Sunday, 4 January 2015

राजतन्त्र - बीपी कोइराला...2

पवित्र तथा धर्मात्मा ब्राम्हणहरूले देवी–देवतासँग बीच–बचाउ गर्दा गर्दै र विभिन्न मन्दिरमा अनेकौं यज्ञ, होम र भेटी चढाउँदा पनि रणबहादुरकी यी प्रेयसीको माई ९कmबिि उयह०ले गर्दा मृत्यु भएपछि राजाको मानसिक सन्तुलन हरायो । त्यसपछि उनले ब्राम्हणहरूको दुर्गति गर्नुका साथै विभिन्न मन्दिर र प्रतिमाहरूलाई पनि अपवित्र गर्न थाले । अन्त्यमा नेपालमा उनका लागि वातावरण साह्रै डरलाग्दो हुन आउँदा बाध्य भई उनी काशीमा शरण लिन पुगे । एक इतिहासकारको शब्दमा ‘नेपालको इतिहासमा प्रथम पटक जनताले राजाको विरुद्ध शिर उठाए’ र राजालाई गद्दी छाड्न बाध्य गराए । यो प्रथम प्रयास पनि राजतन्त्रको स्थापना हुनासाथ सन् १८०१ मा भयो ।
शाह दरबारमा ‘फरियाको प्रभाव’ (petticoat influence) एउटा अर्को लक्षण हो, जुन नेपालमा राजतन्त्रको प्रादुर्भावका साथै देखापर्दछ । स्वास्नीमानिसको हठले गर्दा हुने नैराश्यपूर्ण अनुभव बहादुर शाहले अघि नै आफ्नी आमासँगको सम्बन्धबाट पाइसकेका थिए । एक इतिहासकारको भनाइअनुसार पछि रानी भएकी विधवा ब्राम्हणीको राजामाथिको भयंकर प्रभाव नै कारण थियो, जनताको राजाविरुद्ध पहिलो विद्रोहको । रणबहादुरको काशीबासपछि उनी र उनका गद्दीमा बसेका छोराभन्दा धेरैजसो उनीसँग काशी धपाइएकी स्वास्नी र काठमाण्डूमा राजमाता भएर बसेकी अर्की स्वास्नीबीचको षड्यन्त्रको चर्चा पाइन्छ । वस्तुतः त्यस कालमा दुईवटा राजदरबार देखापर्दछन् ः एउटा काठमाण्डूमा राजमाता भएकी स्वास्नीको आधिपत्यमा र अर्को काशीमा रणबहादुरकी अर्की स्वास्नीको आधिपत्यमा । रणबहादुरको काठमाण्डू फर्की सत्तामाथि फेरि कब्जा गर्ने तत्परता उनकी काशीकी रानीको दुष्प्रयास झन्डै सफल भएको द्योतक हो । सबैलाई थाहा छ, काठमाण्डूको दरबारको आँखामा रणबहादुर शाहको यस्तो तत्परता एउटा साह्रै नै मन नपर्ने घटना थियो र अन्त्यमा रणबहादुरको मृत्यु उनकै सौतेलो भाइको खुकुरीबाट भयो ।
यस राजहत्यापछि राज्यमा अमन–चयनको वातावरणको सिर्जना भयो । राजा गीर्वाणयुद्ध गद्दीमा बसे र रानी ललिता राजमाता भइन् । तर विशेष शक्तिचाहिँ नेपालका ती व्यस्त दिनका सबैभन्दा ओजस्वी व्यक्तिहरूमध्ये एक भीमसेन थापाको हातमा प¥यो । नाममात्रमा राज्य गरिरहेका राजाकी आमाले बुद्धिमानीपूर्वक राजकाज भीमसेन थापाकै हातमा रहन दिने निर्णय गरेकी हुँदा राज्यमा अमन–चयन सुरक्षित रह्यो ।
गीर्वाणयुद्धको मृत्युपश्चात् उनका दुई वर्षका बालपुत्र राजेन्द्र गद्दीमा आसीन भए । राजदरबारमा अझै पनि स्थापित रहेकी बालराजाकी हजुरआमा र भीमसेन थापाका बीच मतैक्यता कायम नै रह्यो र यसको फलस्वरूप देशले एउटा कुशल प्रधानमन्त्रीको सञ्चालनमा सुस्थापित प्रशासनका जम्मै लाभ उठाउँदै गयो ।
