गोरखा राज्यको विस्तार राष्ट्रिय
एकताको अभियान थिएन, न त्यस समयका शासकहरू नेपाली राष्ट्रिय भावनाले प्रेरित नै
थिए, न त गोरखा राज्य विस्तारको यन्त्र, गोरखा पल्टनका सिपाही या अफिसरहरू नै
राष्ट्रवादी थिए ।
राष्ट्रियताको इतिहास
राष्ट्रियतालाई अध्ययन गर्दा नेपालको
इतिहासमाथि सानो दृष्टिपात गर्नु आवश्यक छ । इतिहासले यससम्बन्धमा के भन्छ ?
वर्तमान नेपालको गठन गोरखाको एउटा राजा पृथ्वीनारायण शाहको विजय–अभियानको सफल
परिणाम हो । १८औं शदीमा हिन्दुस्तानका भूभागमा अनेकौं राजा–महाराजा जागीरदार तथा
साहसी सरदारहरू मुगल साम्राज्यको अन्त्यपछि उत्पन्न अशान्ति र अस्थिरताको स्थितिको
लाभ उठाउँदै आफ्नो आफ्नो क्षेत्रको विस्तार र नयाँ नयाँ राज्यहरूको गठनमा तँछाड कि
मछाड भन्दै विजयको होडमा लागेका थिए । त्यस्तै एउटा राजा पृथ्वीनारायण शाह हुन् ।
आफ्ना छिमेकका राजा रजवाडाहरूभन्दा उनी बढ्ता साहसी तथा उनका सेना सञ्चालकहरू
शत्रुपक्षभन्दा अधिक दक्ष र रणकौशलयुक्त थिए । पृथ्वीनारायण शाह तथा उनका
तुरन्तैका उत्तराधिकारीको उद्देश्य गोरखा राज्यको विस्तारभन्दा बढी अरु केही थिएन
। त्यो राष्ट्रिय एकताको अभियान थियो भनेर त्यसलाई एउटा ऐतिहासिक महत्व दिन खोज्नु
गलत हुनेछ । कमसेकम त्यस समयमा नेपाली राष्ट्रियता भन्ने भावना या कल्पनासम्म पनि
थिएन । त्यो त पछि उदय भएको एउटा ऐतिहासिक तत्व हो ।
ब्रिटिस साम्राज्यको जग पनि त्यस समयमै
बस्न थालेको थियो । हिन्दुस्तानी उपमहाद्विपको तत्कालीन राजनीतिक स्थितिमा राजा
रजवाडाहरूका बीच राज्य विस्तारको होड चलिरहेको थियो । त्यही होडको फाइदा उठाएर
अंग्रेजहरू ब्रिटिस साम्राज्यको स्थापना गर्न सफल भए । ब्रिटिस साम्राज्यको
स्थापनाको प्रक्रियामा अंग्रेजहरूले आफ्नो बृहत्तर स्वार्थको हितलाई ध्यानमा राखेर
हिन्दुस्तानका अधिकांश आर्थिक दृष्टिले लोभनीय भागलाई त आफ्नो सोझो कब्जामा गरे,
बाँकी रहेको भागमा स्थानीय शासकहरूसँग विभिन्न प्रकारको सन्धि गरे । नेपालसँग पनि
सन् १८१६ मा सुगौलीको सन्धि भएको थियो । ती सन्धिहरू यस अर्थमा पनि असमान थिए कि
ती सन्धिद्वारा देशी शासकहरूलाई धेरथोर अधिकार प्राप्त थिए अनि तद्नुरूप उनीहरूको
सम्मान र प्रशस्ति र तोपको सलामीको संख्या निर्धारित गरिएको थियो । ब्रिटिसहरूले
यस श्रेणीबद्ध ढंगले भारतीय भूगोलमा परेका देशी राज्यहरूसँग एकएक गरेर युद्ध गर्दै
भिन्न भिन्न प्रकारको सम्बन्धको एउटा जाल बुनेर राखेका थिए । त्यस व्यवस्थामा
उनीहरूले नेपाललाई सबभन्दा ठूलो र सम्मानित स्थान दिएका थिए अनि क्रमशः निजाम,
