अर्जुनबहादुर अयडी
प्रेस काउन्सिलको पछिल्लो तथ्यांकअनुसार ८९ दैनिक, ४ अर्धसाप्ताहिक, ३८१ साप्ताहिक ४० पाक्षिक पत्रपत्रिकाहरु नेपाल अधिराज्यबाट प्रकाशित भइरहेका छन्। अनलाइन पत्रिका तथा ब्लगहरुको संख्या त कति छ कति, कुनै हिसाबकिताब छैन। जुन कुरा दुई दशकपूर्व नेपाली समाजको कल्पनामै थिएन। २०४६ सालको परिवर्तन पूर्व सीमित लेखक र प्रकाशन गृहहरुले नेपाली लेखनको प्रवृति तथा संस्कृतिलाई जेनतेन घसारेका थिए। त्यसमा पनि पुस्तक लेखन र प्रकाशन भन्नेबित्तिकै नेपालीको क्षमता, दक्षता र पहँुचबाहिरको कार्य भन्ने सम्झने गरिन्थ्यो। नेपाली पुस्तक बजारमा विदेशी लेखक र विदेशी प्रकाशन गृहहरुको एकछत्र राज थियो। नेपाली पाठकका लागि ज्ञान हासिल गर्न मात्र नभई नेपाल तथा विश्वका विविध घटनाक्रमबारे सामान्यभन्दा साामन्य जनकारी प्राप्त गर्नका लागि पनि विदेशी लेखक तथा प्रकाशन गृहप्रति आश्रित हुनुपर्ने बाध्यता थियो। विदेशी लेखक तथा प्रकाशकहरु नेपाली पाठकका लागि एकमात्र ज्ञानका भण्डार तथा सूचनाका स्रोत हुन्थे र मानिन्थे। अपवादबाहेक तत्कालीन नेपाली लेखनको प्रवृति र संस्कृति सीमित दायरामा मात्र केन्द्रित थियो। शासकको गुणगान गाउनु र निरंकुश पञ्चायती शासनको पक्षपोषण गर्नु नै नेपाली लेखनको मूलभूत विशेषता थियो। तत्कालीन समयमा नेपाली लेखन संस्कृतिलाई संकुचित बनाउनुमा लेखक तथा प्रकाशकहरु के कति जिम्मेवार थिए? त्यो त अनुसन्धानकै विषय बन्ला तर तत्कालीन शासन प्रणाली भने प्रमुखरूपमा दोषी थियो भन्ने कुरा २०४६ पश्चात् यस क्षेत्रमा भएको उखरमाउलो वृद्धिबाट प्रष्ट हुन्छ। आजकाल प्रायः हरेक दिनजसो नयाँ र पुराना लेखकहरुद्वारा लेखिएका विभिन्न क्षेत्रका पुस्तकको विमोचन कार्यक्रमबारे पढ्दा र सुन्दा लाग्छ– नेपाली लेखनको प्रवृति र संस्कृतिले फड्को मारिसक्यो। अब नेपाली पाठकले आफ्नो ज्ञान अभिवृद्धि तथा सूचना प्राप्तिका लागि विदेशी लेखक तथा प्रकाशन गृहहरुमा निर्भर हुनुपर्दैन तर यथार्थ भने सोचेजस्तो देखिँदैन। अझै पनि ज्ञान तथा भरपर्दो सूचनाका लागि विदेशी लेखक तथा प्रकाशन गृहमाथि नै भर पर्नुपर्ने नेपाली पाठकको बाध्यता छ। नेपाली पुस्तक बजारको अधिकांश हिस्सा अझै पनि विदेशी लेखक तथा प्रकाशन गृहले नै ओगटेका छन्। हो, पछिल्लो समयमा नेपाली लेखक तथा प्रकाशन गृहहरुको संख्यामा वृद्धि भएको छ। नेपाली लेखन प्रवृतिमा वृद्धि, विकास तथा विविधता पनि आएको छ। केही अपवादबाहेक पछिल्लो समय नेपाली लेखक तथा प्रकाशकद्वारा प्रकाशित पुस्तकहरुको व्यापक उपस्थितिले पनि नेपाली पुस्तकको