नेपालमा राष्ट्रिय राजतन्त्रको जग
बसाल्ने पृथ्वीनारायण शाह नै नेपाल राज्यका संस्थापक हुन्, जसले मैले अघि भनेझैं
आफ्नो सम्पूर्ण जीवन दिग्विजयको लडाइँ (war of conquest) मा बिताए । राजगद्दीमा
बस्ने सबै शाह राजाहरूमध्ये तिनमा मात्रै सीमित मात्रामा भए पनि शासकको दूरदर्शिता
थियो । त्यसबखतमा ससाना प्रदेशहरू आपसमा लड्ने भएको हुँदा नै पृथ्वीनारायण शाहका
पल्टनहरू काठमाण्डूको गद्दी कब्जा गर्न सफल भएका थिए । पृथ्वीनारायण शाहको यस
सैनिक सफलताको नतिजास्वरूप उनले आफूलाई एउटा ठूलो प्रदेशको शासकको रूपमा पाए ।
उनका यी सफलताहरूले उनलाई स्वभावतः शासन व्यवस्थाको कार्यतिर संलग्न गराए, चाहे यी
सफलताहरू राष्ट्र निर्माणका लागि उनले गरेका हुन् या लडाइँको दौरानमा
जित्दा–जित्दै पाएका हुन् । शासन प्रणालीको काममा आफ्नो दक्षता देखाउनका लागि उनी
धेरै दिन बाँचेनन् । यद्यपि यसतर्फ उनको रुचि थियो भन्ने कुराको संकेत उनका
भनाइहरूबाट पाइन्छ । अर्को दुर्भाग्यको कुरा यो छ कि नेपाल राष्ट्र नवनिर्माण
गरिसकेपछि उनी धेरै दिन बाँच्दा पनि बाँचेनन् । बाँचेका भए शायद उनले आफ्ना अनेक
कार्य र राजनीतिक दूरदर्शिताले आफ्नो पराजित शत्रुको मन जित्न सफल हुन्थे होलान्,
जससँगको उनले गरेको बर्बरतापूर्ण व्यवहारलाई १२औं शदीमा हिन्दुस्तानमा भएको
रक्तपातसँग तुलना गर्न सकिन्छ ।
मेक्यावेलीको राज्यशास्त्रले
राज्यशास्त्रले अनैतिकतालाई राजनीतिको मान्यता प्रदान गर्छ । त्यस शास्त्रबाट
ओतप्रेत भएका इतिहासकारहरूलाई वर्तमान नेपालको भौगोलिक एकीकरण नै यति यथेष्ट हुन्छ
कि उनीहरू पृथ्वीनारायण शाहको प्रशंसामा आत्मविभोर हुनपुग्लान् र अरु कुराको
लेखाजोखा गर्ने प्रयोजन उनीहरूले देख्नेछैनन् । त्यस्ता इतिहासकारहरूका लागि
पृथ्वीनारायण शाहले विजित व्यक्तिहरूउपर गरेका अत्याचार र प्रतिशोधका कार्यहरूको चर्चा
अनावश्यक भावुकताको अभिव्यक्ति लाग्ला । त्यस्ता व्यक्तिहरूका लागि विजयभन्दा ठूलो
जय अर्को छैन । तर पृथ्वीनारायण शाहले हारेका ती बहादुर व्यक्तिहरूउपर गरेको क्रुर
प्रतिशोधको कार्यको औचित्यलाई राष्ट्रिय इतिहासकारको चेष्टापूर्ण तर्कले प्रभाव
पार्नसक्दैन । उनका त्रास फैलाउने खालका क्रूर एवं प्रतिशोधका कार्यहरू त्यस्तो
व्यक्तिको क्रोधान्ध कार्य थिए, जो विजय प्राप्त नगरुञ्जेल भने छलकपटको सहारा
लिन्थे तर विजय भइसकेपछि आतंकको ताण्डव रचाउँथे । म यस तर्कबाट कुनै अवस्थामा पनि
प्रभावित हुनसक्दिन कि आतंकको साम्राज्य कायम गर्नु आवश्यक थियो, राजनीतिक
दृष्टिबाट कीर्तिपुरका नागरिकहरूको नाक काट्नु अनिवार्य थियो, व्यक्तिगत
प्रतिशोधको खाँचो परेको थियो– देशको भौगोलिक एकता स्थापित गर्न । राष्ट्रिय एकताको
आदर्श प्राप्तिमा यस्ता क्रूर र आतंकपूर्ण कार्यहरू बाधक हुन्थे, यदि त्यो पृथ्वीनारायण