कश्मीर, बडौदा आदिको स्थान आउँथ्यो । सुगौली सन्धिले गोरखा राज्य विस्तारको अभियान
समाप्त पार्योन ।
गोरखा राज्यको विस्तार राष्ट्रिय
एकताको अभियान थिएन, न त्यस समयका शासकहरू नेपाली राष्ट्रिय भावनाले प्रेरित नै
थिए, न त गोरखा राज्य विस्तारको यन्त्र, गोरखा पल्टनका सिपाही या अफिसरहरू नै
राष्ट्रवादी थिए । गोरखाली राजाहरूले विजय अभियान प्रारम्भ गरेका थिए र तिनीहरूको
चरित्र विजेताको थियो, राष्ट्रिय नेताको होइन, जसले गर्दा विजित देशहरूका राजा र
प्रजाहरूसँग कोमल व्यवहार गरिएन । काठमाण्डूका नेवार प्रजाहरूलाई अद्यावधि त्यसको
गुनासो छ ।
सुगौली सन्धिले नेपाल देशको भूगोल
निर्धारित गर्योध, राष्ट्रको निर्माण त्यसले गरेन । हो, त्यस दिनदेखि भविष्यको
बृहत्तर नेपाली समाजको एउटा आफ्नो निश्चित थलो भयो । एउटा देशको गठन भयो, यस
निर्धारित र निश्चित भूभागमा बस्ने यावत् जातिहरूको, विभिन्न धर्मावलम्बीहरूको,
अनेक भाषाभाषीहरूको, एउटा देश नेपालको उदय भयो । गोरखा शासक तथा तिनका
अनुयायीहरूको विजय अभियानको परिणामस्वरूप र साथै ब्रिटिस विदेशी विजेताहरूको
त्यस्तै अभियानसँग जुध्न पुगेर बन्न गएको नेपाल देशको इतिहास सन् १८१६ को सुगौली
सन्धिबाट प्रारम्भ हुन्छ ।
त्यसपछि राष्ट्रियताको उदयका लागि
सामग्री तैयार भयो- १. एउटै राजाको मातहत देशभरि एक किसिमको शासन व्यवस्था कायम
भयो । २. देशभर व्याप्त शासन व्यवस्थाको सञ्चालनको भाषा माध्यम नेपाली भाषा भयो ।
प्रशासकीय एकताको सन्दर्भमै नेपाली भाषाको उदयको इतिहासको अध्ययन हुनसक्ने हुनाले
राष्ट्रियताको उदयका लागि तैयार भएका प्रारम्भिक सामग्रीहरूको चर्चा गर्दा
प्रशासकीय एकताको अन्तर्गतमै नेपाली भाषाको व्यापक प्रयोगको चर्चा गर्न सकिन्छ ।
र, त्यसरी दुई प्रकारका सामग्रीहरूको चर्चा गर्नु सट्टा एउटा मूल सामग्रीको चर्चा
गरे पुग्छ । अर्थात् सन् १८१६ मा नेपाली राष्ट्रियताको उदयका लागि गोरखा राजाहरूको
विजय अभियानको एउटा अप्रत्याशित सामग्री फेला पर्योग ।
कुनै विजेताले पनि देशहरूको विजय
गरिसकेपछि आफ्नो विजेताको लक्षण र गुणलाई नमासेर पनि विजित देशहरू (भूभागहरू) उपर
आफ्नो प्रशासनयन्त्र कायम गर्नुपर्छ । शाह शासकहरूले त्यही काम गरे । तिनीहरूले
विजित नेपाली भूभागमा आफ्नो प्रशासन कायम गरे तर विजेताको आफ्नो लक्षण र गुण
दोषलाई कायम नै राखे । २ सय वर्षपछि पनि, आजसम्म पनि नेपालका राजाले विजेताको
आफ्नो स्वरूप छाड्न सकेका छैनन् र जनता पक्षकाले प्रजाका प्रतिनिधिहरू एउटै थलोमा
उभिनुपर्छ भन्ने कुरा गर्दा उनीहरूले राजाको दमनको सिकार हुनुपर्छ । कतिपय