स्तरीयतामा भने खासै भिन्नता ल्याउन सकेको छैन। नेपाली पाठकलाई अध्ययनमा विविधता एवं मनोरञ्जन प्रदान गर्नु र नेपालबारे केही सूचना प्राप्त गर्न मद्दत गर्नुबाहेक नेपाली पुस्तकले विदेशी लेखक तथा प्रकाशन गृहहरुमाथिको परनिर्भरतामा भने रत्तिभर पनि कम गर्न सकेका देखिँदैन। एकछिनका लागि पछिल्लो समय नेपाली पुस्तकमा आएको खहरेलाई २०४६ पश्चात् अवलम्बन गरिएको खुल्ला राजनीतिक प्रणाली तथा उदारवादी अर्थतन्त्रको एक महत्त्वपूर्ण उपलब्धि मान्न सकिएला तर राष्ट्रले खुल्ला शासन प्रणाली र उदार अर्थतन्त्र अवलम्बन गरेको दुई दशक पार गरिसक्दा पनि नेपाली लेखन संस्कृतिमा गुणात्मक विकास हुन सकिरहेको छैन, आखिर किन? राष्ट्र शक्ति सम्पन्न तथा विकसित बन्नका लागि राष्ट्रको लेखन संस्कृतिमा गुणात्मक परिवर्तन हुनु जरुरी हुन्छ। उच्चस्तरीय लेखनले नै राष्ट्रलाई मार्गर्दशन गर्ने हो। विश्वका शक्ति सम्पन्न तथा विकसित भनिने राष्ट्रहरुको सम्पन्नताको प्रमुख रहस्य पनि ती देशको लेखन संस्कृतिमा आएको गुणात्मक परिवर्तन नै हो। उच्चस्तरीय लेखनका लागि राष्ट्र, लेखक तथा प्रकाशकले आ—आफ्नो जिम्मेवारी निर्वाह गर्न सक्नुपर्छ। लेखनको गुणात्मक परिवर्तनका लागि राष्ट्रले शिक्षाको गुणस्तर तथा अध्ययन/अनुसन्धानमा जोड दिनुपर्छ। त्यसका लागि उपयुक्त नीति तर्जुमा, वातावरण निर्माण तथा आवश्यक लगानी राज्यले गर्नु जरुरी हुन्छ। विकसित तथा सम्पन्न राष्ट्रले आवश्यक जिम्मेवारी पूरा गरिदिनाले यो सम्भव पनि भएको हो। हाम्रो देशमा भने सरकारले शिक्षाको गुणस्तर सुधार तथा अध्ययन/अनुसन्धानको क्षेत्रमा आफ्नो जिम्मेवारी निर्वाह गर्नु त कता हो कता, उल्टै सरकारले शैक्षिक तथा अनुसन्धानको क्षेत्रमा उपयुक्त नीति तर्जुमा नगर्ने शैक्षिक वातावरण भत्काउने तथा लगानी कटौती गर्ने जस्ता नकारात्मक रवैया प्रदर्शन गर्दै जानु दुखद् कुरा हो। सरकारले देखाउँदै आएको यस प्रकारको नकारात्मक रवैयाले नेपाली पुस्तक लेखन संस्कृतिको गुणात्मक विकासमा मात्र हैन, समग्र राष्ट्रको विकासमै अवरोध खडा गरिरहेको छ। परिणामतः वर्तमान नेपाली पुस्तक बजारको अधिकांश हिस्सा नेपाली लेखक तथा प्रकाशन गृहद्वारा प्रकाशित जीवनी, सतही अनुभव र अनुभूति, यात्रा संस्मरण, एनजीओ र आइएनजीओका प्रतिवेदन, पत्रपत्रिकामा छापिएका सतही लेखहरुको संग्रह, पत्रकारहरुका रिपोर्ट संकलन जस्ता किताबले ओगटेका छन्। राष्ट्रको आवश्यकता तथा जल्दाबल्दा विषयवस्तुमा गहन अध्ययन/अनुसन्धान, यथार्थ तथ्य र सूचना, गम्भीर सोच तथा तर्क र सिद्धान्तलाई स्थापित गर्नेखालका नेपाली लेखक