तर विपत्तिका दिन फेरि देखापर्न थाले । र, सधैंजस्तो यसको आरम्भ राजदरबारमा युवा राजा राजेन्द्रका रानीहरूको बीचको आपसी फूटबाट भयो । राजा कहिले एउटी स्वास्नीपट्टि त कहिले अर्कोपट्टि झुक्थे । राजा राजेन्द्र अब आफै मुख्य थिए । सन् १८३२ मा बुद्धिमती राजमाता त्रिपुरासुन्दरीको मृत्यु हुँदा उनका दुईवटी पत्नी थिए । र, राजमाताको मृत्युसँगै राज्यमाथि अहिलेसम्म रहेको संयम हट्यो । त्यसको लगत्तै समयले रानीहरूद्वारा भड्काएर गराइएका रक्तपात, प्रतिहिंसा र दरबारी षड्यन्त्रका घृणित दृश्यहरू प्रस्तुत गर्दछ । राजाचाहिँ सरकार बनाउने, बिगार्ने र फेरि बनाउने शाही खेलमा व्यस्त थिए । तर यस शाहीखेलबाहेक उनको झण्डै पहिलो कार्य भने पनि भीमसेन थापालाई निष्कासित गरी बन्दी तुल्याउनु थियो र दोस्रो कार्य थियो, बन्दीगृहमा निर्मम रूपमा भीमसेन थापाको हत्या गराउनु, जसको जिम्मेवार शायद उनी आफै थिएनन् ।
देशका अनेकौं ठूला सेवकहरूमध्ये एउटा गनिने व्यक्तिप्रतिको यस्तो व्यवहार राजाले आफ्नो सनक र रानीहरूको प्रतिक्रियाबाट बन्ने र बिग्रिने सरकारको कौतुकमा रमिएको बेलामा देखाए । ठूला राजदर्शीमध्ये एउटा राजदर्शीको यस्तो दुःखदायी र कृतघ्न हत्याको घटनाले नेपाली जनमानसमा देशको सेवा गर्नेहरूको नेपालमा जहिले पनि कुभलो हुन्छ भन्ने विषादपूर्ण भावनाको उत्पत्ति गरायो । त्यसैले ‘सतीको श्राप परेको हो’ नेपालमा भन्ने चलन छ ।
राजेन्द्रको शासन आफूलाई सधैं षड्यन्त्र, हत्या र प्रतिहिंसामा लिप्त राख्ने रानीहरूको कहिले नटुङ्गिने झगडाबाहेक केही थिएन । राजामाथि प्रभाव पारेर आफ्ना प्रतिद्वन्दी रानीका समर्थकहरूको गुटको नृशंस हत्या गर्नु र राजामाथि आफ्नो प्रभाव सकिनासाथै अर्की रानीबाट त्यस्तै प्रकारको व्यवहार भोग्नु एउटा साटो फेराफेरको दिनचर्यालाई हामी राजेन्द्रको शासन भन्नसक्छौं । त्यसकालमा राजदरबारका धेरै कुलीन घरानाका परिवारहरूको संहार भयो । प्रतिद्वन्द्वी रानीहरूबाट समय समयमा भइरहने यस्ता रक्तपातबाट केटाकेटीसमेत बाँचेनन् र नेपालको जनजीवनमा नाम चलेका जम्मै व्यक्तिहरूको कोतमा भएको हत्याकाण्डले त्यस प्रतिद्वन्द्विताको पराकाष्ठा देखायो ।
षड्यन्त्र, हत्या र पूर्ण अस्थिर अवस्थाको यसकालमा जङ्गबहादुरको प्रादुर्भाव भयो । उनले षड्यन्त्रमा राजा–रानीहरूभन्दा श्रेष्ठ, चातुरी र कौशल देखाई कोत हत्याकाण्डपछि सैनिक विद्रोहद्वारा सत्ता प्राप्त गरे । यो हत्याकाण्ड स्वयं जङ्गबहादुरले नै गराएका थिए । त्यो कुरा बुझेर कि आफ्ना त्यस गुप्त प्रेमीको हत्याले रानीलाई यस प्रकार क्रोधान्ध पार्नेछ कि उनी स्वयं जङ्गबहादुरको षड्यन्त्रकारी हातमा आइपर्नेछिन् । सन् १८४६ मा जंगबहादुर यस देशका एकमात्र शासक भए । आउँदो सय वर्षभन्दा पनि धेरै कालसम्म राणा परिवारले राजाहरूलाई नाममात्रमा सीमित राखी यस देशमाथि शासन ग
¥यो ।
दयालु इतिहासकारहरूले कृपापूर्वक राजा राजेन्द्रलाई मूढको संज्ञा दिएका छन् । आफूलाई बिल्कुलै अयोग्य र असफल पाउँदा पनि मात्र मूढ भनाइनु एउटा शाही परामाधिकार नै हो । राजाको बुद्धिहीनता, उसको मनोवेगका जम्मै अपराध, उसको चरित्रको अस्थिरता, षड्यन्त्रप्रतिको उसको अभिरुचि, उसको अतिशयता, छोटकरीमा ती सबै दुर्गुणलाई मात्र मूढताको उपनाम दिएर उनलाई दोषमुक्त गरिन्छ, जुन दुर्गुणले एउटा अराजवंशीलाई राज्यमा कुनै पनि कार्यक्रम निमित्त अयोग्य साबित गर्छन् ।