दरबारियाहरू जनतालाई दमन गर्ने अभियानमा पल्टनको प्रयोगलाई राजाको साहसी कदम र
राजमुकुटलाई दाउमा राखेको कुरा झेंपेर पनि गर्नसक्छन्, मानौं देश नेपालीहरूको नभएर
राजाको पैतृक सम्पत्ति हो, मानौं राजमुकुट राष्ट्रिय प्रतीक नभएर राजाको व्यक्तिगत
शीरशोभा हो, जसलाई बहुमूल्य भएकोले हारजितको दाउमा राख्ने अधिकार उनलाई प्राप्त छ
।
नेपालको राष्ट्रियताको इतिहासमा सन्
१८१६ पछिको काललाई नेपाली भाषाको विकासलाई छाडेर मरुभूमि युग भने पनि हुन्छ, जबकि
शासक वर्गको विजयको बाढी रोकिएपछि उनीहरूको शासन र राजनीति केबल दरबारी
षड्यन्त्रको दोस्रो नाम हुनपुग्छ । गोरखा पल्टन र त्यसका नेतागण, ‘गोरखालीहरूका
विजय अभियानमा अप्रत्याशित रूपले एउटा ठूलो ऐतिहासिक कार्य’ नेपालको वर्तमान
विस्तृति गरेपछि आफ्नो अरु कुनै ऐतिहासिक जिम्मेदारीको अभावमा, दरबारको
षड्यन्त्रको एउटा हथकण्डा वा हतियार बन्नपुगे । राष्ट्रिय भावनाको सिर्जना नभएकोले
तिनीहरू राष्ट्रिय सेनामा परिणत हुनसकेनन् । राज्य विस्तारमा क्षेत्रीय विजयको
मार्ग पनि अवरुद्ध भएपछि गोरखा पल्टन केवल भरौटे पल्टन हुनगयो, दरबारका
षड्यन्त्रकारीहरूको स्वार्थसिद्धिमा प्रयोग होइदिने शक्तिको रूपमा उनीहरू अवतीर्ण
भए । आज पनि नेपालको
पल्टन शाही पल्टनमात्र भएर रहेको छ,
राष्ट्रिय पल्टन हुनपाएको छैन । यसको विवेचना अर्को अवसरमा गर्नेछु ।
यस लेखमा यतिमात्र भन्ने मेरो उद्देश्य
हो कि शासकले र उनका अनुयायीहरूले देशमा राष्ट्रियताको निर्माणका लागि आफ्नो
सक्रियता देखाएनन् । विभिन्न जाति र धर्मावलम्बीहरूको ठूलो नेपाली जमातलाई
राष्ट्रको रूपमा गठन गर्ने प्रयास उनीहरूबाट भएन । प्रशासक जमिनदारी खालको केवल
तिरो उठाउने व्यवस्थामात्र बनेर रह्यो, त्यसमा राष्ट्र निर्माणको भावनाले पटक्कै
ठाउँ पाएन । पल्टन केवल गोरखाली पल्टन बनेर रह्यो, जसको दृष्टिकोण विदेशीसँग
मुकाबिला गर्नु नपरेकोले र जसको भर्तीको आधार सीमित भएकोले राष्ट्रिय हुनसकेन ।
सेना एउटा त्यस्तो तत्व हो, जसको माध्यमद्वारा विभिन्न जाति तथा भाषाभाषीहरूलाई
एउटै संगठनमा आबद्ध गरेर राष्ट्रियताको चेतना दिनसकिन्छ, त्यो भएन । सिविल सर्विस
पनि राष्ट्रिय हुनसकेन, किनभने योग्यताको आधारमा, अरु कुनै निश्चित आधारमा त्यसको
गठन भएन । शासकको खुसीमा सर्विसवालाहरूको योग्यता निर्भर रहने हुनाले तिनीहरूमा
चाकरी मनोवृत्तिले प्रोत्साहन पायो । झन् वार्षिक पजनीको प्रणालीले गर्दा यो
मनोवृत्तिले चरम सीमा प्राप्त गर्यो । तिनीहरू राजाको नोकर भए, न कि राष्ट्रको