शाहको महान उद्देश्य थियो भने पनि ।
पृथ्वीनारायण शाहको क्रूर स्वभाव तथा परास्त भएका शत्रुहरूप्रति उनको प्रतिशोधको व्यवहारले गर्दा उनले नेपाली जनताको एउटा ठूलो एवं प्रभावशाली समुदायलाई आफूबाट विमुख पारे । र, तिनीहरूमा पछिसम्म पनि शाह शासनप्रति अनुकूल भाव आउनसकेन । विभिन्न समुदाय, जाति, वर्गहरूको एकीकरण, तिनीहरूका बीच भावनात्मक एकताको स्थापना दूरदर्शी राजनीतिज्ञता, शासनाधिकारको विवेकपूर्ण प्रयोग तथा शासकको तर्फबाट गरिने सहिष्णुताको व्यवहारले मात्र सम्भव हुन्छ, न कि शासकबाट हतियारको बलजफ्ती प्रयोगले ।
पृथ्वीनारायण शाहको क्रूर स्वभाव तथा परास्त भएका शत्रुहरूप्रति उनको प्रतिशोधको व्यवहारले गर्दा उनले नेपाली जनताको एउटा ठूलो एवं प्रभावशाली समुदायलाई आफूबाट विमुख पारे । र, तिनीहरूमा पछिसम्म पनि शाह शासनप्रति अनुकूल भाव आउनसकेन । विभिन्न समुदाय, जाति, वर्गहरूको एकीकरण, तिनीहरूका बीच भावनात्मक एकताको स्थापना दूरदर्शी राजनीतिज्ञता, शासनाधिकारको विवेकपूर्ण प्रयोग तथा शासकको तर्फबाट गरिने सहिष्णुताको व्यवहारले मात्र सम्भव हुन्छ, न कि शासकबाट हतियारको बलजफ्ती प्रयोगले ।
राष्ट्रिय जीवनको यस मौलिक तथ्यको
मार्मिक अनुभव मलाई त्यस समय भयो, जब मलाई काठमाण्डूका कतिपय चेतनशील
व्यक्तिहरूलाई सम्झाउन साह्रै गाह्रो परेको थियो । राजतन्त्रका सम्बन्धमा नेपाली
कांग्रेसको अनुकूल धारणा राजाको राजनीतिक कूटचाल होइन भनेर बुझाउन निकै कठिन भएको
थियो । यथार्थमा राजाप्रति उनीहरूमा घोर विरोधभाव थियो । यो घटना सन् १९४८ को हो,
जब म राणाहरूविरुद्ध थालिने प्रजातान्त्रिक लडाइँको सिलसिलामा कतिपय व्यक्तिहरूको
सहयोग प्राप्त गर्न गुप्तरूपबाट काठमाण्डू गएको थिएँ । राणाहरूप्रति घोर घृणाको
भावना सर्वव्याप्त थियो, तिनीहरूलाई स्पष्ट रूपले जनता घृृणा गर्थे । तर शाह
शासकहरूका लागि पनि आनन्दकारी थिएन, त्यहाँ जनतामा एक प्रकारको प्रच्छन्न विरोध
भावना थियो । साँच्चै भन्ने हो भने नेपाली समाजमा विभिन्न जाति तथा समुदायका बीच
एकताको भावनाको सिर्जना वास्तवमा २००७ सालको क्रान्तिकारी संघर्षले गरायो, जुन
संघर्ष एउटा ठूलो राष्ट्रिय विद्रोह थियो ।
पृथ्वीनारायण शाहपछि उनका छोरा गद्दीमा
बसे तर उनी धेरै दिन बाँचेनन् । तसर्थ इतिहासले सजिलैसँग उनलाई बिर्सिदिएको छ ।
उनका नाबालक छोरा, पृथ्वीनारायाण शाहका नाति रणबहादुर शाह सन् १७७८ मा गद्दीमा बसे
। उनको अल्पावस्थामा राज्यसम्बन्धी सारा काम उनका काकाले गरे, जसलाई राजमातासँग
देशको त्यस प्रारम्भिक निर्माण अवस्थामा राज्य सञ्चालनका लागि संघर्ष गरिरहनुप¥यो । नेपालको
इतिहासमा यो एउटा महत्वपूर्ण संकेत हो कि राजाको नाबालिग अवस्थामा नेपाली रणकौशल र
