई कुनै आकर्षण हुँदैन। त्यस्तो खालको जीवनयापन गर्नु परेको भए म दिक्क हुने थिएँ शायद त्यसै दिक्दारीबाट मर्ने पनि थिएँ। मलाई अर्को नयाँ जीवन दिइयो भने पनि मेरो यो जिन्दगी जस्तो भयो, त्यो भन्दा फरक खालको जिवन हुने छैन। तपाईँको प्रश्नका दुइटा पक्ष छन् जस्तो मलाई लाग्यो। एक पक्ष त के हो भने एक राजनीतिज्ञका हैसियतले म सफल हुन चाहन्थे हैन? मैले जुन किसिमको समाज निर्माण गर्न खोजेको थिएँ र म जुन कुरा सफल भएको भएको भए त्यसको असर मलाई भन्दा अरूलाऐ बढी पर्ने थियो, त्यसमा सफलता नभएकोमा मलाई चिन्ता हुन्छ। तर जहाँसम्म मेरो व्यक्तिगत कुरा छ, मलाई सफलता या असफलता या असफलताको कुनै महत्त्व छैन। आफूले चाहेको काममा आफ्नो सम्पूर्ण क्षमताको प्रयोग गरियो र आफुले सक्ने जति सम्पूर्ण कुराको बाजी लगाइयो भन्ने कुरा आफ्नो अन्तरात्माले इमान्दारीसाथ मान्नसक्छ भने, त्यसले मानिसलाई सन्तोष दिन्छ। मलाई अनुभव भएको कुरा पनि यही हो। साधारणतया मानिसले सफलता भनेर जे कुरालाई भन्छन् त्यस अर्थमा म सफल भइन। तर जब म मानिसहरूले सस्तो सफलता प्राप्त गरेको देख्छु, त्यसबाट उनीहरूले आत्मिक सन्तोष प्राप्त गरे होलान् जस्तो मलाई लाग्दैन। असफल नै भए पनि सत्कार्यका लागि प्रयत्न गरिरहँद एक प्रकारको आत्मिक आनन्द हुन्छ मलाई यही नै भयो भन्ने लाग्छ।
·       तपाईँलाई २०१८ सालमा जेलबाट छुटाउनका लागि नेहरूले के योजना बनाउनु भएको थियो त्यसको मलाई अलि विस्तृत ज्ञान गराइदिनु हुन्छ कि?
भोलाजी, यो अति संवेदनशील प्रश्न हो, जसमा मेरो पक्षको वाहेक भारत सरकारको समेत संलग्नता छ। म त्यो ऐले छापियोस् भन्ने चाहन्न।
·       ठिक छ, तपाईँले स्वीकृति नदिइकन म त्यो छाप्ने छैन भनी प्रतिज्ञा गर्छु। त्यसो भए त हुन्छ कि?
हुन्छ। २०१८ सालमा हाम्रा जुन साथीहरू भारतमा बसेर सरकारको विरोध गरिरहेका थिए उनीहरूको के सोचाई थियो भने म पनि उनीहरूका साथ भएँ भने हाम्रो संघर्ष ज्यादा प्रभावकारी हुने थियो। त्यसकारण उनीहरूले मलाई जेलबाट छुटाउन चाहे। तर त्यसबारे मलाई केही ज्ञान थिएन, किनभने मलाई जेलमा कसैसित देख, भेट गर्न या बोलचाल गर्न दिइएको थिएन। त्यसपछि राजनीतिक बन्दीहरूलाई दिइने सामान्य सुविद्या दिइनु पर्छ भनेर मैले अनशन गरेँ जुन सुविद्या मध्ये एउटा सुविधा आफ्ना नातेदार र साथीभाईलाई भेट्न पाउनु पर्छ भन्ने पनि थियो। अन्ततोगत्वा यो सुविद्या दिइयो। मेरी एउटी नातेदार मलाई भेट्न आइन्। तिनले मलाई तीन चार पल्ट भेटिन्। पहिलो पालि उनी मेरा निम्ति जवाहारलाल नेहरूसित छलफल गर्न गएकी रहिछन्। लुमुम्बा मारिएपछि म पनि उसै गरी मारिन्छु कि भनेर उनी डराएकी रहिछन्। जवाहरलालजीले भन्नु भएछ कि नेपाली शासकहरू कङ्गोका शासकहरू जस्ता जंगली छैनन्। त्यसपछि उनी मलाई भेट्न आइन् र उनले मेरो साथीहरूलाई कलकत्तामा भेटेको र जवाहारलालजीलाई समेत भेटेको कुरा गरिन्। उनीहरू मलाई जेलबाट उम्काउन चाहन्छन् भनिन्। एक थरी हाम्रा मानिसहरू सैनिक पोशाक लगाएर आउनेछन् र तिनीहरूले मलाई पनि सैनिक पोशाक लगाउन लाउने छन्, त्यसको विरोध मैले गर्न हुँदैन, बरू उनीहरूले भने बमोजिम गर्नु पर्छ भनी मलाई सिकाउन उनी आएकी रहिछन्। मैले भने ‘ यसमा भारतबाट ग्यारण्टी नलिइकन म कसरी सुरक्षित रहने, किनभने जेलबाट उम्के पनि भागेर भारत नगई नहुने हुन्छ’ भनी मैले सोधेँ। उनले यस बारेमा जवाहरलालजीलाई भेटेकी रहिछन्। वास्तवमा जवाहरलालजीले नै उनलाई पठाउनु भएको रहेछ। त्यसपछि उनी गइन्। एक महिना जति पछि उनी फेरी मलाई भेट्न र भनिन् कि योजनामा जोखिम छ। किनभने यसरी उम्काउने कामको दौरानमा कतै गोली हानाहान जस्तो भयो भने मलाई गोली लाग्न सक्थ्यो।
जवाहरलालजीलाई पनि मनमा लागेछ कि यस्तो जोखिम उठाउनु ठीक छैन जसमा मेरो जीवन जाने सम्भावना छ। त्यसकारण यो विचार छोडिदिइयो- यो कुरो २०१८ सालको मंसिर-पुषतिर भएको हो।
·       तपाईँलाई मैले २००६ सालतिरदेखि चिनेको हुँ। त्यसै बेलादेखि नै मैले देखेको छु कि तपाई र तपाईँकी श्रीमतिका बीचको सम्बन्ध यसो बाहिरिया किसिमले हेर्दा बडो प्रेमपूर्ण र समझदारीपूर्ण छ। तर मलाई निर्धक्क भएर बताइदिनोस् के तपाईँले आफ्नी श्रीमतीलाई आजीवन प्रेम गरिरहनु भयो? उहाँ प्रति सदैव बफादार रहनु भयो?
तपाईँ मलाई यसरी सोध्नु हुन्छ भने म भन्छु कि मैले उनलाई विवाह गरेको दिन उनी मेरा लागि जति नयाँ थिइन्, आज पनि त्यतिकै नयाँ छन्। किनभने विवाह गरेपछि जीवनको धेरै जसो समय म उनबाट टाढै रहेँ-म अनेकौँ पल्ट जेलमा परेँ, अनेक यात्रा र भ्रमणमा निस्केँ, या देशनिकाला भएर रहेँ। उनीसंग पर्याप्त मात्रामा सँगै बस्ने अवसर मलाई भएन। त्यसकारण मलाई उनका प्रति उही पुरानै आकर्षण छ। उनी मेरो ठूलो सम्पत्तिका रूपमा रहिन्। उनमा एउटा आध्यात्मिक गुण छ जसले मलाई भरोसा दिन्छ। वास्तवमा उनले मैले भन्दा बढी दु:ख पाएकी छन्। बाहिरिया किसिमले हेर्दा मात्र तपाईँ यो कुराको मर्म बुझ्नुहुन्न होला। जव म २०१७ साल पौष १ गते पक्डिएँ, मलाइ कहाँ थुनेर राखेको छ भन्ने कसैलाई थाहा थिएन। म जीवितै छु कि मरिइसकेँ भन्नेसम्म पनि कसैलाई थाहा थिएन। एक डेढ वर्षपछि जब जेलमा मलाई भेट्न उनी आइन् मैले उनको कपाल फुल्दै गइरेहेको देखेँ। र तीन वर्ष भित्रमा त उनी पूरै फुलिन् अनुहारमा चाउरी पर्यो। उनी एक साहसी नारी हुन्। बफादारीको जहाँसम्म प्रश्न छ, त्यस्तो बफादारी भनेको के हो मलाई थाहा छैन। यदि तपाईँको प्रश्न पनि प्रचलित प्रश्न नै हो, या मेरो अरू कुनै नारीसंग पनि प्रेम सम्बन्ध थियो कि भन्ने हो भने, आफ्नी पत्नी वाहेक अरू कसैसित कुनै प्रेम सम्बन्ध नभएका मानिसहरू ज्यादै कम हुँदा रहेछन् भन्ने मेरो अनुभव छ। त्यस दृष्टिले म एक साधारण व्यक्ति हुँ र मेरो अरूहरूसंग प्रेम सम्बन्ध थियो पनि। तर मेरो जीवनका स्थायी दृढ सम्बन्धको बन्धनहरू भने आफ्नै पत्नीमा रहे।
·       इतिहासमा तपाईँको स्मरण कुन रूपमा होस् भन्ने चाहनु हुन्छ? साँच्चै भनौँ भने तपाईँ आफ्नो मृत्यु पछि कुन वाक्यले प्रशंसित हुन चाहनुहुन्छ।
यसबारे मैले कहिल्यै सोचेको छैन। वास्तवमा मैले त्यति ठूलो काम केही गरेको छैन जसका लागि भावी पुस्ताहरूले मलाई सम्झिराखुन्। मैले तपाईँसंग अघि अघि भएका अन्तर्वातामा पनि भनिसकेको छु कि मेरो प्रयासको जुन अघ्यात्मिक पक्ष छ त्यसले इतिहासमा कुनै स्थान पाउनु पर्छ भन्ने आकांक्षा राख्दैन। मैले जीवन आनन्दसाथ भोगेँ आफ्ना कर्तव्यहरू पूरा गरेँ भन्ने मलाई लाग्छ- त्यत्ति नै पर्याप्त छ। कुनै कामको स्मारकका रूपमा मलाई जनताले संझिराखुन् भनौँ भने मेरो त्यो आकांक्षा कत्ति पनि छैन। यदि म भनूँ कि नेपालमा प्रजातान्त्रिक व्यवस्था ल्याउने व्यक्तिका रूपमा मलाई संझिनु पर्छ भने पनि, त्यो एउटा बडो अस्पष्ट स्मारक हुनेछ। त्यसकारण देश र जनताले मलाई कुन रूपमा संझिराख्नु पर्छ भन्ने बारेमा मलाई कुनै फिक्री छैन। मलाई त्यसमा चाख छैन।
·       तर तपाईँ आफ्नो अन्तरात्माप्रति इमान्दार रहनु भयो- यो त भन्न सक्नुहुन्छ कि? अर्थात आफुले चाहेको कामको लागि आफ्नो सम्पूर्ण क्षमतालाई उपयोग गर्नु भयो भन्न त सकिन्छ कि?
सकिन्छ, मैले त्यो गरेँ, सिवाय त्यसका लागि म संगठित थिइन यदि म बढी संगठित हुन सकेको भए मेरो योगदान ज्यादा स्थायी र बलियो हुन्थ्यो होला।
·       त्यसो भए तपाईँ आफ्नो आत्मा प्रति सच्चा रहनु भयो हैन त?
हो, म आफ्नो आत्माप्रति बडो सच्चा रहेँ। त्यस बारे कुनै सन्देह छैन। वास्तवमा, म आफुप्रति बडो इमान्दार रहेँ।