सेवक ।
नेपाली राष्ट्रियता
यदि शासकले नेपाली समाज र नेपाल देशको
हितको ध्यान राखेको भए सबभन्दा पहिले उनको प्रयत्न नेपाली राष्ट्रियताको सिर्जना
गर्नपट्टि लाग्ने थियो । नेपालको शासन व्यवस्थाको आधुनिकीकरण र नेपाली जनताको
असहनीय दारिद्र्यको निराकरण जनताको सामूहिक प्रयासको आधारमा गर्नसकिन्थ्यो ।
शासनयन्त्रमा जनताको सक्रिय सहयोग तथा गरिबी मेटाउने प्रयत्नमा, जनताको सामूहिक
राष्ट्रिय अभियान, दुवै साथसाथ हुनसकेका भए नेपाल यति पिछडिएको देश रहने थिएन ।
गरिबी मेटाउनका लागि प्रयुक्त तथा शासनयन्त्रमा सहयोगी भएका जनतामा यत्रो ठूलो
राष्ट्रिय शक्ति आउने थियो कि नेपालको आधुनिकीकरणको बाटो सरल भएर जाने थियो । शाह
हुन् चाहे राणा हुन्, कुनै राजाले पनि यस दिशापट्टि ध्यान दिएनन् । राष्ट्रियता
एउटा ठूलो शक्ति हो, ऊर्जा हो भन्ने कुरोपट्टि उनीहरूको ध्यान गएन । ध्यान गएको भए
पनि राष्ट्रिय शक्तिको उदय आफ्नो निहित स्वार्थका लागि घातक सम्झेर त्यसको विकासको
सारा बाटो थुनेर राखे । हजारौंको संख्यामा नेपाली जनतालाई विदेशी पल्टनमा जागीर
खाएर उदरपूर्ति गर्न कर लाउने तत्वले राष्ट्रियताको ढिँढोरा पिटेको सुहाउँदैन ।
मैले भन्न खोजेको के हो भने सन् १८१६
पछि नेपाल देश बन्यो, नेपाल राष्ट्र बनाउने प्रयत्न भएन, शरीरको ढाँचा खडा भयो,
त्यसमा आत्मा आउन सकेन; फ्रेम बनाइयो तर तस्बीर राखिएन; भाँडो कुँदियो, तर
त्यसभित्र राखिने तत्व राखिएन । उपर्युक्त ऐतिहासिक विश्लेषणको प्रकाशमा यो भन्न
सकिन्छ कि जहिले जहिले पनि नेपालको एकतन्त्री शासन व्यवस्थाविरुद्ध आवाज उठ्यो,
त्यो राष्ट्रियताको आवाज थियो । शासनयन्त्रमा प्रजाको समावेश प्रजातन्त्रको मूलभूत
सिद्धान्त हो र नेपालको राष्ट्रियताको जग पनि यही एउटा मूलभूत सिद्धान्तमा टिक्छ ।
साथै राष्ट्रिय भावनाबाट प्रेरित नेपाली जनताले गरिबीको चुनौतीको सामूहिक रूपबाट
मुकाबिला गर्नसक्छ । प्रजातन्त्र र राष्ट्रियता नेपालको वर्तमान स्थितिमा
पर्यायवाची शब्दजस्तो हुन पुगेका छन् ।
यो लेख ‘राष्ट्रियताः नेपालको
सन्दर्भमा’ नामक लेखको एक अंश हो । यसको शिर्षक नयाँ राखिएको हो । यो लेख तरूण
बुलेटिन नं. २, सन् १९७१ बाट साभार गरिएको हो— सं ।( 11Jan, 2015)
http://esamata.com/np/2015/%E0%A4%97%E0%A5%8B%E0%A4%B0%E0%A4%96%E0%A4%BE-%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A5%8B-%E0%A4%B5%E0%A4%BF%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A4%BE%E0%A4%B0-%E0%A4%B0%E0%A4%BE/
No comments:
Post a Comment