एउटा राजा त मूढ थिए, अरु कस्ता थिए नि ? यसकालका जम्मा पाँच वटा राजा थिए, तीमध्ये एउटालाई संसारले बुद्धिहीन भन्छ, अर्का रणबहादुर जसलाई समय समयमा बौलाहाको संज्ञाबाट सुशोभित गरिन्छ, जुन एउटा राजाको सरासर गैरजिम्मेदारी आचरणको कोमल पर्यायवाची शब्द हो । गीर्वाणयुद्धको नगण्य अस्तित्व थियो र नेपालको इतिहासले प्रताप शाहलाई बिर्सिसकेको छ । यस सूचीमा अब पृथ्वीनारायण शाहमात्रै रहे । उनी धेरै समय जीवित नरहेको हुँदा इतिहासकारहरूले उनको योग्यता वा अयोग्यताको जाँच गर्नसकेनन् ।
वर्तमान लेखको अध्ययन–विषयको यो काल अवश्य पनि नेपालमा राजतन्त्रको बैधता र योग्यताको उज्ज्वल उदाहरण प्रस्तुत गर्ने काल होइन । अयोग्य राजाको यो काल आधुनिक नेपालको एउटा उज्ज्वल काल भन्ने कुरा हामीले बिर्सनुहुँदैन । यो नेपालको लागि ठूलो भाग्यको कुरा थियो कि यस निर्माणात्मक बेलामा यसलाई ठूलो संख्यामा सुयोग्य प्रशासक र रणकौशल व्यक्तिहरूको असीमित बफादारी प्राप्त भयो । उदाहरणका रूपमा बहादुर शाह, पृथ्वीनारायण शाहका जर्नेलहरू, भीमसेन थापा, अमरसिंह, बलभद्रइत्यादि छन् ।
राणाकाल
राणाहरूले नेपालमा आफ्नै प्रकारको अधिकारिक शासन (shogunate) चलाए । यस सय वर्षभन्दा बढीको अवधिमा देशका दुईवटा राजा थिए, एक, राजदरबारमा बन्दीजस्तै पारिएका श्री ५ को संज्ञाधारी राजा र दोस्रो, आफूलाई श्री ३ महाराज भन्ने राणा प्रधानमन्त्री । जंगबहादुरले अन्तिम राजा राजेन्द्रलाई निवार्सित गरी काशी पठाई उनका छोरा सुरेन्द्रलाई राजगद्दीमा बसाए ।
राजा राजेन्द्रलाई निर्वासनमा पठाइएको कालदेखि सन् १९५०–५१ मा भएको जनक्रान्ति, जसले राणा शासनलाई फाली राजालाई उनको गद्दी र मुक्ति दियो, कालसम्म नेपालमा नाममात्रको राजतन्त्र थियो र राजा आफ्नो शक्ति र सक्रिय अधिकारबाट वञ्चित थिए । राणाले चलाएको व्यवस्था संवैधानिक राजतन्त्र थिएन यद्यपि राजालाई राजकाजमा हस्तक्षेप गर्न नपाउने गरी रोक लगाइएको थियो । राणाहरूले आफ्नो परिवारमा मात्र सीमित एउटा समानान्तर राजवंश स्थापना गरे । फलस्वरूप तिनीहरूको शासन पनि सामन्तवादका जम्मै गुणबाट सुसज्जित एउटा निरंकुश राजतन्त्र थियो । त्यतिले नपुगेर राणा प्रधानमन्त्रीले महाराजको उपाधि ग्रहण गरे, जुन सबै हिन्दुले आफ्ना राजाहरूलाई दिने संज्ञा हो ।
राणाकालमा गद्दीमा भएका राजा सुरेन्द्र, पृथ्वीवीर र त्रिभुवनमात्रै हुन् । नाममात्रका राजा भएका हुनाले राजतन्त्रको पक्ष–विपक्षमा हुने बहसमा तिनीहरूलाई साक्षी राखिँदैनथ्यो । इतिहासले यिनीहरूलाई शंकाको लाभ (benefit of doubt) को निर्णय दिएको छ । जहाँसम्म अहिले गद्दीका अधिकारी राजा महेन्द्र र राणाकालका अन्तिम र क्रान्ति उत्तरकालका प्रथम राजा त्रिभुवनको प्रश्न छ, नेपालका समकालीन इतिहासका ज्ञाताहरूले आफै यसको निर्णय गर्नेछन् । आफै पनि नेपालको समकालीन राजनीतिसँग सम्बन्धित भएकोले यस काललाई लेखकले किताबका अरु अध्यायमा विस्तारपूर्वक छलफल गरेको छ । यद्यपि किताबमा गरिएको अध्ययन दुवै राजाको उदाहरणबाट राजतन्त्रलाई न्यायसंगत सिद्ध गर्नसकिने या नसकिने प्रश्नको सन्दर्भमा नभई पूर्व क्रान्तिकालको एउटा सर्वेक्षणको रूपमा मात्र हो ।