Saturday, 4 January 2014

राष्ट्रमाथि खतरा आएको छ

                                      January 04,, 2014

बिपी कोइराला

 (राष्ट्रिय एकता र मेलमिलापको नीति अवलम्बन गरी ०३३ पुस १६ मा स्वदेश र्फकेको केही दिन पहिले भारतको दरभंगामा जननायक बिपी कोइरालाले व्यक्त गरेको विचारको अंश ।यो लेख बिपी कोइरालाको अदालतको बयान नामक पुस्तकबाट साभार गरिएको हो ।)
म स्वदेश र्फकनुका दुई कारण छन् । एउटा कारण, हिन्दुस्तानमा अहिले देखिँदै आएको अन्तर्राष्ट्रिय नीतिको परिवर्तन हो । हामी हिन्दुस्तान किन आएका थियौँ ? हामी तिब्बतीहरू शरणार्थी भएर आएजस्तो आएका थिएनौँ । हामी ज्यान जोगाउन भागेर आएका पनि होइनौँ । भारतमा प्रजातान्त्रिक व्यवस्था भएकाले हामीलाई यहाँबाट आफ्नो संगठनको निम्ति सम्पर्कको सुविधा होला भनेर आएका थियाँै । हामी राजनीतिक उद्देश्य लिएर आएका थियौँ । राजनीतिक उद्देश्य राख्नुका तीन चार कारण छन् । हिन्दुस्तान प्रजातान्त्रिक मुलुक हो । यहाँको वातावरण प्रजातान्त्रिक भएकाले काम गर्न सजिलो हुन सक्छ । यहाँको सरकारले हामीलाई समर्थन नदिए पनि जनमत हाम्रो पक्षमा छ । सरकारमा रहेको पार्टीले हामीलाई मद्दत गर्न अप्ठेरो माने पनि विभिन्न पार्टीका लागि हामीलाई मद्दत गर्न अप्ठेरो हँुदैन । हाम्रो उद्देश्यका निम्ति यहाँको राजनीतिक वातावरण उपयुक्त हुनसक्छ । मलाई लाग्छ, सरकारसित पनि राजनीतिक भाषा र विचारको आदान-प्रदान हुन सक्छ । नेपालमा प्रजातन्त्र आएको खण्डमा हिन्दुस्तानको पनि भलाइ हुन सक्छ । यसले हामीलाई पनि काम गर्न सजिलो होला ।

दोस्रो कुरा, हामीले यहाँ आएपछि अन्तर्राष्ट्रिय जगत्मा पनि सम्पर्क गर्न थाल्यौँ । देशमा कडा निगरानी भएका वेला यहाँ सुरक्षित भएर देशभित्रका संगठनलाई निर्देशन दिन सकिएला, संगठन बढाउन पनि सकिएला भन्ने सोचेका थियाँै । देशमा कुनै नयाँ राजनीतिक वातावरण सिर्जना भए त्यसलाई पनि सम्बोधन गर्न सकिएला भन्ने सोचेर हामी यहाँ आएका थियाँै । हामी यहाँ आएको सात-आठ वर्ष हुन लाग्यो । तर, हामीमा भएको आशा पूरा हुन सकेन । भारत सरकारको नीति सधैँ राजालाई खुसी पारेर आफ्नो स्वार्थ सिद्ध गर्न र आफ्नो उद्देश्य पूरा गर्न सकिएला भन्ने किसिमको भयो । मलाई लाग्छ, कुनै न कुनै दिन उनीहरूले आफ्नो नीति गलत रहेछ भन्ने आफैँ स्विकार्नुपर्नेछ । उनीहरूको नीतिले राजालाई खुसी पार्ने र हामीलाई अप्ठेरो पार्ने भयो । हामीलाई मद्दत नगर्ने मात्र नीति भएको भए पनि एउटा वातावरण बन्न सक्थ्यो । यहाँ संकटकाल लागू भयो । यहाँबाट कुनै ठूलो स्तरको सरकारी मद्दत हामीले पाएनाँै । तर, यहाँ बस्ने साथीहरूको अनुभवमा यहाँका जनताको पूरा समर्थन हामीलाई छ । हामीलाई हिन्दुस्तानी जनता र विभिन्न पार्टीको पूरा सहानुभूति छ ।
म हिन्दुस्तानको राजनीतिमा सन् १९२७ देखि सक्रिय रूपमा संलग्न भएको थिएँ, स्कुल पढ्दादेखि नै । सन् १९४६ सम्म हिन्दुस्तानको साजनीतिमा रहेँ । भारतको राजनीति गर्दा-समाजवादी पार्टी, कांग्रेस पार्टी, कम्युनिस्ट पार्टीलगायत युवक संगठनको सन्दर्भमा मलाई थुनियो । कम्युनिस्ट आन्दोलनमा म पनि समातिएँ । यहाँ यति लामो अवधिसम्म मेरो राजनीतिक क्रियाकलाप भएको हुनाले धेरै ठूला-ठूला ओहोदा र राजनीतिक पार्टीका पदमा मेरा साथी छन् । अहिले कांग्रेसकै कुरा लिउ
m, कांग्रेसका देवकान्त बरुवा मेरा सबैभन्दा नजिकका साथी हुन् । उनले अस्ति मलाई एउटा चिठी पठाए । सन् १९३१ मा हामीले एउटा कमिटी बनाएका थियाँै । म त्यसको संयोजक थिएँ । हाल कम्युनिस्ट पार्टीका राजेश्वर राव पनि यसमा सदस्य थिए । म सन् १९४१ म्ा दरभंगामा समातिएँ र सन् १९४२ मा फेरि समातिएँ पटनामा । डा. राजेन्द्र प्रसाद, अनुग्रहनारायण सिंहलगायत धेरै साथीसँगै म समातिएँ । तसर्थ मप्रति धेरै व्यक्तिले सहानुभूति राख्छन् । तर, जनताको सहानुभूति हुनु एउटा कुरा हो । विभिन्न पार्टीको सहानुभूति हुनु अर्को कुरा हो । त्यस्तै, सरकारी स्तरको सहानुभूति अर्को कुरो हो । सरकारले समर्थन दिन पनि अप्ठेरो हुन्छ । यहाँ संकटकालमा अर्कै कुरो भयो । हामीलाई अप्ठेरो पार्ने, हाम्रो एकतालाई तोड्ने, हाम्रा मानिसलाई थुन्ने, समात्ने, हिन्दुस्तानमा हाम्रा साथीलाई क्षेत्रबन्दमा राखेर सताउने इत्यादि कुराले यहाँ हामी बसेको उनीहरूलाई ठीक लागेन भन्ने अनुभव भयो । उनीहरूले हामीलाई सबै कुरा भन्न नसके पनि अरू लक्षणबाट यो कुरा बुझियो । यहाँ हामी एउटा आशा लिएर आएका थियौँ, त्यो पूरा हुन सकेन । तर पनि यहाँ हामीले आफ्नो पुस्ता र संगठनको पुस्तालाई बचाएर राख्याँै, यो हाम्रो तेस्रो पुस्ता हो ।