तथा प्रकाशन गृहद्वारा प्रकाशित पुस्तकको अझै पनि खडेरी नै देखिन्छ। २०४६ पूर्वको राष्ट्रिय परिस्थति भिन्न थियो। नेपाली पुस्तक लेखनको क्षेत्रमा गुणत्मक विकास नहुनुमा तत्कालीन शासन प्रणाली तथा सरकारलाई प्रमुखरूपमा दोषी करार गर्दै अन्यलाई उन्मुक्ति दिन सकिन्छ तर वर्तमान समयमा भने नेपाली पुस्तक बजारमा नेपाली लेखक तथा प्रकाशन गृहद्वारा प्रकाशित गहन पुस्तकहरुको खडेरी पर्नुमा सरकारलाई मात्र दोष दिएर अन्य पक्षलाई उन्मुक्ति दिन सकिँदैन। त्यसकारण भन्नैपर्छ– दुई दशकको खुला वातावरणमा पनि गहन नेपाली पुस्तकको खडेरी यथावत् रहनु र नेपाली पाठकहरु आफ्नो ज्ञान तथा सूचनाको मृगतृष्णा मेटाउन परनिर्भर नै रहिरहनुमा नेपाली लेखक तथा प्रकाशन गृह पनि उत्तिकै दोषी देखिन्छन्। अपवादबाहेक यथार्थ तथ्यमा आधारित गहन विश्लेषणत्मक तथा विचारप्रधान पुस्तक लेख्ने प्रमुख जिम्मेवारी प्राज्ञहरुको मानिन्छ। विडम्वना नै मान्नुपर्छ, नेपाली प्राज्ञ कहिल्यै प्राज्ञ हुन सकेनन् एकाधबाहेक। प्राज्ञको डंका पिट्दै कोही एनजिओ, आइएनजिओका प्रतिवेदन लेखक, टान्सलेटर तथा सर्भेयर, कोही राजनीतिक दलका कार्यकर्ता, कोही हेल्मेट शिक्षक त कोही दलाली, चाटुकारीलगायत् जे सम्भव छ, त्यसैमा अभ्यस्त भएका छन्। अध्ययन तथा अनुसन्धानका लागि कसैलाई फुर्सद छैन। प्राज्ञको पगरी बचाउनैका लागि होस् या लेखक बन्नैका लागि, योग्यताअनुसार मास्टर्स, एमफिल तथा पिएचडीका थेसिस, एनजिओ, आइएनजीओका प्रतिवेदनलाई पहँुचअनुसार स्वदेशी तथा विदेशी प्रकाशन गृहबाट पुस्तकको आकार दिने र लेखक बन्ने होड चलेको छ। अनि हामीले कसरी उच्चस्तरीय पुस्तक पाउने? अझ ठूलो लेखक बन्न मन लाग्यो भने दुई चार वटा पुराना पत्रपत्रिकामा प्रकाशित वा एनजिओ/आइएनजिओका कार्यक्रममा वाचन गरिएका लेख जम्मा गर्यो अनि पुस्तकका रूपमा छापिदिने नाफाखोर प्रकाशकको जिम्मा लगाइदियो। नेपाली प्राज्ञ लेखक भनिनेहरुको हालत त यस्तो भएपछि अन्य लेखकको के कुरा गर्नु? अनि नेपाली पुस्तक लेखनको गुणत्मक विकास कहाँबाट हुनु, बाजारमा कहाँबाट गहन पुस्तक पाउनु र नेपाली पाठकको परनिर्भता कहिले हट्नु? लेखकहरु जस्तै नेपाली प्रकाशकले नाफाका लागि पुस्तक प्रकाशनको धर्मसमेत निर्वाह गर्न चाहँदैनन्। अनि कसरी यिनीहरुले नेपाली पुस्तक लेखन संस्कृतिको गुणात्मक विकासमा सहयोगी भूमिका निर्वाह गर्छन् भन्ने विश्वास गर्नु?
- बिहीबार १७ असोज, २०७०
- नागरिक दैनिक मा प्रकाशित
- - See more at: http://nagariknews.com/opinion/story/8225#sthash.Iv2oixAx.dpuf
No comments:
Post a Comment