इतिहासलाई साक्षी राख्ने व्यक्तिले इतिहासको निर्णयलाई मान्न पनि तयार हुनुपर्दछ । जहाँसम्म राजतन्त्रको पक्षको प्रश्न छ, इतिहास अवश्य पनि यसको विरुद्धमा नै छ । यस तथ्यलाई ध्यानमा राखेर मात्र अनुत्तरदायी एकतन्त्री राजतन्त्रका समर्थकहरूले यसको पक्षमा तर्क दिनुपर्दछ ।
राजतन्त्र बनाम आधुनिकतन्त्र
ऐतिहासिक विवेचनाबाहेक पनि एउटा मौलिक प्रश्न छ, के राजतन्त्र वर्तमान प्रगतिशील सामाजिक व्यवस्थासँग मेल खान्छ, जुन व्यवस्थामा नागरिकहरूका व्यक्तिगत स्वतन्त्रताको रक्षा तथा राष्ट्रका आर्थिक सम्भावनाहरूको विकास साथसाथै चल्छ ? अर्को शब्दमा व्यक्तिगत स्वतन्त्रता र आर्थिक विकासको नयाँ व्यवस्थाको सँघार (प्रवेशद्वार)मा उभिएको नेपालले आधुनिक कालको चुनौती स्वीकार गरी एउटा नयाँ राजनीतिक व्यवस्थाको स्थापना गर्नपट्टि लाग्ने कि परम्परादेखि चलिआएको व्यवस्थालाई कायम राख्दै जस्तो छ त्यस्तै रहन दिने- नेपालले यी दुई विकल्पहरूमध्ये एउटा रोज्नु परेको छ । राष्ट्रको सामुन्ने आइपरेको यो मौलिक प्रश्नको सन्दर्भमा आधुनिक युगको चुनौतीलाई ध्यान राख्दै राजतन्त्रले आफूलाई न्यायसंगत साबित गर्नुपरेको छ । नेपालमा राजतन्त्रको ऐतिहासिक परम्परा छ भनेरमात्र पुग्दैन । यदि यो कुरा माने तापनि इतिहास नेपाली राजाहरूप्रति उदार कृपालु छ, जुन कुरा म मान्न तैयार छैन । राजाहरूले आफ्नो औचित्य तबमात्र प्रमाणित गर्नसक्छन््, जब उनीहरूले वर्तमान युगका चुनौतीको सन्दर्भमा आफ्नो उपयुक्तता स्थापित गर्नसक्नेछन् ।
गतिहीन सामन्ती कृषक समाजमा राजतन्त्रले त्यस्तो राजनीतिक संस्थाको पूर्ति ग¥यो, जसले त्यसबेलाको सामाजिक ढाँचा र निश्छलताको प्रतिबिम्ब झल्काउँथ्यो । समाजको गठन श्रेणीबद्ध आधार (hierarchical basis) मा थियो र त्यसमा व्यक्तिहरूले श्रेणीगत किसिमले आआफ्नो थान्कोमा बस्नुपर्थ्यो । र, प्रत्येक व्यक्ति आफूले जन्म लिएको स्थितिमा बाँच्न बाध्य हुनुपर्थ्यो, स्थिति असल होस् चाहे खराब जस्तोसुकै भए पनि । राजाको छोरो राजा नै र सार्कीको छोरो सार्की नै हुन्थे । त्यस समयको आर्थिक अवस्थाले पनि समाजको गतिहीनतालाई स्पष्ट पाथ्र्यो, कुनै साल राम्रो वर्षा वा कुनै साल सुखाजर्ता ल्याउने सानातिना परिवर्तनबाहेक राष्ट्रिय उत्पादन (जीएनपी) वर्षैपिच्छे एकनासको रहन्थ्यो । उत्पादन विकास भन्ने कुरा त्यस समय निरर्थक थियो ।