यो पुस्ता नेपाली कांग्रेसप्रति आकषिर्त छ । संघर्षको यस क्रममा हामी सफल पनि भयौँ, असफल पनि भयाँै । यहाँ हामी एकत्रित भएर कार्य पूरा नहुँदै जान लागेको अर्थमा असफल भयौँ । यसैलाई पूर्णतः असफलता मान्नु भने हुँदैन । नेपालमा वर्तमान व्यवस्थाका विकल्पमा कुनै पार्टी छैनन्, अहिले पनि नेपाली कांग्रेस नै विकल्प हो । अहिले पनि देशमा स्थिरता कायम गर्न हाम्रो सहयोग चाहिन्छ । यहाँ निर्वासनमा मैले संविधानसम्बन्धी वा अन्य कुनै विषयमा बोल्नेबित्तिकै खुला परिपत्र जारी हुन्छ । तसर्थ युद्ध भनेको हार्ने कुरो मात्र होइन, कुनै पनि युद्ध विभिन्न लडाइँको क्रमिक रूप नै हो । दोस्रो विश्वयुद्धमा दुई सयभन्दा बढी ठुल्ठूला लडाइँ भए । १२५ जति लडाइँ जर्मनी समर्थित नाजी शक्तिले जिते । बर्मा, सिंगापुर, प|mान्स वा बेल्जियममा लडाइँ भए । अंग्रेजका सहयोगी हार्छन् तर फेरि ७५ ठाउँका ठूला-ठूला युद्धमा अंग्रेजले जिते । त्यसो हुनाले लडाइँमा हार व्यहोरे पनि म हिम्मत भने हार्दिनँ । अब म तपाईंहरूलाई दोस्रो विश्वयुद्धको उदाहरण दिन्छु । त्यसमा बेलायत, प|mान्स र बेल्जियम हारेकाले यो उदाहरण दिन लागेको हुँ । त्यतिवेला हारेपछि अंग्रेजले हिटलरका विरुद्धमा लड्न पल्टन पठाएका थिए । लडाइँमा हारेपछि उनीहरू हात-हतियार फ्याँकेर नांगै भए पनि डुंगामा चढेर बेलायत फर्केर आए । तिनीहरूले दुनियाँमा जहाँ पनि प|mान्स, ब्राजिल जतासुकै आत्मसमर्पण गरिदिए । त्यतिवेलाका बेलायतका विदेशमन्त्री चेम्बर लिन र प्रधानमन्त्री चर्चिलले हिम्मत हारेनन् । उनीहरूको भनाइ थियो, ‘हामीले एउटा युद्ध मात्र त हारेका छौँ । हामी अन्तिम समयसम्म पनि लड्छौँ र हार्दैनाँै ।’ उनीहरूसँग अमेरिकी हातहतियार थिए । त्यो सबैलाई चाहिएको थियो । त्यसकारण उनीहरूसँग हिम्मत पनि थियो । उनीहरूले ठूला-ठूला लडाइँ जितेको हुनाले अन्तिम समयसम्म जित्छौँ भन्ने हिम्मत पनि थियो । मैले पनि यहाँ बसेर युद्ध हारेको छैन । आत्मबल गुमाएको पनि छैन । यो निकै गर्वको विषय हो । यति भन्दाभन्दै म स्वदेश-नेपाल जान्छु भन्नेबित्तिकै नेपालमा यही कुरो चर्चाको विषय बनेको छ । म नेपाल जाने भएकैले नेतालगायत जनतामा यसको चर्चा छ । कसैले निराश भएर आएको भन्दैनन् ।

अर्को कुरा हिन्दुस्तानमा तपाइर्ं हामीले काम गर्यौँ । तर, यहाँका सर्वसत्तावादीले हामीलाई मन नपराएको पनि हामीले बुझ्नुपर्छ र त्यसभन्दा पनि हिन्दुस्तान, बंगालादेश, पाकिस्तान, नेपाल, भुटान, बर्मा र श्रीलंका- यो दक्षिण एसियाको भूभाग, हिमालभन्दा दक्षिणको भूभागको क्षेत्र अस्थिर अवस्थामा पुगेको छ । हिन्दुस्तानमा प्रजातान्त्रिक व्यवस्था भए पनि अस्थिरता छ । हाम्रो नेपालमा पनि अस्थिरता छ । बंगालादेशमा त झन् राजनीतिक रूपमा अस्थिरता छ । खासगरी हाम्रो नेपालमा अस्थिरताको कारण राजनीतिक व्यवस्था हो । यहाँको व्यवस्थाले जनमानसबाट स्वीकृति पाउन सकेको छैन । यसले जनताको वैधानिकता पाएको छैन । केवल राजसंस्थाको जोडले मात्र त्यो व्यवस्था टिकेको छ । यस व्यवस्थाको संगठनलाई जनताले स्वीकार गरेका छैनन् । पञ्चायतलाई जनताले अस्वीकार गरेको हुनाले यसलाई प्रशासन र पल्टनको आधार चाहिएको छ । अलिकति खुकुलो हुनेबित्तिकै व्यवस्था नै डगमगाउँछ । ०३२ सालको संविधान सुधार आयोगले जनतालाई आ-आफ्नो मन्तव्य नडराई भन्नोस् भन्दा प्रत्येक नेपालीले यस व्यवस्थाको विरोधमा विचार व्यक्त गरे । त्यसो हुनाले यो शासन प्रणाली राणाको प्रणालीजस्तै अनिश्चित छ ।

नेपाल अहिले निकै संवेदनशील क्षेत्र भएकाले यो देश अन्तर्राष्ट्रिय महत्त्वको देश भएको छ । हुन त हाम्रो सानो मुलुक हिन्दुस्तान र चीनको छिमेकी भएको एवं यी दुई देशबीच मेल नभएको कारणले उनीहरूको चासोको देश पनि भएको छ । उता अमेरिका र रुसजस्ता महाशक्तिको पनि यस क्षेत्रमा ठाडो चासो रहेको हुनाले यो क्षेत्र अस्थिर हुने आशंका व्याप्त छ । नेपालको अहिलेको राजनीतिक व्यवस्था सबैबाट अस्वीकृत भएकाले अन्तर्राष्ट्रिय कारणले यहाँ अस्थिरता छाएको छ । म एउटा उदाहरण दिन चाहन्छु, भियतनामबाट हात झिकेयता अमेरिका, रुस र चीनबीच अपि|mकी देशमा एउटा त्रिकोणात्मक लडाइँ चलिरहेको छ । रुसले अमेरिकाको निन्दा गर्छ । अमेरिकाको कूटनीति दक्षिणपूर्वी एसियामा अल्झेको हुनाले ऊ निरन्तर कमजोर भएको छ । उसका विश्वव्यापी नीति कमजोर भएको छ । अमेरिकाले एकातिर समाजवादीसँग पनि मुकाबिला गर्नुपर्ने, उता चिनियाँ र रसियन धुरीसँग पनि मुकाबिला गर्नुपर्ने भएकाले यसले नयाँ निर्णय गर्नुपर्यो । अब अमेरिकाको सामुन्ने अन्तर्राष्ट्रिय सम्बन्धको रोजाइ सबै मुलुकबाट फिर्ता आएर आफ्नो मुलुकमा मात्र सीमित रहने कि विश्वव्यापी रणनीति बनाउने, दुई विकल्प छन् । एउटा पक्ष भन्छ, ‘हामीलाई अरूको के मतलव, अरूलाई पनि हामीसँग के मतलव ? रुससँग किन मुकाबिला गर्ने ? हामी आफ्नै देशमा सीमित रहौँ । हामीसँग जसले सम्पर्क गर्छ, त्यसलाई सघाऔँ, अरूलाई मतलव नराखौँ । हामीलाई कसैले आक्रमण गर्छ भने मजबुत भएर मुकाबिला गराँै ।’ अर्को पक्ष भन्छ, ‘जसरी अमेरिकाले प्रथम विश्वयुद्धमा नचाहँदा नचाहँदै संलग्न हुनुपर्यो । दोस्रो विश्वयुद्धमा पनि अमेरिकाले आखिरमा आएर बाध्यतावश फस्नै पर्यो । त्यसैले यस्तो अवस्थामा हामीले फस्नै पर्छ । तसर्थ विश्वव्यापी रूपमा आफ्नो कार्यक्षेत्र बनाउनुपर्छ ।’
यतातिर हिन्द महासागर क्षेत्रको दियोगार्सियामा अमेरिकी गतिविधिबारे रुस समर्थक प्रेस, हिन्द महासागरमा अमेरिकी प्रभाव बढ्न थाल्यो भनेर लेख्छन् । अमेरिकी पक्ष चाहिँ हिन्द महासागरमा रुसको प्रभुत्व बढ्यो, हामीले बल प्रयोग नगरी भएन भन्छ । मार्गरेट थ्याचरको भाषण तपाइर्ंहरूले सुन्नुभएकै होला । अन्तर्राष्ट्रिय प्रभाव अब एसियामा आएको छ । यो कुरा मैले अढाई वर्षपहिले नै भनेको थिएँ । भारतीय पत्रपत्रिकामा तपाईंहरूले पढ्नुभयो होला । हाल कोलम्बोमा सम्पन्न असंलग्न सम्मेलनमा पास भएको प्रस्तावको पहिलो हरफमा भनिएको छ- अमेरिकीहरू भियतनामको युद्ध हारेपछि दक्षिण-पूर्वी एसियाबाट बाहिरिए । अब उनीहरू दक्षिण एसियामा आफ्नो प्रभावको केन्द्र बनाउँदै छन् । मैले भनेको भाषा अढाई वर्षपछि आएर उनीहरूले भने । भियतनामबाट अमेरिकी फकर्ंदा मैले भनेँ, ‘अब तिमीहरू सावधान होऊ । अब यस क्षेत्रमा आउने अमेरिकी शक्तिको तिमीहरूले मुकाबिला गर्नुपर्छ ।’ त्यही क्रममा उनीहरूसित सिक्किमको कुरा चल्यो । सिक्किममा आन्दोलन भयो । आन्दोलनपछि सिक्किमलाई भारतमा गाभियो । त्यसले नेपालीहरूका बीचमा शंकाको वातावरण उत्पन्न भयो । त्यस विषयमा मलाई सोधियो, यसमा तपाईंलाई के लाग्छ ? मैले भनेँ-सिक्किम तिम्रै प्रभावमा थियो । यसरी विश्वको दृष्टिकोणलाई ख्याल नराखी आफूमा मिलाउनुपर्ने कारण केही पनि देखिँदैन । तर, तिमीहरूले केही कारण देख्यौ होला । त्यस्तो कुनै बाध्यता अवश्य पर्यो होला । त्यो कुरा हामीलाई थाहा भएन । नत्र, त्यसरी सिक्किममाथि कारबाही गर्नुपर्ने कुनै कारण देखिँदैन ।