राज्य सञ्चालन दक्षता प्रदर्शित भयो, जब राजाको ठाउँमा अरुहरूले यसको जिम्मा लिएका
थिए ।
रणबहादुर शाह वयस्क हुनेबित्तिकै पहिलो
काम जो उनले गरे, त्यो थियो, आफ्नो काकालाई अपयश लगाएर थुनामा राख्नु, जो नेपालका
एउटा ठूला निर्माता थिए । यो कार्य शाह शासकको चरित्रअनुरूप थियो ः आफूभन्दा बढी
योग्यताद्वारा देश सेवा गर्नेहरूलाई नष्ट गर्नु । रणबहादुर शाहको यस प्रथम
कार्यपछि नेपालको भौगोलिक विस्तार हठात् अवरुद्ध भयो । भौगोलिक एकताको त्यो बृहत्
प्रयत्न र प्रगति एकैचोटि थामियो, जो एउटा ऐतिहासिक प्रस्फुटन थियो । यदि रणबहादुरको
अनाडी हस्तक्षेपद्वारा सफलतापूर्वक चलिरहेको नेपाली विजयाभियान थामिन नगएको भए
नेपालको इतिहासको प्रगति कस्तो र कुन दिशापट्टि हुने थियो भनी अब आएर यसको
लेखाजोखा गरिराख्नु निरर्थक छ ।
यदि क्षेत्रीय विजयको आधारमा
पृथ्वीनारायणलाई राष्ट्र निर्माताको संज्ञा प्रदान गर्न सकिन्छ भने त्यही आधारमा
रणबहादुर शाहलाई यस कुराको दोष दिन सकिन्छ कि पहाडी राज्यहरूको एकीकरणको
प्रक्रियामा उनले बाधा पु¥याए । तर मेरो तात्पर्य यहाँ भिन्दै भएकोले र राष्ट्रिय एकता क्षेत्रीय
विजयमा निर्भर गर्दैन भन्ने विश्वास भएकोले म रणबहादुरलाई त्यस कारणले दोष दिन
चाहन्नँ ।
रणबहादुरमा शाह शासकका प्रायःजम्मै
चारित्रिक विशेषता देखिन्छन्, साथै आवेगी र चालबाज, अस्थिर तर पालैसित लेखाजोखा
गर्नसक्ने, काम र क्रोधमा वशीभूत । उनलाई शरीर सुखको कहिले नमेटिने भोक थियो ।
उनले आफ्ना वासनात्मक अभिरुचिलाई शासकको कर्तव्यभन्दा माथि राखे । शिवरात्रीको
अवसरमा तीर्थको निम्ति आएकी एउटी विधवा ब्राम्हणीसँग उनले विवाह गरे । जनतालाई
सबैभन्दा रिस उठेको उनको लापरवाही भावनाले थियो । उनको यस कार्यले दुईवटा सामाजिक
र धार्मिक मर्यादाको उल्लघंन भयो भनी देखाउँदा उनले रत्तिभर पर्बाह गरेनन्- एउटा
हिन्दू धर्मले विशेष निषेध गरेको ब्राम्हणीसँगको विवाह र अर्को समाजले स्वीकार
नगरेको पात्र विधवासँगको विवाह ।
शाहवंशका स्तुतिपाठक इतिहासकारहरूको
आँखामा यो कार्य एक सय पचास वर्षपछि न्यायसंगत सिद्ध हुने भविष्यवाणीको संकेत थियो
होला, तर त्यस समयका मानिस आधुनिक भइसकेका थिएनन् । उनीहरूले यसलाई मन पराएनन् ।
झन् रिस उठ्ने कारण त राजाले उनीहरूको भावनामा चोट पुगेकोमा लेशमात्र पनि पर्बाह
नगरेकोले थियो । चलिआएको प्रथा र जनइच्छाविरुद्ध ब्राम्हणीबाट उत्पन्न पुत्रलाई
उनले युवराज अभिषेक गर्दा जनताको भावना झन् अपमानित भयो । पछि उनका उत्तराधिकारी
हुने गीर्वाणुयुद्ध यिनै ब्राम्हणीका पुत्र थिए, जुन हिन्दू विधिअनुसार अबैध
विवाहको फल थियो । तसर्थ पछिका शाह शासकहरूको शरीरमा ब्राम्हण–रक्तको पनि मिश्रण
देखापर्दछ ।
No comments:
Post a Comment