इतिहासमा राजतन्त्रको विकासलाई विस्तारसँग छलफल गर्ने यस लेखको उद्देश्य होइन । अहिले विवेचनाका लागि यतिमात्र पर्याप्त छ कि पूर्वकालमा राजतान्त्रिक संस्थाको विकासको लागि जुनसुकै शक्तिशाली ऐतिहासिक कारणहरू भएता पनि अब ती सब कारणहरू समाप्तप्रायः भइसकेका छन् । खेतीले गर्दा एक ठाउँमा ग्राम समुदाय बनाई कुनै बलियो व्यक्तिको नेतृत्वमा बस्नुपर्ने खण्ड पर्दा अवश्य नै राजाको आवश्यकता प¥यो होला, जसले नेतृत्व दिनसक्थ्यो । त्यस्तो कृषि समाजमा राजतन्त्रले कालान्तरमा परम्पराको शक्ति पनि आर्जन ग¥यो । आवश्यकताको कारणले गर्दा र कृषि समाजमा यसको स्थानमा अरु कुनै संस्थाले यसभन्दा बढी प्रयोजन सिद्ध गर्न नसक्ने हुँदा शनैः शनैः यसको विस्तार हुँदैगयो । राजतन्त्रको इतिहासको लामो अवधिसम्म यस संस्थालाई एकचोटि राष्ट्र–राज्य (nation state) को भावनाले बल दियो । राजाहरू राष्ट्र–राज्यका लागि सुलभ प्रतीक भए । यस प्रकारको विकासले परम्पराबाहेक पनि एउटा प्रमाणिकता प्रदान ग¥यो । तर यो राष्ट्र–राज्य अझै पनि कृषक राज्य र सामन्तवादबाट पीडित थियो । राजतन्त्रले तत्कालीन प्रयोजनको पूर्ति गर्नसक्ने हुँदा यस राजनीतिक पद्दतिलाई त्यागेर अर्को पद्दति स्थापित गर्ने कुनै ऐतिहासिक बाध्य कारण थिएन ।
गतिशील समाजले आवश्यकताअनुसार आफूलाई सुहाउँदो राजनीतिक पद्दतिको विकास गर्नुपर्दछ । योग्यता र क्षमताको आधारमा होइन, वंश परम्पराको आधारमा मात्र सत्तामा आसीन भएका व्यक्तिले यस गतिशील समाजको नेतृत्व गर्नसक्दैन । गत शताब्दीमा विश्वका राजतन्त्र एकपछि अर्को गर्दै ढल्दै गएको देखिएको छ ।
यस विवेचनाले यो तथ्यलाई प्रमाणित गरेको छ कि राजतन्त्रमा गतिशील समाजका चुनौतीको मुकाबिला गर्नसक्ने तथा यस्तो समाजलाई चाहिएको नेतृत्व प्रदान गर्नसक्ने गुण बिरलै देखापर्दछ । आधुनिक गतिशील समाजका लागि परम्परागत राजतन्त्र उपयुक्त साधन हुनसक्दैन । जुनसुकै शब्दमा नयाँ नामकरण गरेतापनि प्रगतिशील, गतिशील, औद्योगिक नयाँ समाजको विशिष्टता यो छ कि मानिसले यस्तो समाजमा आफ्नो स्थिति आफ्नै बलबुताबाट प्रमाणित गर्नुपर्दछ, आफ्नै व्यक्तिगत उपयोगिता र क्षमताले, वंश–परम्पराले अथवा विगतमा उसलाई प्राप्त भइरहेको सामाजिक र राजनीतिक मानमर्यादा र प्रतिष्ठाको विशेषाधिकारबाट होइन ।
वर्तमान युगको धारणा र मान्यता त यहाँसम्म छ कि आफू स्वयंले आर्जन नगरेको सम्पत्तिमा मानिसको अधिकार रहनुहुँदैन । यस मान्यताअनुसार पैत्रिक सम्पत्तिउपर लगाइएको तिरो र मृत्युकरआदिको माध्यमले मानिसलाई वञ्चित पार्ने प्रवृत्ति आजकल चलेको छ । वर्तमान मान्यतामा अन्तर्निहित सिद्धान्त यो हो कि आफ्नै उद्यमविना कमाइ नगरेको सम्पत्तिमा व्यक्तिलाई हकदार हुने अधिकार छैन । जन्मले यदि आधुनिक मानिसलाई सामाजिक प्रतिष्ठा दिँदैन र उसले जन्मले पाएको पैत्रिक सम्पत्तिबाट उसलाई वञ्चित गर्नखोजिन्छ भने जन्मिएकै आधारमा मात्र राज्यको सर्वोच्च स्थानमा बस्ने र दावा मानिसले कसरी गर्नसक्छ ? त्यसैले राजतन्त्र आधुनिक प्रवृत्तिको विरुद्धमा छ र यसले आफूलाई संस्थाको रूपमा अपर्याप्त सिद्ध गरेको छ साथै सामाजिक नेतृत्व प्रदान गर्ने तहमा अयोग्य प्रमाणित गरेको छ । अतः गतिशील समाजमा उत्पन्न समस्याहरूअनुरूप चाहिएको नेतृत्व र तद्अनुरूपको गतिशीलताको मागलाई वंशगत राजतन्त्रले पूरा गर्नसक्दैन । राजतन्त्रविरोधी अमेरिकी स्वतन्त्रताको संग्राम र फ्रान्सको राज्यक्रान्तिले विश्वभरि गणतन्त्रवादको बाढी ल्याएका थिए, ती क्रान्ति त्यस्ता नागरिकहरूले फहराएको सैद्धान्तिक झण्डा थियो, जो एउटा नयाँ सामाजिक राजनीतिक जीवनमा प्रवेश गर्न कटिबद्ध थिए र जसको प्रगतिमा बाधा भएर राजतन्त्र उभिरहेको थियो ।