सिक्किमलाई अवैधानिक ढंगबाट गाभ्नुपर्ने अरू कारण भए मलाई थाहा छैन । जे होस् मेरो उनीहरूलाई भनाइ थियो, भारतले त्यो कारबाही गरेर यस क्षेत्रलाई अप्रत्याशित रूपमा अस्थिर बनायो । अब हिन्दुस्तानले जुन पक्षसँग टक्कर लिन यो काम गर्यो, त्यस पक्षले भारतकै मिजोरमा वा अन्य भागमा वा बंगालादेशतर्फ आँखा लगाउँछ । मैले यस्तो भनेको ६ महिनापछि बंगालादेशमा ‘कु’ भयो । यसले अवश्य पनि हिन्दुस्तानलाई असर पुर्यायो । त्यसपछि एक दिन तिनीहरूले मलाई फेरि सोधे, ‘यी सबै साम्भाव्य घटना तिमीलाई पहिल्यै थाहा थियो कि क्या हो ?’ मैले भनेँ, पहिले थाहा भएको होइन । यो त घटना क्रमको विश्लेषण गरेर थाहा पाइने कुरा हो ।’ मैले भनेँ, ‘यस क्षेत्रमा तिमीहरूले जसका विरुद्ध आफूलाई उभ्याएका छौ, यहाँ तिमीहरू मात्र छैनौ । सुरक्षाको प्रसंगमा त्यसले हस्तक्षेप गर्छ कि गर्दैन ? उसँग हस्तक्षेप गर्ने अरू ठाउँ छैन । सबैभन्दा प्रमुख ठाउँ अहिले बंगालादेश नै भएको छ । त्यसैले अब त्यहीँ गतिविधि गर्छ ।’ तर, बंगालादेश मात्र होइन, यो सम्पूर्ण क्षेत्र नै अहिले गतिविधि गर्न सकिने ठाउँ जस्तो देखिएको छ । त्यसैले अहिले यो सम्पूर्ण क्षेत्र नै अस्थिर क्षेत्र भएको छ ।

अब, नेपालको सन्दर्भमा जाऊँ । ०१७ सालको राष्ट्रविरोधी कदममार्फत हाम्रो देशमा आफ्नो प्रभाव बढाउन चीनले राजालाई साथ दिएको थियो । चीनले प्रोत्साहन दिँदा राजाको हिन्दुस्तानको हितमाथि असर पर्नसक्ने आवाज आउँथ्यो । हिन्दुस्तानले आफ्नै व्यवस्था र चीनसँग तर्सिएका कारणले, अन्ततः राजालाई नै आफ्नो पक्षमा गराएर होस् वा जसरी भए पनि आफ्नो हित पूरा गराउने रणनीति बनायो । डा. तुलसी गिरी प्रधानमन्त्री भएपछि हिन्दुस्तानले उनलाई खुसी पार्ने कोसिस गर्यो । पहिलेदेखि नै डा. गिरीको हिन्दुस्तानसँग बेग्लै सम्बन्ध छँदै थियो । नेपाल चीन र हिन्दुस्तानसँग समदुरीमा बस्न चाहन्छ भन्ने नेपालका परराष्ट्रमन्त्रीको वक्तव्य आयो । तर, हिन्दुस्तानको हामीबीच विशेष सम्बन्ध हुनुपर्छ भन्ने भनाइ आयो । त्यो विशेष सम्बन्ध भनेको भावनात्मक मात्र होइन नि । कूटनीतिक भाषामा विशेष सम्बन्ध भनेको प्रतिरक्षात्मक सम्झौता हो । राजनीतिमा विशेष सम्झौता भन्नुको अर्थ कुनै क्रयविक्रयको बखत एक अर्काको पक्षमा हुनु हो । हिन्दुस्तानी पक्षको भनाइअनुसार, राणा प्रधानमन्त्री मोहन शमशेरको पालामा भारत र नेपालबीच एउटा सम्झौता भएको छ । कुनै तेस्रो शक्तिले नेपाल र भारतमाथि वा कुनै एकमाथि आक्रमण भयो भने त्यस आक्रमणलाई आफूमाथि भएको आक्रमण ठानेर आपसमा मिलेर संयुक्त कारबाही गर्ने भन्ने । त्यसैको आधारमा भारतले विशेष सम्बन्धको कुरा उठाएको हो । म प्रधानमन्त्री हँुदा यसै सम्बन्धमा एउटा घटना भयो । हिन्दुस्तानका प्रधानमन्त्री जवाहरलाल नेहरूले संसदमा भाषण गर्दा भन्नुभयो, ‘नेपाल र भुटानमाथि भएको आक्रमणलाई भारतले आफँैमाथि भएको आक्रमण ठान्नेछ ।’ उहाँको त्यो भनाइको आशय, प्रतिरक्षाको प्रसंगमा भारतको सिमाना हिमालसम्म छ र हिमाललाई पार गरेर कुनै हस्तक्षेप वा आक्रमण भयो भने त्यो आक्रमण हिन्दुस्तानमाथिको आक्रमण मानिनेछ भन्ने थियो ।

नेहरूजीको यो भनाइ मैले काठमाडौंमा अखबारमा पढँे । त्यसपछि हिन्दुस्तानका सारा अखबारले मलाई सोधे, ‘यस विषयमा तपाईं के भन्नुहुन्छ ?’ हो वा होइन जवाफ माग्न थाले । मेरो भनाइ थियो, ‘त्यो अखवारमा मात्र आएको कुरा हो । भारतीय संसदको दस्ताबेज मैले पढेको छैन । त्यसो हुनाले अखबारमा आएको समाचारको आधारमा म हिन्दुस्तानको प्रधानमन्त्रीलाई जवाफ दिन उचित ठान्दिनँ ।’मैले पत्रकारलाई यो कुरा भनेको पर्सिपल्ट उनीहरूले संसदकै रिपोर्ट ल्याएर भने, ‘अब त भन्नुहोस् ।’ अनि मैले भनेँ, ‘नेहरूजीले नेपालसँग नसोधी नेपालमा आफ्नो अधिकार छ जस्तो गरेर त्यसो भन्न हुने थिएन । नेपाल पूर्ण सार्वभौमिकता सम्पन्न स्वतन्त्र राष्ट्र हो । उहाँले एउटा अवस्थामा नेपालले मागेमा, हामी सहायता दिन्छौँ । नेपाल पनि सुरक्षाविहीन छैन भनेर मित्रता देखाएको हो । हिन्दुस्तानको पक्षबाट एकोहोरो कारबाही गर्ने नभएर नेपालले चाहेको खण्डमा हामी सहयोग दिन्छौँ भन्न खोजेको हो ।’ फेरि पत्रकारले जवाहरलाल नेहरूसँग प्रश्न गरे, ‘तपाइर्ंले भनेका कुरामा नेपालका प्रधानमन्त्रीलेे त आफ्नो असहमति व्यक्त गरे नि ? अनि, नेहरूजीले भन्नुभयो, ‘उनले भनेकै आशय ठीक हो । मैले भनेको कुरो बिपीकै व्याख्याको भाव हो ।’ उहाँले संसदमा फेरि भन्नुभयो । अनि मोहनशमशेरसँग भएको सम्झौताको पत्र पहिलोचोटि बाहिर ल्याइयो । अहिले विशेष सम्बन्ध र समदुरी भन्ने कुरा त्यसैको दुरीमा भनिँदै छ र यी कुरा हाम्रो राष्ट्रको अहितमा हुन्छन् ।
नेपालको प्रधानमन्त्री हिन्दुस्तान आएका बखत पारेर इन्दिरा गान्धीले भनेकी थिइन्, ‘नेपालले सुरक्षाको सुनिश्चितताका लागि भारतलाई आधार बनाउनु हँुदैन । हामी नेपाललाई जिम्मेवार मित्रको हदसम्म मात्र सहयोग गर्न सक्छौँ ।’ भारतीय पक्षको तत्कालीन भनाइ थियो, ‘उनीहरूले नेपाललाई दिने सामान अन्तर्राष्ट्रिय मूल्य नीतिअनुसार दिनेछन् । र, नेपालले विदेशी मुद्रामा त्यसको भुक्तानी गर्नुपर्छ । भारत स्वयंले ती वस्तु डलरमा किन्ने गरेको छ ।’ भारतीय पक्षको यस्तो कथन आएपछि नेपाल हच्कियो । यसबाट राजाको हिन्दुस्तानसँगको विश्वास पूर्ण रूपमा सिद्धियो । यसबाट चीनको दृष्टिकोणमा पनि परिवर्तन आयो । किनभने चीनका लागि राजाको उपयोगिता सिद्धियो । अन्तर्राष्ट्रिय स्तरमा राजाको यस्तो भूमिका छ, देशभित्रको स्थिति भिन्नै छ । महाराजधिराजको राजनीतिक प्रभाव घट्दै छ । राजाले थोपरेको व्यवस्था दिनदिनै अस्थिर हुँदै छ । गाउँ र्फकको हातमा राजनीतिक जिम्मा दिइँदै छ । तर, जनताको कुनै पनि वर्ग यसमा सन्तुष्ट छैन । अब यस्तो वेलामा म स्वदेश जाँदै छु । यसलाई आत्मसमर्पण गरेर गएको भन्न सकिँदैन । राजनीतिक विश्लेषणको आधारमा एउटा जोखिम लिएर म देशभित्र जाँदै छु ।


राजा कस्तो हुनुपर्ने ?

