२० फागुन २०६९
महिला सहभागिता नारा मात्रै
महिला सहभागिताको चर्कै नारा दिए पनि एमाओवादीको पार्टी संरचनामा त्यस्तो छैन।
तस्वीर: बिक्रम राई
सामेली राज्य नेपालीको माग बनेको बेला एमाओवादीले समावेशी राज्य, सामाजिक न्याय, समतामूलक समाज र लैङ्गिक समानता जस्ता नाराहरू दिन चुकेन। तर, सत्तामा पुगेपछि उसका धेरैजसो नाराहरू खोक्रा सावित भएका छन्। महिला मुक्तिको नाराले पनि त्यही नियत बेहोरेको छ। द्वन्द्वकालमा माओवादीका कुल १९,६०२ (अनमिनको प्रमाणीकरण) लडाकूमध्ये ३,८४६ (२० प्रतिशत) जना महिला थिए। तिनमा डेपुटी कमाण्डर त के डिभिजन प्रमुख पनि महिला थिएनन्। २०६६ मा कार्य विभाजन गरिएको राजनीतिक फाँटमा १३ राज्य समितिका इन्चार्ज र सह–इन्चार्ज सबै पुरुष थिए। १३ सेक्रेटरीमा भने एक जना महिला थिइन्। २०६९ साउनमा ३३ संगठन र राज्य समिति इन्चार्जहरूको जिम्मेवारी हेरफेर गर्दा एक जना मात्र महिला (हिसिला यमी) परिन्।
महिलालाई शून्य स्थान
२०४७ देखि २०५१ साल (एकता केन्द्र) सम्मको केन्द्रीय समितिमा महिला उपस्थिति शून्य देखिन्छ। २०५१ सालमा माओवादी बनेपछिका केन्द्रीय समितिहरूलाई हेर्दा सबैभन्दा धेरै १२ प्रतिशत महिला प्रतिनिधित्व सातौं महाधिवेशन (हेटौंडा) तयारी समितिमा भयो जुन पार्टीको अस्थायी संरचना मात्र हो। माओवादीको पोलिटव्यूरो (केन्द्रीय समितिभन्दा माथिको निकाय) २०६१ सालसम्म महिलाविहीन रहेकोमा त्यस वर्ष ३१ सदस्यीय पोलिटब्यूरोमा दुई जना महिलाले वैकल्पिक सदस्यको रूपमा ठाउँ पाए। २०६९ असारमा पार्टी विभाजन हुनुअघिको ४५ सदस्यीय पोलिटब्यूरोमा तिनै दुई महिलालाई पूर्ण सदस्य बनाइयो। एमाओवादीको स्थायी समिति, सचिवालय र पदाधिकारी तह अहिलेसम्म महिला शून्य नै छ।
No comments:
Post a Comment