राजतन्त्रले बिदा लिनैपर्थ्यो, यसको विनाश अवश्यंभावी थियो, किनभने त्यो गतिहीन थियो र आधुनिक समाजले प्रकट गर्न खाजेको गतिशीलताअनुरूप थिएन । राजनीतिक पद्धतिको रूपमा यसको उपयोगिता समाप्त भइसकेको थियो । राजतन्त्रविरोधी विचारधाराको र राजतन्त्रको स्थानमा गणतन्त्रात्मक राजनीतिक पद्धतिको उत्तरोत्तर विकासका गहिरा ऐतिहासिक कारणहरू छन् । राजतान्त्रिक संस्थाबाट आफूलाई मुक्त नगरुन्जेल कुनै पनि आधुनिक विकसित समाजको आविर्भाव सम्भव छैन । बुद्धिमानीपूर्वक सत्ता जनतालाई सुम्पेको हुँदा बेलायतमा राजतन्त्र अझै कायम नै छ । राजतन्त्रले यस सम्झौतामा आफ्नो बाह्य आवरणबाहेक सबै कुरो त्याग गर्नुप¥यो । मुखपृष्ठमा राजतन्त्र लेखिएतापनि यसको विषयवस्तु गणतन्त्रात्मक छ । राजतन्त्रात्मक व्यवस्था केही असाधारण संयोग हुन गएमात्र गतिशील औद्योगिक समाजको अनुकूल हुनसक्छ । बेलायतको जस्तो खास प्रकारको संयोग र स्थितिमा बाहेक (र त्यहाँ पनि राजतन्त्रको देखौवा रूपसँग सन्तोष लिइबस्ने राजा भएकोले मात्र) राजतन्त्र प्रगतिशील औद्योगिक समाजका लागि अनुपयुक्त छ भन्ने आधुनिक इतिहासको अनिवार्य निष्कर्ष छ । अपवादको रूपमा बेलायतको संयोग र स्थिति, त्यहाँ राजाको प्रजाको भावनाअनुकूल हुनसक्ने स्वभाव, शासनको मूल शक्तितत्व पार्लियामेन्ट (संसद्)लाई प्राप्त भएको राजतन्त्रको रूप आदि ऐतिहासिक संयोग के नेपालले पनि पाउनसक्ला ? के नेपाल इतिहासको यस निष्कर्षबाट उम्किनसक्छ र ?
राजतन्त्रका समर्थकहरूको समकालीन प्रयास युद्धभूमिबाट सदाका लागि पलायन हुन लागेका सिपाहीहरूको पलायनलाई ढाक्ने उद्देश्यले यसो आक्रमण गरिटोपलेझैं दुर्बल र चित्त बुझाउन नसक्ने खालको छ । महेन्द्रले सैनिक काण्ड रचेपछि उनका सरकार र प्रचारकहरूले ‘देशमा चाहिएको नेतृत्व राजाले दिनसक्छन्, राजा नै स्वाभाविक नेता हुन्, नेपाललाई राजतन्त्रको आवश्यकता छ, राजतन्त्र नै परित्राता हो’ इत्यादि इत्यादि दिशातर्फ शंकालु जनतालाई विश्वास दिलाउन घोक्रो सुकाउने असफल प्रयास गरेको देखिन्छ । मन्त्रीहरू आफ्ना वक्तव्यहरूद्वारा होस्, चाहे देशका सारा प्रचार साधनद्वारा, राजालाई सबैभन्दा महान व्यक्ति, सबैभन्दा श्रेष्ठ शासक, सबैभन्दा बुद्धिमान प्रणेताइत्यादि देखाउने प्रयासमा व्यस्त रहेका छन् । राजतन्त्र स्वाभाविक संस्था हो भने जननेताहरूलाई मुद्दा नै नचलाई अनिश्चितकालसम्म जेलमा राख्न, तिनीहरूका विरुद्ध प्रचण्ड प्रचार गर्न र जनताउपर निरंकुश तानाशाही थोपर्न र राजनीतिक अधिकारबाट जनतालाई वञ्चित पार्न किन आवश्यक प¥यो ? आधुनिक नेतामा हुनुपर्ने जम्मै गुण र अरु अतिरिक्त अनेकौं गुणबाट राजा परिपूर्ण छन् भनी राजतन्त्रवादीहरूले जोर दिनुपर्ने त्यस्तो खाँचो किन प¥यो ? एकोहोरो प्रचारको माध्यमद्वारा ‘राजालाई मान, राजालाई मान’भनी जनतालाई बाध्य किन गराइन्छ ?