January 04, 2014


कुनै तानाशाहको छोरा तानाशाह भएको छैन। हुन खोज्दा खत्तम भएको छ। राजतन्त्रको आधार बल हुँदैन। बलको आधारमा राजतन्त्र रहन खोज्यो भने त्यसको छोरो गद्दीमा बस्न सक्दैन। एउटा अपवाद भएको छ बेलायतको क्रौमबेल। चार्ल्स प्रथमलाई झुण्ड्याएपछि क्रौमवेल भयो इङ्गलैण्डको तानाशाह र त्यहाँ गणतन्त्र स्थापित गरेर ऊ शासक भयो। क्रौमवेल मरेपछि उसको छोरोलाई त्यस पदमा बसाए, तर सकेन त्यसले चलाउन।नसकेपछि, जसलाई झुण्ड्याएका थिए-चार्ल्स प्रथम, त्यसकी छोरी लुकेर बसेकी थिई फ्रान्समा। त्यसलाई बोलाएर राजा बनाए। क्रौमवेलको छोरा भाग्यो। त्यसो हुनाले ताकतको आधारमा, नाङ्गगो शक्तिको आधारमा, सामान्य मान्यताको आधारमा होइन कि नग्न शक्तिको आधारमा राजाले शासन गर्न खोज्यो भने उसको छोरोले राजगद्दीमा बस्न पाउँदैन। मेरो त्यै तर्क छ। 
राजतन्त्रको परम्परा यहाँ कायम रहोस्, राजाको छोरा दीपेन्द्र राजगद्दीमा बस्न पाऊन् भन्ने कसैलाई लागेको छ भने त्यसले राजाको सक्रिय नेतृत्वको आधार छिन्नु परेको छ। अनि मात्रै दीपेन्द्रको गद्दी सुरक्षित हुन्छ, नत्र हुँदैन। यो बुझ्नु पर्छ राजाले। यो स्वर्गीय राजा महेन्द्रले बुझेनन्। उनले तानाशाहको रूपमा देखे आफूलाई। अनि मिलिटरीको भरमा सबै थोक गर्न खोजे, तर त्यसले हुँदोरहेनछ। तिनले आफ्नो राजतन्त्रको जरो खने। बरु म माटो भर्न थालेको छु राजतन्त्रको जरोमा। राजामाथि कसैको प्रभाव पर्न हुँदैन। त्यसको पद सुरक्षित हुनुपर्छ। भोटमा त्यसको पद निर्भर हुनुहुँदैन। मतपत्रमा उसको पद निर्भर नगर्ने हुनुपर्छ। त्यसलाई यस्तो निर्भयता हुनुपर्छ कि उसको गद्दी सुरक्षित छ। उसले त्यो निर्भयता तब मात्र प्राप्त गर्न सक्दछ जब जनतामा यो धारणा होस् कि यो न्यायी छ, सफा छ, यो पक्षपाती छैन। राजनीतिज्ञहरूको अर्कै कुरा छ। उसको पदको आधार मतपत्र छ। दुईजना चुनाव लडे। बहुमत प्राप्त गर्ने व्यक्ति प्रधानमन्त्री पनि हुन सक्दछ। प्रधानमन्त्रीको लागि हुने चुनावमा एक प्रतिशत मात्रैको बहुमत प्राप्त गरेपनि बहुमत प्राप्त व्यक्ति प्रधानमन्त्री हुनसक्दछ।
राजाले त्यति सानो अन्तरबाट राजा हुन पाउँदैन। राजाले त शतप्रतिशत भोट पाउनुपर्छ। शतप्रतिशत भोट पाउनको निम्ति राजनीतिज्ञहरूले गरेको चाल राजाले गर्नु हुँदैन। संस्कृत वा नेपालीमा स्टेट्सम्यान र पोलिटिसियनको ठीक अर्थ लाग्ने शब्द छैन। स्टेट्सम्यानले २०/२५ वर्षछिको मेरो देशलाई के बनाउँछु भनेर सोचेको हुन्छ, पोल्टिसियनले म कसरी सत्तामा जान पाउँछु भन्ने मात्र सोंचेको हुन्छ। स्टेट्समैनले भोट पाउने कुरा मात्र सोंच्न सक्दैन, कहिलेकाहीं त्यसले अलोकप्रिय निर्णय पनि लिन सक्नुपर्छ। राजाले शतप्रतिशत भोट पाउनुपर्छ। त्यसो हुनाले त्यसको आचरण एकदम माथिको आचरण हुनुपर्छ। उसले भीडभाडमा बसिरहनु जरुरी छैन, तर उसकहाँ कुरा भने पुगिरहेको हुनुपर्छ। उसको बैठकमा त्यस्ता मानिसहरू पुग्न सकून् जसको सल्लाह उसलाई काम लाग्न सक्दछ। एउटा पुग्नसक्ने व्यक्ति त प्रधानमन्त्री हो, जो जनताद्वारा निर्वाचित हुने सबभन्दा ठूलो मानिस हो। उसका अतिरिक्त अरु पनि छन् जो राजालाई सल्लाह दिन भने सक्छन् तर राजनैतिक उथलपुथलमा आफू आउन सक्दैनन्। त्यस्तोले पनि दरबारमा प्रवेश पाउन सकोस्। अनावश्यक व्यक्तिहरूको भीड लगाउनुको त क्यै मतलब छैन। कानूनमा न्यायको व्यवस्था छ कि छैन, कानून बमोजिम काम भइरहेको छ कि छैन, त्यतापट्टि राजाको ध्यान जानुपर्छ। त्यहाँ राजाको काम हुन्छ- प्रधानमन्त्रीलाई नसिहत दिने-’यो काम त भएन’, ‘यो काम त योजना बमोजिम भएन’ भनी राजाले भन्न सक्नुपर्छ।
राजाले कतै एक करोड रुपैयाँको कामको निकासा दिए रे। यस्तो काम राजाले गर्ने होइन। आफूले बनाएका संस्था र निकायहरूले गर्ने कामलाई मिचेर राजाले आफूले त्यो काम गर्ने होइन। राजाले त्यो रकम दिंदा त्यस ठाउँमा त जयजयकार होला, अरु ठाउँमा त हुँदैन। हामीकहाँ किन गरेनन्? भन्न थालिहाल्छन्। राजामा एउटा विवेक हुनुपर्दछ, जो एउटा राजनीतिज्ञमा नहुन सक्दछ, किनभने उनलाई एउटा निर्धक्कता छ। भोटमा उनी अडेका छैनन्, निर्धक्क भएर उनले आफ्नो निर्णय गर्न सक्छन्। त्यसो हुनाले त्यो एउटा विवेक उनले राख्नुउपर्छ कि मैले कानूनको मर्यादा राख्नुपर्छ। बादशाह अकबर बडो नामी भए। उनी लेखपढ गर्न जान्दैनथे, उनी दस्तखत गर्न जान्दैनथे, तर हिन्दुस्तानको इतिहासमा उनी जति ठूलो त कोही राजा नै भएन भन्दछन्, किनभने उनको दरबारमा नवरत्न थिए। कोही इतिहासज्ञ थिए, कोही संगीतज्ञ थिए, कोही अर्थशास्त्री थिए। हुमायुँ दिल्लीको गद्दीबाट लखेटिंदा उसले राजस्थानको मरुभूमिमा आफ्नो स्वास्नी छाडेर भागेको छ इरान। त्यही मरुभूमिमा अकबर जन्मेकोछ। हुमायुले आफ्नो ससुराको मद्दत लिएर फेरि दिल्ली कब्जा गर्छ, अनि अकबर आउँछ। अकबरको शत्रुको एउटा मन्त्रि थियो टोडरमल। त्यसलाई अकबरले राख्यो। त्यो विवेक उसले प्रयोग गर्यो।
अर्को एउटा कथा छ अकबरको। अकबरको एउटा सालो थियो। उसलाई अकबरले कुनै काम दिएको थिएन। अरुहरूलाई मन्त्रि बनायो, बिरबललाई मन्त्रि बनाएको थियो। बिरबल एउटा जनरल थियो, मन्त्रि थियो र राजाको एउटा मित्र पनि थियो। ऊ ठट्टा मजाक गर्न सिपालु थियो र लडाईमा पनि सिपालु थियो। ऊ अरु पनि राजनीतिक काममा मद्दत गर्थ्यो। त्यो त अकबरलाई थाहा थियो। अकबरको मन परेको मान्छे भनेर अकबरको सालोलाई ऊसँग रिस उठेछ। ऊ आफ्नी दिदीलाई भन्न गएछ- यस्तो मानिसलाई मन्त्रि बनाएर दरबारमा राख्छ, मलाई लिंदैन। अकबरकी दुलही अकबरसँग गुनासो गर्न गइछ- ‘मेरो भाइको कदर भएन’ भनेर। अकबरले भनेछ, ‘तेरो भाइ त्यस कामको लागि काबिलै छैन। मैले कसरी बनाउने? मेरो सालो हो मलाई मन पर्छ, तर त्यसले गर्नसक्ने काम यो होइन। मलाई सल्लाह दिने काम त त्यसले गर्न सक्दैन नि’। अकबरकी दुलहीले भनिछ,. ‘किन सक्दैन? काम लगाएर हेरे पो हुन्छ। ऊ कस्तो पढे लेखेको छ, लायक छ’ अकबरले भनेछ. ‘ल हुन्छ, म जाँच गर्छुं’। अकबरले आफ्नो सालोलाई बोलाएछ। ‘हेर त्यहाँ पर एउटी कुकुर्नीले बच्चा पाइछ। हेरेर आऊ त, त्यो कस्तो छ?’ ऊ गएछ। हेरेर तुरुन्त फर्केर भनेछ. ‘हो, हो बच्चा पाइछ’।
‘कतिवटा बच्चा रहेछ?’- भनेर अकबरले सोद्धा ‘ए, त्यो त मैले हेरिन’ भनेर तुरुन्तै हेर्न भनेर फर्केछ र ‘चारवटा रहेछन्’ भनेर भन्न आएछ। ‘अनि नर कि मादा?’ भनेर सोधेछ अकबरले। ‘ए त्यो त मैले हेरिन’ भनेर फेरि हेर्न गएछ र ‘दुईवटावटा नर र दुईवटा मादा रहेछन्’ भन्न आएछ। ‘अनि कुन-कुन रंगका रहेछन्’ भनेर सोद्धा फेरि उत्तर छैन। यसरी सात आठपटक पुगेर बल्ल उसले अकबरको जिज्ञासा पूरा गरेछ। अकबरले दुलहीलाई त्यहाँ राखेछ। अनि सालोलाई पनि ‘त्यहाँ बस’ भनेर बिरबललाई बोलाऊ भनेछ। बिरबल आएपछि अकबरले फेरि भनेछ- ‘बिरबल त्यो मन परेकी कुकुर्नीले बच्चा पाएकी रहिछ, हेरेर आऊ त’। बिरबल गएर हेरेर आएछ। अनि अकबरले तिनै प्रश्नहरू गरेछ। बिरबलले धडाधड-धडाधड जवाफ दिएछ। अनि पछि बिरबल र आफ्नो सालोलाई त्यहाँबाट पठाएर स्वास्नीसँग सोधेछ ‘ल बता, तँ कसको सल्लाह मान्छेस्? आफ्नो भाइको सल्लाह मान्छेस् कि बिरबलको सल्लाह मान्छेस्? एउटा सानो कामको निम्ति ऊ सातचोटी दौडेर गयो। उसले एकचोटी गएर सारा कुरा बुझेर आयो।
हो, मैले भनेको के भने राजाले त्यस प्रकारको विवेक प्रयोग गर्नुपर्छ र खास गरेर नेपालको राजाले। किनभने अहिले उनको हातमा काफी शक्ति छ र, प्रजातान्त्रिक संस्थाहरू बन्दै गइरहेका छन्। तमाम राजकीय शक्तिको प्रयोग ती संस्थाहरूले गरिसकेका छैनन्, गर्न पाएकै छैनन्, ती बनिसकेकै छैनन्। त्यसो हुनाले ती अधिकारहरूको प्रयोग गर्दा राजाले बढी विवेक प्रयोग गर्नुपर्छ। पछि संस्थाहरूको निर्माण भइसकेपछि राजकीय शक्तिहरूको प्रयोग ती संस्थाहरूले गर्न थालेपछि त्यस बखतमा राजाले अलिकति तलमाथि गरेपनि खलबली हुँदैन, तर अहिले त तिनले धेरै विवेकका साथ काम गर्नुपर्छ। मैले तीनवटा राजा बेहोरेको छु, एउटालाई गृहमन्त्री भएर बेहोरें, अर्कोलाई प्रधानमन्त्री भएर बेहोरें र यिनलाई मैले त्यसरी बेहोरेको छैन तर तीनचोटी भेटेको छु। राजा महेन्द्र विवाद गर्न सक्दैनथे। बहस गर्न सक्दैनथे, गर्दैनथे। हो, हो मा कुरा टुङ्गयाइदिन्थे। मलाई के लाग्दछ  भने उनलाई एउटा कुण्ठा थियो र गोपनीय थिए। मैले भनेको कुरा हास्यास्पद त हुँदैन भन्ने खालका थिए। त्यसो हुनाले उनी आफूलाई बहसमा धेरै पार्दैनथे। उनको दायरा बडो संकीर्ण थियो, उनको भिजन सानो थियो। उनको होराइजन सानो थियो, उनको आकाश बडो सानो थियो। राजा वीरेन्द्रको बारेमा मलाई त्यो लागेन। जस्तो मैले भने, ‘सरकार म फ्य्राङ्कली कुरा गर्छु, किनभने अब डरले राजाको चाकरी गरुँ भने जति त्रास दिन सक्ने हो, राजाबाट त्यो मैले पाइसकेको छु। त्यसो हुनाले त्रासमा आएर म सरकारसँग केही भन्दिन। मैले जति भोग्नुपर्ने भोगिसकेको छु। त्यसभन्दा बढ्ता सरकारबाट के हुन सक्ला र? अब प्रलोभन हो सरकारले दिने। सबभन्दा ठूलो प्रलोभन सरकारले दिने प्रधानमन्त्री हो। त्यो प्रधानमन्त्री पनि जनताले दियो भने मात्रै म बन्नेछु। त्यसो हुनाले त्यो प्रलोभन पनि ममाथि लाग्दैन। त्यसो हुनाले म सोझो तरिकासँग कुरा गर्छु’।
मैले आफ्नो सबैकुरा भनिसकेपछि मैले सोधें,सरकार, यति स्पष्टसंग अरु कसैले सरकारसंग कुरा गरेन होला नि। सरकारलाई कस्तो कुरो अनुकूल हुन्छ, त्यो मात्रै भन्दो होलान्। अधिकांश त त्यस्तै हुन्छन्, कोही कोही आएर त स्पष्ट कुरा पनि गर्छन्.भने राजाले। यो भन्दा खुलस्त भएनन् – एकचोटी त रिसाए मदेखि। म भन्दिन के, भन्दाखेरि रिसाए। बिर्स्यौ क्यारे, तिमी नेपालको राजासँग कुरा गर्दैछौ।.भने उनले। मैले भने,.सरकार म पनि त नेपालको नागरिक हुँ। सरकारले त्यो पनि बिर्सनु हुँदैन। त्यसबखत म कैदी नै थिएँ। मैले त्यसो भनेपछि उनी चुप लागे, तर एकपटक भने झम्टे ममाथि। आफ्नो कुर्सीको बाँही समातेर उनी तन्किएर रिसाएका थिए। मलाई लाग्यो-उनी प्रतिक्रिया दिंदा रहेछन्। खुलस्त मैले त्यस दृष्टिबाट भनेको। स्वर्गीय राजा महेन्द्र भएको भए, चुप लागेर बस्थे, त्यसरी प्रतिक्रिया जनाउँदैनथे।
मैले सान-साना कुरामा पनि उनको प्रतिक्रिया हेरें। विकासको कुरामा मसँग उनको बहस भएको छ। भने कि विकास भएकै छैन भनेर तिमी किन भन्छौ – यसपाली मैले राजनैतिक विकासपट्टि ज्यादा ध्यान दिएँ। जनमत संग्रह इत्यादिले गर्दा एकवर्षयता विकासको कुनै काम भएन। त्यो मलाई थाहा छ। त्यसभन्दा अघि विकासका कामहरू त भएकै छन्। तिमीलाई कसरी विकास होला भन्ने लाग्छ? जस्तो जंगल फाँडिएको कुरा मैले उठाएँ। मैले भनें,प्लेनबाट आउँदा मलाई लाग्यो जंगल विनाश भएको छ। मैले त्यसो भन्दा उनले भने,त्यो त मैले पनि सुनें। जंगल त फाँड्नु पनि पर्छ। वैज्ञानिक तवरले फडानी पनि हुनुपर्छ र, पुराना रुखहरूलाई काट्नु पनि पर्छ। कति क्षेत्रहरूलाई जोत्ने योग्य बनाउनु पनि पर्छ। त्यसको लागि फँडानी पनि गर्नुपर्छ। यो अहिले फँडानी भएको जंगल त्यो कुनै सिद्धान्तको आधारमा वैज्ञानिक किसिमबाट भएको छ कि छैन त्यति मलाई भन। जंगल फाँडियो भनेर नभन। तिमीले यसलाई अध्ययन गरिकन मलाई भन कि वैज्ञानिक किसिमबाट फाँडिएन वा फाँडियो वा के भयो भनेर। यी सबै कुराबाट मलाई के लाग्यो भने राजा बहस गर्दा रहेछन्, सुन्दा रहेछन्, कहिले मैले भनेको कुरालाई हो, ठीक हो भने। मैले राजतन्त्रको बारेमा भने जस्तो मैले सबैलाई भनिरहन्छु। स्वर्गीय राजा महेन्द्रले मलाई एकपटक भनेका थिए, विश्वेश्वर बाबु तपाईंहरूले राजनीतिमा कुनै गल्ती गर्नुभयो भने जेल बस्नु होला। अनि जेलबाट हिरो भएर निस्कनु हुन्छ। हामीले जेल बस्नुपर्यो भने त सदाको निम्ति जेल बस्नुपर्छ। मैले त एकचोटी पनि गल्ती गर्नु हुँदैन। तपाईंको र मेरोमा त्यो फरक छ।
मैले राजालाई भनें, मैले राजतन्त्रको अहिलेको अवस्थामा आवश्यकता किन ठानेको छु भने राजालाई हामीहरूलाई भन्दा  राज्यको बढी आवश्यकता हुन्छ। राज्य नभइकन त राजै हुँदैन। प्रजालाई त जो राजा भएपनि त्यति फरक पर्दैन। यो देश रहेन भने राजाको गद्दी रहँदैन। गद्दी रहेन भने राजा रहँदैन। देश रहेन भने सरकारलाई ज्यान जोगाउँदैको सास्ती। यो मैले भनेको थिएँ राजासँगको पहिलो भेटमा नै। त्यसो हुनाले यो स्वार्थको दृष्टिबाट म हेर्दछु। सरकार, बडो परोपकारको दृष्टिबाट, जनताको भलाई गर्ने विचारले यसो गरी बक्सन्छ भनेको होइन। राजाको स्वार्थ छ देशको रक्षा गर्ने, किनभने देशको अस्तित्वमा नै राजाको अस्तित्व छ। हाम्रो देशभक्ति त भावात्मक कुरा हो। मेरो खेत हिन्दुस्तानले लियो भने पनि खोस्दैन। मैले भोट दिन पर्यो भने हिन्दुस्तानी नागरिक भइकन भोट दिन पाउँला। म आफ्नो खेती गर्न जाउँला। सरकार कहाँ जाने देश रहेन भने? यहाँ हाम्रो देशभक्तिको भावात्मक शक्ति र सरकारको निहित स्वार्थ एक ठाउँ मिलेको छ। त्यसो हुनाले म त त्यै कुरो भनौं भनेर आएको।
राजाले त्यसलाई ध्यानले सुने, माने र भने.यस किसिमसँग त कसैले कुरा गर्दैन। मैले निजी कुराहरू गरिन। मलाई पुलिस ट्रेनिङ सेन्टर महाराजगञ्जमा थुनामा राखेको थियो। रञ्जनराज खनाल मनेर आए र भने,-महाराजाधिराज सरकारबाट हुकुम भएको छ-दरबारमा सात बजे। उनको लैण्डरोभर रहेछ, त्यसमा मलाई लिएर गए। राजाको भेट्ने अफिसमा मलाई पुर्याए। भेट्ने ठाउँभन्दा अगाडिपट्टि एउटा सानो कोठा रहेछ। त्यसमा मलाई पर्खाए। त्यहीं पर्खिराखेका थिए डा. मृगेन्द्रराज पाण्डेले। कस्तो छ तपाईंलाई भनेर उनले सोधे। त्यसै बीचमा आइपुगे राजाको एडीसी र मलाई सैल्युट गरेर लिएर गए। महाराजाधिराज भित्र थिए। ठूलो टेबुल थियो। एउटा काउच थियो। एउटा सिंगल चेयर थियो। राजाले मलाई त्यहाँ बस भने, म काउचमा बसें। म पनि बिस्तारै बोल्ने, राजा पनि बिस्तारै बोल्ने। म उनको कुरा बुझिरहेको थिइन मलाई सुरुमा के भने- त्यसपछि हाम्रो बीचमा करिब ९० मिनेट जति कुरा भयो। पहिले मेरो स्वास्थ्यको कुरा गरे। मलाई लागेको थिएन कि मेरो स्वास्थ्यको कारणले मसँग भेटेका होलान्। मैले त राजनैतिक विषयको कुरा गर्न बोलाएको ठानेको थिएँ। मैले सुरुको कुराबाट भनें,देशको नै स्वास्थ्य ठीक छैन भने मेरो स्वास्थ्यको कुरा के छ र?
उनले अंग्रेजीमा भने,आफ्नो स्वास्थ्यको विषयमा तिमीले वास्ता गरेका छैनौ- त्यसमा उनले बडो गम्भीर भएर भने, पत्याएनौ क्यारे। एडीसीलाई भने, डाक्टरलाई बोलाऊ। उनले मलाई एउटा कागत पढ्न दिए। डाक्टरहरूको निदानको रिपोर्ट रहेछ। घाँटीबाट रक्तसञ्चारको नली बन्द भएर कुनै दिन, कुनै बेला मर्न पनि सक्दछ भन्ने थियो। डाक्टर आए। ल मृगेन्द्रराज, सम्झाइदिनु पर्यो भने राजाले। उनले मलाई रोग सम्झाइदिएपछि ल तिमी जाऊ भनेर उनलाई पठाइदिए र मसंग कुरा गर्न थाले। त्यहाँ अरु कुनै तेस्रो मानिस थिएन। मलाई त्यसदिनको कुराबाट लाग्यो, राजा ध्यान दिन्छन्, चाख लिन्छन्, संलग्न,छन्। उनको व्यक्तिगत व्यवहार पनि उल्लेखनीय छ। यिनले आफ्नो छोरोलाई यहीं पढाए। बुढानीलकण्ठमा उनको छोरोलाई कुनै विशेष सुविधा छैन। फाइन लाग्छ पचास पैसा, कुनै काम गर्न नसकेकोमा। त्यसको डरले ऊ काम गर्छ। चिसो पानीले नुहाउनु इत्यादि लगायत कुनै कुरामा फरक छैन। राजा रानी भेट्न जान्छन् ‘पेरेन्ट्स डे’ मा। अरु अभिभावकहरूले भेट्न गए सरह भेट्न जान्छन्। त्यो कुरा मैले हिन्दुस्तानमा भन्दाखेरि उनीहरू छक्क परे। अर्को, आफ्नी रानीको अपरेशन यहीं गराए। त्यस्तै अपरेशन गराउन अरुहरू यहाँबाट हिन्दुस्तान जान्छन्। हो, उनको अपरेशनको निम्ति स्पेशल मेशिन आयो होला, जे भयो होला। उनले यहीं गराउने, बाहिर किन जाने भनेर त्यो गराए जस्तो लाग्छ। यी सान-साना कुराहरू हुन् जो मेरो ध्यानमा छ। यिनका जो वक्तव्यहरू हुन्छन् नि, तिनमा पनि म ध्वनि पाउँछु- यो देश बनोस्, सप्रोस् भन्ने। राजाको एउटा गुण छ र धर्म छ, दुनियाँभरका राजाहरूमा। देशको गौरव बढ्यो भने त्यसको पनि गौरव बढ्छ। या त देशको गौरव क्षेत्रीय बिस्तारबाट हुन्छ। त्यसो हुनाले राजाहरू दिग्विजय गर्न जान्छन्, चक्रवर्ती राजा हुन थाल्छन्। धनी मुलुकको राजा, प्रगतीशील मुलुकको राजा बन्नु पनि एउटा गौरव हुनसक्दछ। त्यसैले आफ्नो व्यक्तिगत स्वार्थ देशसित संलग्न गर्दछ। यत्रो ठूलो गौरवलाई छोडेर, बनियाँ जस्तो पैसा मात्रै जुटाउन खोजेका छन् भन्ने कुरा मैले धेरै राजाहरूमा देखेको छैन, यहाँको मात्र होइन, कुनै पनि राजामा बनियाँको वृत्ति हुँदैन। पैसा कमाउलान्। जब त्यसलाई यो लाग्दछ कि म यहाँ रहन्न, मेरो छोरो राजा हुन पाउँदैन, अनि ऊ पैसा कमाउन लाग्दछ र संकट पर्न लागेको देखे पछि भाग्दछ। उसलाई जबसम्म यो लाग्दछ कि उसले यहीं बस्नु छ, उसको छोरोले पनि यहीं बस्नु छ भने अरु अरु कुराहरूमा उसको ध्यान जाँदैन।
राजा महेन्द्रको बारेमा भन्दछन् कि उनले पैसा धेरै कमाए, एक-एक कलममा दश-दश करोडको रकम जम्मा गरे भनेर, तर मलाई यसमा विश्वास छैन। यहाँ अनेक अतिरञ्जित हल्लाहरू गरिन्छन् र यो त्यस्तै किसिमको हल्ला हो।