राजतन्त्रवादीहरूको यस व्यग्र कारबाहीबाट उनीहरूले भक्तिका साथ आफ्नो सेवा अर्पित गरिआएको यस संस्थाको खोक्रोपन देखिन्छ । नेपालमा पनि राजतन्त्र आज आफ्नो उपयोगिता सिद्धिसकेपछि पनि अडिरहेको छजस्तो लाग्छ । एउटा जीवन्त प्राण भएको संस्थालाई यस प्रकारको नाटकीय प्रामाणिकताको आवश्यकता छैन, जुन संस्थाले झन् परम्पराको अतिरिक्त टेवा पनि पाएको छ । नेपालीहरूले बिर्सन खोजेको सामन्ती नेपाललाई यसको योगदान थियो भन्ने दावालाई स्वीकारे तापनि यो मौलिक प्रश्नउपर गम्भीरतापूर्वक विचार गर्नुपर्छ ।
प्रतिक्रियावादको संरक्षक राजदरबार
राजतन्त्र एउटा राजामात्र होइन, यो त्यस्तो पद्धति हो, जसअन्तर्गत ‘राजदरबार’ भन्ने संज्ञा भएको शक्तिशाली वर्गीय तत्व निहित छ । प्रष्ट अनुहार नभएको यो शक्तिशाली तत्व, जो जनताको आँखाको अगाडि नपरी ठूल्ठूला पर्खालको संरक्षणभित्र गुप्त ढङ्गले आफ्नो काम गर्छ, जसलाई हामी राजदरबार भन्छौं, त्यो रुढिवाद र प्रतिक्रियावादलाई व्यापक रूपमा प्रोत्साहन दिने अदृश्य व्यक्तिहरूका लागि अप्रत्यक्ष आश्रय भएको छ । राजदरबारको यस्तो प्रतिक्रियावादको जेलिने वातावरणबाट मुक्त रहन राजा पनि सक्तैनन्, उनले जतिसुकै प्रबुद्ध शिक्षा मुलुकबाहिर गएर प्राप्त गरेको भएता पनि । राजदरबार प्रतिक्रियावादको एउटा हतियार हो, जहाँ निहित स्वार्थ, सामन्तवाद, रुढिवाद र देशका अन्य प्रतिक्रियावादी तत्वले आश्रय पाउँछ । ‘रहस्यमय राजतन्त्र’को आड लिई यी जम्मै प्रतिक्रियावादीहरूले राजदरबारलाई षड्यन्त्रको अखडा बनाउँछन् । नेपालको समकालीन इतिहास पनि यस प्रकारका घटनाले परिपूर्ण छ ।

यी जम्मै प्रतिक्रयावादीहरू राजाका ‘अज्ञात, अनुचर र दरबारिया’ भन्ने व्यापक नाउँ पाएर व्यक्तिगत जिम्मेवारीबाट मुक्त हुन्छन् र त्यसकारण सजिलैसँग राजनीतिक मारबाट रक्षित रहन्छन् । त्योबाहेक देशका सर्वोच्च अधिकारी अर्थात राजाले नै यिनीहरूलाई आफ्नो शक्तिको संरक्षण प्रदान गर्छन् । राजदरबारको मायावी जाल र रहस्यमय प्रतिक्रियाहरूलाई राजतन्त्रको देखौवा बाह्य रूपले, हीरा–जवाहरातले जडेको मुकुट, झलमलाउँदा पोशाकहरू, सुनको अग्लो सिंहासन, बिगुल–सलामी इत्यादिले ढाकिराखेका हुन्छन् । राजतन्त्रको यो बाह्य आवरणबाट सर्वसाधारण जनतालाई भुलाउने, उनीहरूलाई दङ्ग र आश्चर्यचकित पार्ने प्रयत्न हुन्छ र समय समयमा तिनीहरूका समक्ष आइरहने यसप्रकारका भव्यता र गौरवताका दृश्यहरूले जनताको ध्यान राजदरबारभित्र सधैं चलिरहने षड्यन्त्रबाट अलग पारिन्छ । राजदरबारको नग्नरूप जनतासमक्ष कहिलेकाहींमात्र आउँछ ।
राजा सबैभन्दा माथि हुन्छन्, तसर्थ राजनीति र आलोचनाबाट पनि माथि हुन्छन् भन्ने राजतन्त्रको पुराणलाई जनताको मस्तिष्कमा बडो श्रमपूर्वक बसाइएको हुन्छ । र, त्यही तर्कलाई समातेर प्रतिक्रियावाद र रुढिवादका पक्षमा राजदरबारको मौनताको गुप्त र व्यापक प्रयासलाई देखिसकेका बाहिरिया व्यक्तिहरूको पनि चुप बस्ने सम्झौता या षड्यन्त्र हुन्छ । राजतन्त्रविरोधी यस विवादमा विरोधी पक्षमा उभिएको हुँदा उनीहरूले दरबारमा विद्यमान राजतन्त्र, जुन जनताको कल्पनाको राजतन्त्रभन्दा भिन्न छ, समालोचनात्मक ढङ्गबाट यसको नग्नरूप उपस्थित गर्न खोज्दा उसको या त मुख नै थुनिन्छ या गर्धन नै जान्छ ।