२९ पुस २०३८

Tuesday, 31 December 2013

समानुपातिक म को को परे


काङ्ग्रेस-कार्यकर्ताका सात ‘खराबी’


September 3, 2013

 (बिश्वेश्वरप्रसाद कोइरालाले २०१५ साल अगाडी पार्टीका कार्यकर्तालाई लेखेको पत्र)

प्रियसाथी,
तपाईँ साथीहरूलाई धेरै दिनपछि यस्तो किसिमको पत्र पठाउँदैछु। मलाई लाग्दछ, आज यसको आवश्यकता पनि पर्न गएको छ। आज हाम्रो प्यारो देश जसरी नै नेपाली काङ्ग्रेस पनि एउटा ठूलो सङ्कटबाट गुज्रँदै छ। यसको पूर्ण निराकरण गर्नमा हामी हाल त्यति र्समर्थ नभए पनि यसका ठीक-ठीक कारणहरूको ठेगान लगाउनु आवश्यक छ।

तर्सथ, हाम्रो पार्टीभित्रका रोगहरू ठेगान लाग्नु आज आवश्यक हुन गएको छ। पार्टीहरु देशको सामाजिक, राजनीतिक र आर्थिक अवस्थाका प्रतिबिम्ब मात्र हुन्छन्। हाम्रो पार्टी पनि त्यस्तै नै हो। नेपाली काङ्ग्रेस नेपाली जनताको वास्तबिक प्रतिनिधि हो भने यो निरोगी र स्वस्थ रहेमा हाम्रो देशको एक-एक रोग र व्याधि आफैँ क्रमशः हट्दैजानेछन्। र, यो देश कालान्तरमा विश्वका अरू देश सरह व्यवस्थित र उन्नतशील भएर जानेछ।

तपाईँ साथीहरूले प्रारम्भदेखि नै मप्रति ठूलो विश्वास र प्रेम देखाउनु भएको छ। मैले पनि आफूलाई यसको उपयुक्त बनाउने सकेसम्म प्रयत्न बराबर गरेको छु। तर, मलाई आफ्नो काममा नै न सन्तोष छ, न त तपाईँ साथीहरूको कामबाट नै सन्तोष छ। यसो नभएको भए यस्तो किसिमको पत्र लेख्ने आवश्यक नै पर्ने थिएन। त्यस हुनाले तपाईँहरूको सोही मैत्री र सद्भावका कारणका आधारमा म यो स्पष्ट कुरा लेख्दैछु। र, मलाई आशा छ, यसमाथि तपाईँहरूले अवश्य पनि गम्भीर विचारका साथ मनन गर्नु हुनेछ।

नेपाली काङ्ग्रेसमाथिको ऐतिहासिक उत्तरदायित्वको कुरा म पार्टीका साथीहरूले जहाँसुकै गरेको सुन्दछु। यो ऐतिहासिक उत्तरदायित्व के हो ? हामीले के गर्नुछ ? हामी सबैलाई यसको स्पष्ट वोध नभए जस्तो छ। यसबारे मैले केही विचार गरेँ। मलाई लाग्दछ, नेपालमा क्रान्तिको सफल नेतृत्व गरेर सफलताका साथ कठिन ज्वालामुखीको दुर्गम पहाड चढेर त्यसको अखण्ड ज्वालामा हाम्फालेर पनि अक्षत र सफल भएर निस्केका नेपाली काङ्ग्रेसका क्रान्तिकारी साथीहरू अझै त्यही बितेका सपनाका कथाहरूमा अल्झेर बसिरहेका छन्। अतीत सबैका लागि सुखद र प्यारो हुन्छ। झन् बितेका दिन इतिहासका सुनौला पृष्ठ हुन गएका त्यस व्यक्ति वा संस्थाको के कुरा। तर,यसैले हामीमा आफ्नो साध्य र साधनप्रति नै भ्रम पारेको जस्तो छ। क्रान्ति प्रजातन्त्र प्राप्तिको एउटा साधन मात्र थियो र साध्य त प्रजातन्त्र थियो। साधनको उपलब्धिको उमङ्गमा हामीले यस महत्वपूर्ण कुरालाई बिस्यौर् र अझै त्यही गल्ती गर्दैछौँ। यसैले गर्दा हाम्रो देश प्रजातन्त्रको मार्गमा चाहिने जति अगाडि बढ्न सकेन। वास्तबिक भन्ने हो भने, क्रान्तिजन्य प्रजातन्त्रका प्राप्तिहरू दिनदिनै घट्दै गए। यसले गर्दा क्रान्तिको महत्व पनि कम हुँदै गयो। यस कुरालाई आज हामीले राम्ररी बुझनु परेको छ।   समयका साथ आज हाम्रो पार्टी भित्र अनेक खराबी आएका छन्। तिनीहरूमध्ये केही प्रमुख खराबीहरूबारे म यहाँ तपाईँहरूलाई आफ्नो मनमा लागेको कुरा भन्न चाहन्छु। र्सवप्रथम क्रान्तिको सफलताले हामी सबैमा आवश्यकताभन्दा बढी एक किसिमको आत्मविश्वासको सिर्जना गर्‍यो। अनवरत कार्यद्वारा यसको पुस्ट्याई भएको भए सम्भव थियो, यसबाट त्यति नोक्सान हुने थिएन। तर अनेक कारणले त्यसो हुन सकेन। फलस्वरुप आजको हाम्रो निर्रथक आत्मविश्वास हाम्रो बाटोको तगारो हुनगएको छ। यसलाई हामीले हटाउनु परेको छ।   हाम्रो दोस्रो अवगुण के हो भने हामी प्रत्येक प्रश्नमाथि आफ्नो व्यक्तिगत दृष्टिकाणले विचार गर्दछौँ। हामी आफ्ना चाहना  र बानीअनुसार राष्ट्रिय वा पार्टी का समस्याहरूको हल खोज्दछौँ। तर्सथ, हाम्रा धेरैजसो निर्णयहरु आफ्ना व्यक्तिगत चाहना वा रूचि वा अरूचिका छाया मात्र हुन जान्छन्। यसलाई हामीले हटाउनु परेको छ। हाम्रो तेस्रो खराबी के हो भने हामीमा आफ्नो जिम्मेवारीप्रतिको उत्तरदायित्ववोध कम छ। यद्यपि, जिम्मेवारी उठाउने बारेको हाम्रो चाख भने कम छैन। यी कारणहरूले गर्दा हामी जनतामा बढ्ता भिज्दैनौँ। र, जनता र हाम्रावीचको सीमा दिन प्रतिदिन बढ्दै गएको छ। यो हाम्रो चौथो दुर्गुर्ण हो। हाम्रा साथीहरूको पाँचौँ खामी के छ भने हामी आफूलाई अर्कै तहको र पार्टी का साधारण र सोझा कार्यकर्ताहरूलाई अर्कै तहको भन्ठान्छौँ। जनता र पार्टीकै कार्यकर्ताहरूवीचको यस किसिमको अन्तर पनि आज देखिन थालेको छ। हाम्रो छैठौँ खराबी भनेको साथीहरूमा अध्ययनको ठूलो कमि हुनु हो। हामीले इतिहासका बितेका घटनाहरूका प्रकाशमा वर्तमान राजनीतिको बाटो पनि पहिल्याउनु पर्दछ। हामी त्यसो गर्दैनौँ। उदाहरणका लागि पार्टीको घोषणापत्रसम्मको उपयुक्त ज्ञान नभएका धेरै साथीहरूलाई मैले देखेको छु। यसलाई पनि हामीले हटाउनु परेको छ।   अब म तपाईँहरूलाई मैले देखेको पार्टीको सातौँ र अन्तिम खराबी लेख्छु। साथीहरूमा उत्कर्षर सङ्कट, दुवै कालमा नैतिकताको अभाव भयो भने त्यसको ह्रास निश्चित छ। राजनीति र नैतिकता दुइ भिन्न तत्व हुन् र सफल राजनीतिका लागि नैतिकताको आश्रय लिनु आवश्यक छैन भन्ने एकथरि विचार तपाईँहरूले पनि अवश्य नै सुन्नुभएको होला। यस विचारबाट अलि बढ्ता प्रभावित भएका कसै-कसैको भनाइ त के पनि छ भने सफल राजनीतिका लागि नैतिकता वाधक मात्र हुन्छ। एउटा अर्का थरिको भनाइ के छ भने नैतिकता विनाको राजनीति र्सवथा पापाचार मात्र हो। एउटा विचारमा नैतिकताको अभावलाई नै राजनीतिक सफलताको पूँजी भनिएको छ। त्यहाँ यसमाथि आवश्यकताभन्दा ज्यादै बढी ध्यान दिइएको छ। राजनीति भनेको मोक्षको मार्ग होइन। पार्टी मुक्षुहरूको दलजस्तो निस्पृह र निर्विकल्प हुन सकेन भनेर कसैले गुनासो गर्दछ भने त्यो उसको मुर्खता हो । मेरो भनाइको तार्त्पर्य के हो भने माथिका नैतिकताका बारेका दुबै दृष्टिकोण अतिवादका उदाहरण मात्र छन्। राजनीति र नैतिकताको एउटा उपयुक्त समन्वय खोज्ने अवसर आज नेपाली राजनीतिमा आइसकेको छ। म चाहन्छु, देशको राजनीतिमा अग्रणी, हाम्रो पार्टीलेनै यसबारे पनि एउटा नयाँ बाटो र र्सवथा अभिनव प्रयोग प्रारम्भ गर्नुपर्छ। र, कसले भन्न सक्छ, यसको प्रभाव कालान्तरमा हाम्रो देशको सीमा नाघेर बाहिर फैलने छैन ?   साधारण जीवनमा नैतिकताको स्थान भएजस्तै राजनीति पनि जीवनकै एउटा भाग भएको हुनाले नैतिकताविनाको राजनीति निर्रथक र अलिनो हुन्छ। र, त्यस हुनाले अग्राहृय हुन्छ। हामीले साथीहरूवीच नै असत्यको प्रचार गर्‍यौँ, गैर-इमान्दार भएर काम गर्‍यौँ र आपसमा अविश्वास गर्‍यौँ भने हामी राजनीतिक कार्यकर्ताहरूको सङ्र्घष्ामय शुष्क जीवनको संवल नै के रहन्छ र ? नैतिकताका बारे ठूलो भाषण दिने मेरो इच्छा छैन। मनुष्य आफै एउटा अत्यन्त कमजोर र निरीह प्राणी हो। तर कस्तै सङ्कटका अवसरमा पनि हामीले यी मानवोचित गुणहरूलाई भुलेनौँ भने घोर अन्धकार र निरासाका अवसरमा पनि यसको क्षीण प्रकाशले हामीलाई जीवित र उल्लासमय बनाइराख्ने छ।   माथि नै मैले तपाईँहरूलाई भनेको छु, ममाथिको तपाईँको ठूलो विश्वास, मैत्री र सद्भावनाका भरोसाका कारणले मात्र मैले तपाईँहरूलाई यस्तो किसिमको व्यक्तिगत पत्र लेख्ने धृष्टता गरेको हूँ। यस पत्रको आशय सारा कमजोरीहरूका कारण तपाईँहरू नै हुनुहुन्छ भन्ने होइन। साँच्चै भनौँ भने यी कमजोरीहरूको सबैभन्दा बढी उत्तरदायित्व ममाथि छ। हाम्रो केन्द्रीय कार्यालय कमजोर भएको छ। कुन समयमा कुन काम हुन्छन् भन्ने कसैलाई थाहा छैन। यसको जिम्मेवारी पनि धेरैजसो ममाथि नै जान्छ। यसलाई हामी सबै मिलेर हटाउनु छ। स्थिति अझै नसुध्र्रिने लायक भएको छैन। हामीहरूले अनेक पटक जीवन मरणका सवालमा काँधमा काँध मिलाएर देशका दुश्मनहरूसँग जीवन मरणको युद्ध गर्‍यौँ। भविष्य अत्यन्त अनिश्चित भए पनि त्यस समयको हाम्रो कर्तब्यपरायणता र मैत्री, एकता र उदारताको आज अभाव हुनगएको छ। यसलाई हामीले आज पुनः प्राप्त गर्नु परेको छ। त्यो अझै बढी त्याग र बलिदानले मात्र प्राप्त हुनसक्छ। अनि मात्र देशमा प्रजातन्त्रको विकास हुनेछ र समाजवादको मार्ग प्रशस्त हुनेछ। अनि मात्र हाम्रो ऐतिहासिक उत्तरदायित्व पूरा हुनेछ। (नेपाली काङ्ग्रेसको मुखपत्र ‘नेपाल पुकार’ को २०१५ अङ्कबाट)

Infographics: The state of global youth unemployment

August 13, 2016 00:05 AM ,  Republica