संवैधानिक या एकतन्त्री राजतन्त्रका समर्थकहरू भने ‘राजतन्त्र आलोचनाभन्दा माथि हुनुपर्दछ’ भन्ने तर्कलाई समर्थन गरेर आफूलाई दरबारिया प्रतिक्रियावादीहरूको समर्थक साबित गर्छन् । सामाजिक विकासको च्यापोमा पर्दा प्रतिक्रियावादले शरण पाउँछ । वास्तवमा राजतन्त्र तटस्थ संस्था होइन, यो पक्षपाती संस्था हो, प्रत्यक्षरूपमा यो प्रतिक्रियावादको खुला समर्थक नभए रुढिवादको खुला हिमायती संस्था त अवश्यै पनि हो । राजदरबारको प्रतिक्रियावादी भूमिकातिर विचार नगर्ने हो र सारा ध्यान राजातिर एक व्यक्तिविशेषको रूपमा मात्रै आकर्षित गर्ने हो भने त राजतन्त्रसम्बन्धी छलफल केवल मस्तिष्कको विकारमात्रै हुनजान्छ ।
दुई समानान्तर सरकार
राजतन्त्रले त्यस्तो मानसिक स्थितिलाई प्रोत्साहन दिन्छ, जो मूलतः सामन्ती र अप्रगतिशील हुन्छ । यथार्थमा राजतन्त्रले सामन्ती तथा अविकसित मानसिक विचारधारालाई बल, समर्थन र प्रेरणा दिन्छ । यसले जन्मको दैवी घटनालाई बढ्ता महत्व दिने हुनाले गलत सामाजिक मूल्यको सिर्जना गर्छ । फेरि यो एउटा अति नै महँगो संस्था हो । हाम्रै देशमा पनि राष्ट्रिय आयबाट एउटा ठूलो रकम राजाको हिस्सामा जान्छ । यसबाहेक राजदरबारभित्र रखवाली गर्न बसेका दुई हजार सिपाहीहरूको खर्च पनि जोड्ने हो भने राजालाई गद्दीमा राख्ने खर्च जम्मा मिलाएर देशले सही नसक्नु हुन्छ ।

अन्त्यमा, राजतन्त्रले देशमा अनिवार्य रूपले दुईवटा सरकारको रचना गर्दछ । पाठकले दुईवटा सरकारसँग निर्वाह गर्नुपर्दा हुने जनताको संकटपूर्ण र अप्ठ्यारो अवस्थामाथि विचार गर्नसक्नेछन् । एउटा केन्द्रीय सचिवालय छ, जसको विभिन्न विभाग सरकारका विभिन्न अंगसँग सम्बन्ध छ, जस्तै साधारण प्रशासन, शिक्षा, रक्षा, अर्थ, वैदेशिक मामलाहरू, जसको सञ्चालन मन्त्रीहरूको समूह अर्थात् क्याबिनेटद्वारा हुन्छ र उनीहरूकै अन्तर्गत जिल्लाहरूको प्रशासन हुन्छ । अर्कोचाहिँ गुप्तरूपले राजदरबारभित्र सञ्चालित हुने सरकार हुन्छ । धेरैजसो यी दुवै सरकारले एक–अर्काको विपरीत कार्य गर्छन् र यसरी साधारण प्रशासनको प्रभावशीलता हराउँछ । २००७ सालको क्रान्तिदेखि नै देशको सरकारसँग केही न केही सम्बन्धित भइआएका जनताका प्रतिनिधि वा राजनीतिज्ञहरूसित बीस वर्षको अरुचिकर अनुभव छ । हतोत्साह भई उनीहरूले देखे कि दरबारको समानान्तर सरकारी प्रभुत्वसँग स्पर्धासाथै देशको प्रशासनको केन्द्र भनिने सचिवालयका सरकारी पदहरूमा पनि उनीहरूले परतन्त्र भई बस्नुपर्दथ्यो । आफूबाट कार्यान्वित हुने सरकारी नीति र कार्यक्रमका लागि विभागीय सचिव दुई दिशातिर हेर्न थाल्छन् । सैनिक हेडक्वाटरमाथि पनि दुई प्रकारका अधिकार हुन्छन्, एउटा मन्त्रीको मातहत भएको रक्षा मन्त्रालय र दोस्रो दरबार । आइजीपीका पनि दुईवटा मालिक छन् र देशमा सुरक्षा र कानून बनाइराख्ने बारेमा पनि ती दुवैका विचारमा समानता नभएको उनी देख्छन् । जिल्ला प्रशासनबारे पनि विभिन्न विचार भएको हुँदा जिल्लाधिकारी उत्तिकै क्षुब्ध हुन्छन् । प्रधानमन्त्रीको रूपमा र गृहमन्त्री हुँदा लेखक स्वयंले पनि यसखालको हृदयस्पर्शी अनुभव प्राप्त गरिसकेको छ र त्यसैले यस अंशलाई सहज परिचयका साथ लेख्नसकेको हो । यी यावत् कुरा मेरा अनुभवमा परेका कुरा हुन् ।

No comments:

Post a Comment

Infographics: The state of global youth unemployment

August 13, 2016 00:05 AM ,  Republica